५० प्रतिशत अनुदानमा अदुवाको बिउ बितरण

Thursday, April 1st, 2021 |

 

उदयपुर १९ चैत्र

व्यावसायिक रूपमा अदुवा र बेसार खेती गर्दै आएका उदयपुरको त्रियुगा नगरपालिका साउनेका किसानलाई थप प्रोत्साहन गर्न सरकारले बीउबिजनमा ५० प्रतिशत अनुदान उपलब्ध गराएको छ ।

निर्वाहमुखीबाट व्यावसायिक खेतीतर्फ आकर्षित भएका किसानलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत अनुदान उपलब्ध गराइएको हो । परियोजना कार्यान्वयन इकाइ कार्यालय गाईघाटले मंगलबार एक कार्यक्रमको आयोजना गरी पहिलो चरणमा दुई हजार केजी कपुर जातको बेसार र ७ सय ७५ केजी अदुवा हस्तान्तरण गरेको हो ।

परियोजना कार्यालयले यो क्षेत्रलाई अदुवा÷बेसार जोन कार्यक्रम क्षेत्रको रूपमा घोषणा गरी कार्यक्रमलाई अघि सार्दै आएको छ । कार्यालयले यसै आर्थिक वर्षमा जोन क्षेत्रमा ६० हेक्टरमा अदुवा÷बेसार खेती लगाउने तयारी गरेको प्रमुख रामस्वगारत साहले बताए । उनका अनुसार ६० हेक्टरमा अदुुवा ५० हजार २ सय र बेसार ३२ हजार ४ सय केजी अनुदानमार्फत उपलब्ध गराउने तयारी छ । परियोजना सञ्चालनपश्चात् अघिल्लो वर्षमा मात्रै साउने क्षेत्रबाट अदुवा १५ दशमलव ६ र बेसार १८ दशमलव २ मेट्रिकटन उत्पादन भएको उनले जानकारी दिए । अदुवा÷बेसारको बीउ किसानलाई हस्तान्तरण गर्दै जिल्ला समन्वय समितिका प्रमुख तथा परियोजना समन्वय समितिका प्रमुख खड्गबहादुर परियारले परियोजना कार्यान्वयनले आयातित खाद्य सामग्रीलाई प्रतिस्थापन गरी उत्पादकत्व बढाउन मद्दत पुग्ने बताए ।

उनले परियोजनाले कृषिमा यन्त्रीकरण, आधुनिकीकरण, व्यावसायीकरण, औद्योगिकीकरण र व्यवस्थापन पक्षमा अनुदान सहयोग गर्ने भएकाले कृषि क्षेत्र र किसानको भविष्य सुनिश्चित हुने बताए । नेपालजस्तो मुलुकमा कृषि क्रान्तिबाट मात्रै समृद्ध नेपाल र सुखी नेपालको परिकल्पना साकार हुने भएकाले कृषि क्षेत्रको व्यावसायिकतामा जोड दिन आग्रह गरे ।

सरकारले कृषि क्षेत्रलाई व्यावसायिक बनाउन कृषिलाई चार चरणमा वर्गीकरण गरी परियोजना सञ्चालन गर्दै आएको छ । कम्तीमा दस हेक्टर व्यावसायिक खेती गर्नका लागि स्थानीय तहमार्फत पकेट क्षेत्र र एक सय हेक्टरमा गर्नका लागि प्रदेश सरकारमातहत कार्यालयमार्फत ब्लक कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्रोत ः अन्नपूर्णपोष्ट

VIEWS: 1371