प्रधानमन्त्रीले गरे पशुपन्क्षिजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषणा

Friday, March 26th, 2021 |

 

काठमाडौ १३ चैत्र
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक पशुपन्क्षिजन्य उत्पादन (दुध,फुल र मासु ) मा आत्मनिर्भर भएको घोषणा गरेका छन्। यि मध्ये दूधमा आत्मनिर्भर उन्मुख अवस्थामा रहेको तर अन्डा र मासुमा मुलुक आत्मनिर्भर भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्रीका अनुसार पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भरताको घोषणाले कृषि विकासको क्षेत्रमा मुलुक एक कदम अघि बढेको छ । हरेक दिन एक क्षेत्रमा एक कदम अघि बढ्ने सरकारी नीतिअनुसार कृषि क्षेत्रमा नयाँ प्रगति जनतासामु ल्याइएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

ओलीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बिहीबार आयोजना गरेको पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर घोषणा कार्यक्रममा नेपालीलाई बधाई दिएका छन् । अण्डा र मासुमा आत्मनिर्भर हनु ठुलो सफलता भएको उनको विश्वास छ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री पद्‍माकुमारी अर्यालले सरकारले कृषिजन्य उत्पादनतर्फ थप केही उपजमा पनि आत्मनिर्भर भएको घोषणा गर्ने तयारी भइरहेको कार्यक्रमा जानकारी दिइन् । आगामी पाँच वर्षमा पर्याप्त उत्पादन गरी आत्मनिर्भर हुने र निर्यातको अवस्थामा पुग्ने दाबी मन्त्री अर्यालको दाबी छ ।

मन्त्रालयका पशुपन्छीतर्फका सचिव डा. प्रेमनारायण कँडेलका अनुसार संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको मापदण्डअनुसार आवश्यकता र उत्पादनको अवस्थाको आधारमा मासु र अन्डामा मुलुक आत्मनिर्भर भएको घोषणा गरिएको हो ।

संगठनले प्रतिव्यक्ति प्रतिवर्ष न्यूनतम ९१ लिटर दूध, १४ किलो मासु, ४८ गोटा अन्डा उपभोग गर्न सिफारिस गरेको छ। नेपालमा उत्पादन भएको तथ्यांकलाई यकिन गर्ने हो भने प्रतिव्यक्ति प्रतिवर्ष ७९ लिटर दूध, १८.१ किलो मासु र ६१ गोटा अन्डा उपलब्धता प्राप्त गरेको छ। मन्त्रालयको तथ्यांकअनुसार हाल १ खर्ब २२ अर्ब मूल्यबराबरको २३ लाख १ हजार टन दूध, २ खर्ब ७५ अर्ब मूल्यबराबरको ५ लाख ४८ हजार टन मासु, १७ अर्ब मूल्यबराबरको १ अर्ब ६१ करोड गोटा अन्डा र ३७ अर्ब मूल्यबराबरको ९१ हजार टन माछा उत्पादन भएको छ। यस्ता ४ प्रकारको उत्पादन जोडेर ४ खर्ब ५० अर्ब रुपैयाँबराबरको खाद्यवस्तुको उत्पादन भएर आयात दर प्रतिस्थापन भएको मन्त्रालयले जनाएको छ। मासुमा आत्मनिर्भर भनिरहदाँ कुखुराका लागि चाहिने दाना बनाउन आवश्यक ८० प्रतिशत कच्चा पदार्थ भारतबाट आयात गर्नुपर्ने अवस्था छ , यसरी आत्मनिर्भरताको घोषणा गरिरदा यस भित्रको बास्तविस्ता खोजी गर्नुपनि जरुरी छ ।

दूध ढुवानीका लागि लोगो सार्वजनिक

प्रधानमन्त्री ओलीले दूध ढुवानी गर्ने सवारीसाधनका लागि लोगो सार्वजनिक गरेका छन्। दुग्ध विकास बोर्डले चैत २ गते दुग्धजन्य पदार्थ ढुवानीमा सहजता ल्याउन दूध ढुवानी गर्ने साधनमा लोगो तथा स्टिकर प्रयोग गर्ने योजना अघि सारेको थियो। ढुवानी गर्ने सवारीसाधनले अब एम्बुलेन्ससरह गुड्न पाउने हकसहित उक्त लोगो सार्वजनिक गरिएको हो। दूध ढुवानी गर्ने सवारीसाधनमा लोगो प्रयोग गर्ने नेपाल पहिलो मुलुक बनेको सरकारको दाबी छ।

प्रधानमन्त्री ओलीले रासायनिक मल कारखाना चाँडै सञ्चालनमा आउने बताएका छन्। विद्युत्को प्रयोग गरी कारखाना सञ्चालन गर्ने विषयमा छलफल भइरहेको उनको भनाइ थियो। विद्युत्बाट मल कारखाना सञ्चालन गर्न महँगो परे पनि एउटा प्रोजेक्ट तयार गरी डेडिकेटेड लाइन कारखाना सञ्चालनका लागि उपलब्ध गराउन सक्ने उनले बताए
मन्त्रालयका प्रवक्ता डा.श्रीराम घिमिरेका अनुसार प्रत्येक वर्ष ५ लाखदेखि ६ लाखको संख्यामा बाख्राको आयात दर ९७ प्रतिशतले घटेको छ। राँगा, भैंसीको आयात विगत दुई वर्षयता शून्यमा झरेको मन्त्रालयले जनाएको छ। भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि फागुनसम्म राँगा, भैंसी, भेडा, बंगुर, खसीको तयारी मासु १ करोड ८५ लाख, मासुजन्य जिउँदो जनावर १ अर्ब १० करोड ६४ लाख र माछा १ अर्ब १७ करोड ४८ लाख रुपैयाँको नेपालमा आयात भएको छ। दसैंका बेला राजधानीमा मात्रै सामान्य दिनबाहेक अतिरिक्त ६० करोड मूल्यबराबरको ३५ हजारदेखि ४० हजारको संख्यामा बिक्री हुन्छ। बिक्री हुने कुल खसीबोकामध्ये झन्डै ७० प्रतिशत भारतबाट आयात हुन्छ।

VIEWS: 742