बैशाख १ मा चौरी महोत्सव हुदै

Sunday, April 4th, 2021 |

पाँचथर २२ चैत्र

नयाँ वर्षको अवसरमा पाँचथरको फालेलुङ गाउँपालिका–४ तीनसिमानामा चौँरी महोत्सव हुने भएको छ । विगत चार वर्षयता आयोजना भइरहेको महोत्सव यस वर्ष पनि नेपाल–भारत सीमावर्ती क्षेत्र तीनसिमानामा आयोजना गर्न लागिएको हो ।

फालेलुङ गाउँपालिकाको आर्थिक सहयोगमा यहाँका दीपज्योति युवा क्लब, फालेलुङ कञ्चनजंघा पर्यापर्यटन प्रवर्द्धन संस्था र कञ्चनजंघाका चौँरीपालन तथा संरक्षण संस्थाले महोत्सवको आयोजना गरेका हुन् । महोसत्व एक दिन आगामी २०७८ वैशाख १ गते सञ्चालन हुनेछ ।

महोत्सवमा चौँरीका विभिन्न प्रजाति तथा चौँरीसँग सम्बन्धित सामग्रीको प्रदर्शनी मुख्य आकर्षण रहने महोत्सव आयोजक समितिका सचिव सुनिल बान्तवाले जानकारी दिए ।

परम्परागत चौँरीपालनलाई व्यवस्थित र व्यावसायिक बनाई दिगो आयस्रोत बनाउने, चौँरीमा आधारित पर्यापर्यटन प्रवर्द्धनमा सघाउ पुयाउने, जैविक विविधता, दुर्लभ वनस्पति तथा जीवजन्तु संरक्षणको सन्देश दिने मुख्य उद्देश्यसहित महोत्सव आयोजना गरिएको हो ।

महोत्सवमा चौँरी तथा याकका विभिन्न प्रजातिको प्रदर्शनी, चौँरीजन्य उत्पादनको प्रदर्शनी, भूटानबाट ल्याइएका याकको प्रदर्शनी, घोडाचढी तथा याकचढी मुख्य आकर्षण रहेका छन् । यस्तै उच्च पहाडी क्षेत्रमा पाइने जडीबुटीको प्रदर्शनी, स्थानीय संस्कारमा आधारित खाद्यान्नका परिकार, भेडाको ऊनबाट निर्मित सामग्री, गोठबासमा बसोबासजस्ता आकर्षण रहने आयोजक समितिका सचिव बान्तवाले बताए ।

तीनसिमानाबाट नेपाल, भारत र भूटानका हिमालको दृश्यावलोकन गर्न सकिन्छ भने यहाँ प्रसिद्ध तीर्थस्थल गोर्खेधामसमेत रहेको छ । विगतमा फालेलुङ–४ चाररातेमा चौँरी महोत्सव आयोजना गर्ने गरिएको थियो तर चारराते पुग्न भारतीय बाटोको प्रयोग गर्नुपर्ने, सुरक्षाको अभावजस्ता कारणले महोत्सवस्थल तीनसिमाना निर्धारण गरिएको महोत्सव आयोजक समितिका अध्यक्ष एवं फालेलुङ–४ का वडाध्यक्ष विद्धिमान सावदेनले बताए ।

तीनसिमाना नजिकै सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट ९बिओपी० स्थापना भएको, गोठबासको प्रबन्ध भएको, सहज सडक पहुँच भएको तथा तीनसिमानालाई पर्यटक गन्तव्य बनाउन प्रचारमा जोड दिनुपर्ने भएकाले यहाँ महोत्सव आयोजना गरिएको अध्यक्ष सावदेनको भनाइ छ । महोत्सव सम्पन्न गर्न मूल आयोजक समिति तथा चारवटा उपसमिति गठन गरिएको अध्यक्ष सावदेनले बताए ।

दुई दर्जनभन्दा बढी चौँरीगोठ रहेको फालेलुङको फालोट क्षेत्रमा पर्यटन विकास गर्ने, चौँरीजन्य सामग्रीको प्रचार र बजारको खोजी गर्ने, चौँरीपालनलाई व्यवस्थित गर्दै जैविक विविधताको संरक्षण गर्ने उद्देश्यसहित २०७४ बाट महोत्सव आयोजना गर्न थालिएको हो ।

गत वर्ष भने कोभिड–१९ को महामारी तथा बन्दाबन्दीका कारण चौँरी महोत्सव हुन सकेन । हालसम्म कोरोना भाइरस संक्रमणको अवस्था सामान्य रहेकाले प्रशासनको अनुमतिले यस वर्ष महोत्सव आयोजना गरिएको आयोजक समितिले जानकारी दिएको छ । स्रोत ः रासस

VIEWS: 910