राष्ट्रिय धान दिवसको दिन कार्णालीमा सार्वजनिक बिदा

Tuesday, June 29th, 2021 |

 

काठमाडौ १५ असार

आज असार १५ गते राष्ट्रिय धान दिवस, आजको दिनलाई नेपालीले मानो रोपेर मुरी फलाउने विशेष पर्वको रुपमा मनाउँछन् । आजको दिनलाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिने गरिन्छ ।

कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेकाहरुले पनि दही च्यूरा खाई असार १५ मनाउँछन् । दही च्यूराले शरीर शीतल भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।

वि।सं। २०६१ मंसीर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । नेपालका अझै पनि ६६ प्रतिशत मानिस कृषि पेशामा छन भनिन्छ त्यसैले पनि यो दिनलाई विशेष वर्षको रुपमा मनाउदै आइएको छ । तर कोरोना माहामारीको कारण यो वर्ष धान दिवस साङ्केतिक रुपमा मात्र मनाउने निर्णय कृषि मन्त्रालयले गरेको छ ।

किसान वर्षभरका लागि छाक जुटाउन यो महीना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोक लयका गीत गाउँदै धान रोप्ने र हिलो छ्यापाछ्याप गरेर रमाइलो गर्ने चलन छ । असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपाली समाजमा रहेको छ ।

कर्णालीमा सार्वजनिक बिदा

यसैबीच राष्ट्रिय धान दिवसको अवसरमा कर्णाली प्रदेशमा मंगलबार सार्वजनिक बिदा दिइएको छ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषदको निर्णय अनुसार असार १५ गते धान दिवसको अवसरमा बिदा दिइएको हो ।

कर्णालीका १० जिल्लामध्ये जुम्ला बाहेक नौ जिल्लाका सबै सरकारी कार्यालय तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थाहरूमा बिदा दिइएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायाका अनुसार धान दिवसको दिनमा कृषिलाई प्रवर्धन गर्न सो निर्णय गरिएको हो ।

VIEWS: 820