एकैदिन १० कन्टेनर स्याउ अयात

Monday, August 9th, 2021 |

 

रसुवा २५ साउन

रसुवागढी नाकाबाट आइतवार एकैदिन १० कन्टेनर स्याउ नेपाल भित्रिएको छ ।

चीनबाट दैनिक नेपाल आयात हुने सामग्रीमध्ये आइतवार स्याउमात्र भित्रिएको र स्याउ बोकेका मालबाहक सवारी साधन छिटोभन्दा छिटो भन्सार प्रक्रिया पूरा गरी आ–आफ्ना गन्तव्यतर्फ पठाइएको छ ।

आयात भएका स्याउको परिमाण भने १०० टनभन्दा माथि रहेको भन्सार अधिकारीले जनाएका छन् । स्याउ सड्ने गल्ने वस्तुमा पर्ने भएका कारण आयात भएकै दिनमा भन्सार प्रक्रिया पूरा गर्ने गरिएको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिए ।

उनका अनुसार अन्य सामग्री आयात हुँदा प्रतिकन्टेनर रू। ५० देखि ६० लाखसम्म राजस्व असुली हुन्थ्यो भने स्याउबाट भने प्रतिकन्टेनर रू। एक लाखमात्र असुली हुन्छ । रसुवागढी नाकाबाट स्याउ आयातको परिमाण बढ्न थालेपछि व्यापारिक केन्द्रबाट सर्वसुलभ मूल्यमा खरिद गर्न सहज हुने उपभोक्ताले अपेक्षा राखेका छन् ।

रसुवा नाकाबाट राजस्व असुलीमा सुधार

यस्तै रसुवा भन्सार कार्यालयले चीनबाट आयात भएका माल सामग्रीबाट २३ दिनको अवधिमा भन्सार शुल्कबापत रू। ५१ करोड ५३ लाख ३० हजार राजस्व आर्जन गरेको छ । गत आर्थिक वर्ष २०७७र७८ को यसै अवधिको तुलनामा यो अवधिमा ४५ दशमलव ७७ प्रतिशतले राजस्व वृद्धि भएको तथ्यांकले देखाएको छ ।

यही साउन १ गतेदेखि २३ दिनको अवधिमा असुल भएका भन्सार शुल्कबापतको राजस्वमध्ये करीब रू। १५ करोड सवारी साधन आयातबाट प्राप्त भएको प्रमुख भन्सार अधिकृत रेग्मीले बताए । नयाँ आवको शुरुदेखिनै निरन्तररूपले पिकअप एवम् माइक्रोबसजस्ता सवारी साधन आयात बढ्न थालेको छ ।

नेपालमा निर्माणाधीन जलविद्युत्का उपकरण, जुत्ताचप्पल, तयारी पोशाक, लसुन, अदुवा एवम् अक्सिजन उत्पादनका उपकरण तथा सिलिण्डरका साथसाथै मेडिकललगायत विविध सामग्री आयात भइरहेको भन्सार कार्यालयले जानकारी दिएको छ ।

पहिलो कहरको कोभिड–१९ का कारण चिनियाँ सवारी साधनले नै रसुवागढीसम्म माल सामग्री पुर्‍याउन थालेपश्चात् आयात भइरहेका माल सामग्रीको परिमाण भारी मात्राले घटेको छ ।

सीमा क्षेत्रमा आइपर्ने समस्या समाधानका लागि दुई देशका छिमेकी अधिकारीबीच गत वर्ष मतेरीपुलमा सम्पन्न नियमित बैठकबाट दैनिक १५ कन्टेनर सामग्री नेपाल पठाउने सहमति भए पनि कोरोना संक्रमणकै कारण हालसम्म सात कन्टेनर मात्र आयात भइरहेको भन्सार अधिकारीले बताए ।

कोरोना संक्रमणबाट सुरक्षित रहनका लागि सीमा क्षेत्रमा स्वास्थ्यको पूर्ण मापदण्ड अपनाए र क्वारेन्टिनमा बसेका सवारी चालक तथा कामदार मात्र परिचालन गरिएकाले पूर्ववत्रूपमा सामग्री पठाइदिन समकक्षी छिमेकी अधिकारीलाई आग्रह गरे पनि कार्यान्वयन हुन बाँकी रहेको भन्सार कार्यालयले जानकारी दिएको छ स्रोत ः रासस

VIEWS: 526