अन्न नफल्ने खेतमा विरुवा नर्सरी गरेर राम्रो आम्दानी

Tuesday, August 24th, 2021 |

 

कञ्चनपुर ८ भदौ

अन्न नफल्ने खेतमा नर्सरी व्यवसाय गरेर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका प्रताप सिह धामीको परिवाले नमुना काम गर्दै मनग्गे आम्दानी गर्दै आएको छ ।

नर्सरीमा उत्पादित बिरुवा एकजनाले मात्रै वार्षिक २५ देखि ३० लाख रुपैयाँसम्मको विक्री गर्दै आएका छन् । धामीको परिवारका तीनै जनाले वार्षिक ७५ लाखदेखि १ करोड रुपैयाँसम्मका बिरुवा विक्री गर्दै आएका छन् ।

कोरोनाको महामारी फैलिएपछि विक्रीमा केही कमी आएको छ । हाल १० लाखदेखि १५ लाख रुपैयाँसम्मका बिरुवामात्रै विक्री हुने गरेका छन् । धामी परिवारले उत्पादन गरेका बिरुवा सुदूरपश्चिमबाट कर्णाली प्रदेशसम्म विक्री हुने गरेको थियो । कोरोना महामारी फैलिएपछि हाल उत्पादित बिरुवा सुदूरपश्चिम प्रदेशका ९ ओटा जिल्लामा मात्रै आपूर्ति हुने गरेको छ ।

धामी परिवारको नर्सरीमा घर सजावटका बिरुवा, घाँस प्रजातिका बिरुवा, काष्ठ प्रजातिका बिरुवा, विभिन्न प्रजातिका बाँसका बिरुवा, फलफूलका बिरुवा पाइने गरेका छन् ।

बिरुवा उत्पादनका लागि बीउ तयार गर्नेदेखि बिरुवा उत्पादन र कलमी गर्नेलगायतका काम धामी परिवारले नर्सरीमै गर्ने गरेका छन् । धामी परिवारले सञ्चालन गरेका तीनओटै नर्सरीमा १२ जनाले रोजगारीसमेत पाएका छन् ।

२०४६ सालमा भारतले गरेको नाकाबन्दीका बेला भारतीय निकटवर्ती बजार वनवासाबाट घरमै रोप्न फलफूलका बिरुवा ल्याउँदै गर्दा धामी दाजुभाइलाई भारतीय सुरक्षाकर्मीले बिरुवा ल्याउन दिएनन् । कर्णालीमा पुल नहुँदा नेपालमै उत्पादित बिरुवा ल्याउन सकिने अवस्था थिएन । भारतले सीमा क्षेत्रमा नाकाबन्दी गरेकाले बिरुवा ल्याउन दिएन ।

तीनै जनाले व्यवसाय दर्ता गरेर आँप, लिची, केरा, एभोकाडो, नरिवल, सुपारी, सपोटा, ल्वाङ, कालीमिर्च, कागती, सुन्तला, अम्बा, कटहर, नासपाती, अनार अमिलोलगायतका फलफूल प्रजातिका बिरुवा उत्पादन गर्दै आएका छन् । आँप मात्रै १४ र लिची पाँच प्रजातिका रहेका छन् ।

घाँस प्रजातिमा सुपर नेपियर, स्मार्ट नेपियर, बकाइनो, टाँकी, वडहर, भिमल, इपिलइपिल, बडहर, किमु र काठ प्रजातिमा सात प्रजातिका बाँस सिसौ, सिमल, जामुन, टिक, पलोनिया, अगरउड, मलेशियन साल, महागुणी, रुद्राक्ष, रक्तचन्दनलगायका बिरुवा उत्पादन हुँदै आएका छन् ।

घर सजावटका बिरुवामा अशोक, बोटलपान, समी, धुपी चाइनापान, इरकापान, एरोकेरिया, पनिस पान, साइकस, निलोना, गुडल, चाँदनी, हेपिकस, हेमेलिया, असारे, लालुपाते गुलाव लगायतका बिरुवाको उत्पादन नर्सरीमा हुदै आएको छ । कुनै पनि ठाउँमा नपाईएका बिरुवा धामी परिवारले सञ्चालन गरेको नर्सरीमा पाईने गरेको छ । नर्सरी व्यवसायका लागि उनीहरूले १० लाखदेखि २५ लाख रुपैयाँसम्म लगानी गरेका छन् । स्रोत ःरासस

VIEWS: 482