नयाँ वर्षबाट किसानका लागि मेरो कित्ता कार्यक्रमको सुरुवात

Thursday, April 15th, 2021 |

 

 

काठमाडौ २ बैशाख

नयाँ वर्षबाट प्रधानमन्त्री केपी शर्मा ओलीले मेरो कित्ता कार्यक्रम कार्यान्वयनमा ल्याउने बताएका छन् । किसानका लागी नयाँ वर्षको शुरुबाटै मेरो कित्ता कार्यक्रम शुभारम्भ हुने उनले बताए।

किसानले आफ्ना पूर्जा घरबाटै एपमार्फत हेर्नसक्ने र आधुनिक प्रविधिको माध्यमबाट उक्त काम गरेको जानकारी दिए । नयाँ उत्साह, नयाँ आत्मविश्वासका साथ नयाँ वर्षमा प्रवेश गरिरहेको बताउदै थालेका अपूरा कामलाई पूरा गर्ने र देशलाई विकासको चरणमा पु¥याउने संकल्प समेत गरे ।

मेरोकित्ता के हो ?

जग्गाधनीले आफ्नो रेकर्डअनुसारको जग्गाको नक्सा अनुकूल ठाउँबाट आफैं प्रिन्ट गरेर लिन मिल्ने अनलाइन प्रणाली ‘मेरोकित्ता’ हो ।

मेरो कित्ता सुरु भएसँगै घर, भवन निर्माण वा खरिदबिक्री प्रयोजनका लागि अब जग्गाधनीले नापी कार्यालय पुगेरै प्रिन्ट नक्सा लिनु नपर्ने भएको छ । सुरुमा यो सेवा काठमाडौं उपत्यकाका अति व्यस्त नापी कार्यालयहरूबाट मात्रै उपलब्ध हुनेछ । यसपछि देशभरका १ सय २६ वटा कार्यालयबाट पनि अनलाइन प्रणाली सुरु हुने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले जानकारी दिए ।

विभागले पहिलो चरणमा बिहीबारबाट काठमाडौं उपत्यकाका ८ वटा नापी कार्यालयमा यो सेवा सुरु गर्न लागेको जनाएको छ ।

सेवाग्राहीलाई घरमै बसी आफ्नो जग्गासम्बन्धी जानकारी लिन सहज होस् भनेर विभागले ‘नेपाल ल्यान्ड इन्फर्मेसन सिस्टम’ ९एनईएलआईएस० प्रणाली तयार पारेको छ । यसमार्फत सेवाग्राहीले घरमै बसी ‘मेरो कित्ता’ अनलाइन सेवा प्रणालीबाट नक्सा प्रिन्ट, फिल्डबुक प्रिन्ट र राजस्व भुक्तानी गर्न सक्नेछन् ।

सेवाग्राहीले कुनै पनि ब्राउजरबाट ‘मेरोकित्ता.डीओएस.जीओभी.एनपी’ लगइन गर्नुपर्नेछ । यो साइट लगइन गर्दा युजर नेम र पासवर्ड चाहिँदैन । सेवाग्राहीले आफ्नो नाम, सम्पर्क नम्बर, जग्गाधनी पुर्जामा हुने कित्ता नम्बरलगायत विवरणहरू राख्नुपर्ने हुन्छ । प्राप्त विवरणलाई नापी कार्यालयले कारोबार गर्न योग्य छरछैन भनी प्रमाणित गर्छ ।

प्रमाणित भइसकेपछि मेरो कित्ताको साइटमा सेवाग्राहीले राखेको सम्पर्क नम्बरमा अनुरोध पूरा भयो भनी सन्देश जानेछ । त्यसपछि सेवाग्राहीले महालेखा नियन्त्रकको कार्यालयमा अनलाइन प्रणालीमार्फत राजस्व भुक्तानी गर्न आबद्ध जुनसुकै सेवा प्रदायकबाट राजस्व तिर्न सक्छन् । घर बनाउन, बैंकबाट कर्जा लिन होस् वा जग्गाधनीको कुनै व्यक्तिगत प्रयोजनका लागि जग्गाको नक्सा आवश्यक पर्छ र यो सेवा सुरु भएपछि डिजिटल नक्सा नै प्राप्त गर्न सकिन्छ ।

VIEWS: 646