मोबाइल एफ मार्फत कृषि उपजको जानकारी लिदै किसान

Monday, March 1st, 2021 |

 

काभ्रे १७ फाल्गुन
काभ्रेको नमोबुद्ध नगरपालिकाका किसानले अब मोबाइल एपमार्फत कृषि उत्पादन तथा बजारसम्बन्धी जानकारी पाउने भएका छन् । यसका लागि नगरलाई गैरसरकारी संस्थासमेतले ‘जीओ कृषि एप’ सहयोग गरेको हो ।

नगरपालिका, इसिमोड, सिप्रेड र पाथवेको सहकार्यमा डिजिटल कृषि सूचना केन्द्र, सरल कृषि विस्तार सेवा (जिओ कृषि एप) हस्तान्तरण भएसँगै अब किसानले प्रविधिको प्रयोग गर्दै कृषि व्यवसायलाई थप व्यवस्थित र उत्पादनमूलक बनाउन सक्ने भएका छन् ।

नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले सेवालाई ११ वटै वडाका लागि सेवा हस्तान्तरण गरेका छन् । उनका अनुसार यो सेवा शुरु भएसँगै ‘डिजिटल नमोबुद्ध’ अभियान नै एक कदम अघिबढेको छ ।

सो सेवाबाट नमोबुद्धका किसानले आफूले कुन समयमा कुन बाली लगाउने भन्नेबारे मोबाइल एपमार्फत नै जानकारी पाउनेछन् भने दैनिकरुपमा बजारभाउको जानकारी पनि दिन सक्नेछन् । यस्तै बाली लगाउने क्रममा कुनै समस्या आए त्यसको समाधान गर्न रोग कीरा देखापरेमा त्यसलाई नियन्त्रण गर्ने उपायसमेत मोबाइलमार्फत नै किसानले जानकारी पाउनेछन् ।

‘किसानलाई मोबाइल एपमै विज्ञबाट सेवा उपलव्ध गराइनेछ’, नगरप्रमुख तिमल्सिनाले भने एपमा किसानदेखि प्राविधिक र बजारसम्म समेटिएको जिओ कृषि इन्क्युवेसन सेन्टरका कार्यक्रम निर्देशक रादिप तण्डुकारले जानकारी दिए। उनका अनुसार किसानले कहाँ, कसरी के रोप्ने र कसरी बिक्री गर्ने भन्नेबारे सबै जानकारी एपमार्फत नै पाउनेछन् ।

‘बाली रोपाइँदेखि कटाइसम्मका हरेक पक्षलाई एपमा समेटिएको छ’, तण्डुकारले भने। उनका अनुसार यसले किसानलाई कुन समयमा के बाली लगाउने र बजारको खोजी कसरी गर्ने भन्ने समस्याबाट मुक्ति दिलाउनेछ । इसिमोडकी इकोसिष्टम एनालिष्ट इरिका उदासले किसानले यो एप प्रयोग गर्दा धेरै खर्च बेहोर्नु नपर्ने बताए।

उनले भने, ‘एक सय रुपैयाँ खर्च गर्दा वर्षभरि एप चलाउन सकिनेछ।’ उनका अनुसार किसानलाई सहज र सुलभ होस् भन्ने उद्देश्यले एपलाई ‘अफलाइन’ मै चल्नसक्ने व्यवस्था गरिएको छ। सूचनामा किसानको पहुँच आवश्यक रहेको कुरालाई मध्यजनर गर्दै आफूहरुले जिओ कृषिको अवधारणा ल्याएको उदासले बताए।

इसिमोड र सिप्रेडले पाथवेसँगको सहकार्यमा नगरपालिकामा पहिलो पटक यो सेवा शुरु गरिएको हो । एपको सेवाबाट राम्रो मूल्यमा किसानले आफ्ना उत्पादन बिक्रीवितरण गर्नसक्ने अपेक्षा गरिएको छ । नगरप्रमुख तिमल्सिनाले आफूहरु निर्वाचित भएपछि डिजिटल नमोबुद्धको अवधारणा अघि सारिएको र अब कृषिमा समेत प्रविधिको प्रयोगले त्यसमा थप मद्दत पुगेको बताए।

नगरमा यसअघि नै शिक्षा क्षेत्रमा यु लर्निङ, टकिङ टिचरलगायतका कार्यक्रममार्फत डिजिटल नमोबुद्धको अवधारणालाई अघि बढाइएको थियो ।

कृषि र वातावरणमैत्री नगर बनाउने आफूहरुको अभियान रहेको र वातावरणमैत्री नगरको योजनालाई विभिन्न कार्यक्रममार्फत मूर्तरुप दिइएको तिमल्सिनाले जनाए। उनले जिओ कृषि एपमार्फत किसानले बढीभन्दा बढी फाइदा लिनसक्ने र नगरले यसको सञ्चालन तथा व्यवस्थापनमा विशेष ध्यान दिनेसमेत बताए।

यो एप परीक्षणकै क्रममा नमोबुद्ध नगरका ३६५ किसान आवद्ध भइसकेका छन्। ‘वडास्तरबाटै क्रमैसँग थप किसानलाई आबद्ध गर्दै लगिनेछ’, नगरपालिकाका प्रवक्ता सञ्जीव ढकालले भने। उनका अनुसार यसप्रति किसानको आकर्षण बढिरहेको छ। एपमा नमोबुद्ध नगर क्षेत्रभित्र लगाइने २० बालीलाई प्राथमिकताका साथ राखिएको छ भने अन्य बालीलाई पनि समेट्दै लगिने जनाइएको छ।

परीक्षणकै क्रममा यो एप प्रयोग गरिरहेका स्थानीय अगुवा किसान भरत न्यौपानेले आफूहरुका लागि एप निकै उपयोगी र आवश्यक रहेको बताए । उनले एपमार्फत नै आफूहरुलाई कृषि उत्पादनका लागि आवश्यक जानकारी पाउनुका साथै उत्पादित कृषि उपजको बजारको खोजी गर्न सहज भएको सुनाए। स्रोत ःरासस

VIEWS: 688