बर्षासँगै डढेलो निभेपछि किसान हर्षित

Tuesday, April 20th, 2021 |

 

डोटी ७ बैशाख

डोटी जिल्लामा लामो समयपछि वर्षा भएको छ । वर्षा भएसँगै त्यहाँका सामुदायिक वनमा लागेको आगो पनि निभ्दै गएको गएपछि किसान हर्षित भएका हन् ।

पानी परेसँगै खेतीबाली सप्रिने, केही दिन अघिदेखि बढेको वातावरणीय प्रदूषण कम हुने र आगलागी पनि नियन्त्रणमा आउने भन्दै स्थानीयवासीमा खुशीयाली छाएको शिखर नगरपालिका–२ का चेतबहादुर बोगटी बताउँछन् । उनी भन्छन्, “आगलागीले पूरै वन सखाफ भएको थियो, वातावरणीय प्रदूषण पनि खराब थियो, अहिले पानी परेपछि राम्रो हुँदै गएको छ ।”

बिहीबार, शुक्रबार तथा शनिबार लगातार तीन दिन पानी पर्दा बाँझो जमिन खनजोत गर्न तथा मकै छर्नका लागि निकै सहज भएको किसान बताउँछन् । डिभिजनल वन कार्यालय डोटीका अनुसार त्यहाँका सयौँ वन क्षेत्रमा लागेको आगो लगातार पानी पर्दा नियन्त्रणमा आउन थालेको छ ।

गएको एक महिनाको अवधिमा डोटीका करिब तीन सय ६० सामुदायिक तथा अन्य सरकारी वनमा आगलागी हुँदा वातावरण नै असहज बन्नुका साथै बस्तीसमेत खतरामा परेका थिए ।

डढेलोका कारण आगलागी हुँदा दर्जनौँ घरसमेत जलेका छन् । गएको असोज महिना यता पानी नपरेपछि यस वर्ष हिउँदे खेतीमा नराम्रो असर परेको थियो । भने, बर्खेखेती लगाउन पनि असर परेको किसान बताउँछन् ।

जिल्लामा लागेको डढेलो निभाउन नसकिँदा सयौँ हेक्टर जमिन तथा त्यहाँ उम्रिएका जडीबुटी नोक्सान भइरहेको बेला एकाएक परेको पानीले आगो नियन्त्रणमा आउन निकै सहज भएको डिभिजनल वन कार्यालय डोटीका प्रमुख शम्भु तिवारीले जानकारी दिए । स्रोत ः रासस

VIEWS: 737