सूचिकरणमा सक्रिय सहभागि हुदै किसान

Thursday, March 18th, 2021 |

 

धनगढी ५ चैत्र

धनगढी उपमहानगरपालिकामा किसान सूचीकरण अभियानमा किसान सक्रिय रुपमा सहभागि हुनथालेका छन् । नाम दर्ता गराउन आएका किसान देवराज चौघरी धेरै खुसी मुद्रमा भेटिए, उनले भने,‘‘सूचीकरण गर्ने व्यवस्थाबाट पहिचान हुने सबै किसानले सेवा सुविधा पाउन सहज हुने देखिएको छ । वास्तविक किसानका हित हुन्छ ।’’

सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा हालै दर्ता शुभारम्भ गरिएको थियो । समारोहमा उनी सहित किरन रानाथारु र वडा नं ३ का मनोज पडाललाई नमूनाको रुपमा किसान परिचयपत्र वितरण गरिएको थियो । च्याउखेती गरिरहनुभएका पडालले किसान सूचीकरण कार्यको प्रभावकारी कार्यान्वयनले कृषिमा अब नयाँ युगको शुरुआत हुने बताए ।

उनले भने, ‘‘सरकारले दिने अनुदानको नीति पनि अब प्रतिफलमा आधारित बनाउन सके कृषि विकासमा फड्को मार्नसक्छ ।’’किसानको शुद्धिकरण गर्दै वास्तविक किसानको पहिचान स्थापित गर्न र परिचयपत्रका आधारमा लाभग्राही किसान छनोट गर्न यो सूचीकरणको काम थालिएको हो ।

स्थानीय तहमार्फत् किसान सूचीकरणको प्रविष्ट गर्न लागिएको मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डा हेमराज अवस्थीले बताए । उनले भने,‘‘यसको कार्यान्वयनवाट कृषि पेशलाई सम्मानित पेशाका रुपमा स्थापित गर्न मद्दत पुग्ने छ ।’’

निर्वाहमुखी र परम्परागत कृषि कार्यमा परिवर्तन गर्दै कृषिको उत्पादन र उत्पादकत्व वृद्धिमा सुधार ल्याउन पनि यो सूचीकरण कार्य सहयोगी हुने जनाइएको छ । एक तथ्याङ्कका अनुसार झण्डै ६३ प्रतिशत मानिस कृषि पेशामा आबद्ध रहेको अनुमान छ ।

किसानको वास्तविक विवरण पत्ता लगाउनका लागि प्रविधिको प्रयोग गरेर किसानको लगत सङ्कलन अर्थात् सूचीकरण थालिएको हो । यस कार्यले किसानको अभिलेख तयार पारी परिचयपत्रमार्फत् किसानको पहिचान स्थापित गराउने जनाइएको छ ।

कृषिलाई महत्पूर्ण क्षेत्रको रुपमा समेटेको डिजिटल नेपाल फ्रेमवर्कको प्रविधिमा आधारित भएर किसानको अभिलेख तयार गर्न लागिएको जनाइएको छ । किसान सूचीकरण नम्बर प्राप्त गर्न किसानले तोकिएको विवरण प्रविष्ट गर्नुपर्छ । स्रोत ः रासस

VIEWS: 415