सञ्चालनमा आयो देशकै ठुलो तरकारी बजार

Thursday, April 8th, 2021 |

 

भक्तपुर २६ चैत्र

नेपालकै ठूलो भनिएको सुर्यविनायक हरित कृषि थोक बजारभक्तपुरमा सञ्चालनमा आएको छ। भक्तपुरको सूर्यविनायकको सिपाडोलमा नेपालकै सबैभन्दा ठूलो तरकारी बजार सञ्चालनमा ल्याइएको हो। अरनिको राजमार्ग अन्तर्गत आदर्श बस बिसौनीबाट दक्षिणको ३५ रोपनी क्षेत्रमा बजार खुलेको छ।

आधुनिक तवरले निर्माण गरिएको बजारमा प्रवेश गर्न र निस्कन छुट्टाछुट्टै गेटको व्यवस्था गरिएको छ। एउटा गेट अरनिको राजमार्ग जोडिएको छ भने अर्को सिपाडोल जाने मेनरोडसँग जोडिएको छ। कृषि बजारमा तरकारी ल्याउने गाडी जाम नहोस् भनेर एकतर्फी बाटो कायम गरिएको सञ्चालकहरुको भनाइ छ। त्यहाँ पार्किङको पनि व्यवस्था छ। कृषि बजारभित्रै मोटरले तरकारी पु¥याउने व्यवस्था मिलाइएको छ।

सूर्यविनायक हरित कृषि थोक बजारका अध्यक्ष राकेश प्रसाईले ३२ करोड लगानीमा मुलुकको अहिलेसम्मको ठूलो र व्यवस्थित कृषि बजार सञ्चालनमा ल्याएको जानकारी गराए। अहिले अनौपचारिक रुपमा सुरु गरी अर्को वर्षको वैशाखमा कृषि मन्त्रीबाट उद्घाटन गराई औपचारिक रुपमा बजारको सुरुआत गर्ने योजना रहेको उनले जनाए।

अहिलेका लागि तरकारीको स्टल सञ्चालनमा ल्याइएको हो। माछामासु र फलफूलका स्टल बनाउन बाँकी रहेको जनाइएको छ। यसलाई अहिलेसम्मकै व्यवस्थित बजारको रुपमा अघि बढाउने योजना छ। बजारभित्र साढे सात सय स्टल छन्। बजार प्रत्येक दिन विहान दुई बजेदेखि बेलुकी आठ बजेसम्म खुला रहने जनाइएको छ। बजारको मुख्य उद्देश्य होलसेल बिक्री भए पनि स्थानीयको लागि खुद्रा बिक्री पनि गर्ने योजना छ।

काठमाडौंको कालीमाटीस्थित फलफूल तथा तरकारी बजार बस्तीभित्र भएकोले त्यहाँ गाडी लैजान बेलुकीसम्म कुर्नुपर्ने अवस्था छ। यसो हुँदा तरकारी खराब हुने सम्भावना धेरै भएको, तर यहाँ त्यस्तो समस्या नआउने बताइएको छ। उपत्यकाको पूर्वी नाकाबाट आउने सबै तरकारी यही बजारमा ल्याएर यहाँबाट काठमाडौं लगायत ठाउँमा पु¥याउन सकिने जनाइएको छ । जग्गा १५ वर्षका लागि लिजमा लिएर बजारका संरचना तयार गरिएको हो ।
स्रोत ः नागरिक न्यूज

VIEWS: 859