मापदण्ड नपुग्दा कालीमार्सी धान खरिदमा समस्या

Tuesday, February 23rd, 2021 |

 

जुम्ला ११ फाल्गुन

विश्वको सबैभन्दा अग्लो स्थानमा फल्ने धानको उपमा पाएको कार्लीमासी धान मापदण्ड अनुसारको नभेटिएपछि खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले खरिद प्रक्रिया रोकेको छ। माघ २५ गते सुचना जारी गदै शुद्ध कालीमार्सी धान र चामल ल्याउन कम्पनीले किसानलाई आग्रह गरेको थियो।

मार्सी चामल र धान खरिद गर्ने विषयले जुम्लाबासी निकै उत्साहित थिए। मार्सीधान का किसानमा गाउँमै चामल र धान खरिद हुने भएपछि कालीमार्सी धान प्रतिको मोह पनि बढेको थियो। तर कालीमार्सी धान र चामल खाद्य व्यवस्था तथा ब्यापार कम्पनीको मापदण्ड अनुसार नभेटिएपछि खरिद प्रक्रिया नै अन्यौलमा छ।

कम्पनीका जुम्ला प्रमुख तिलक सुनार अहिलेको अवस्थामा कालीमार्सी धान र चामल खरिद गर्न योग्य नभएको बताउँछन। ‘धान कालो हुनुपर्ने र चामल रातो हुनु पर्ने कम्पनीको मापदण्ड थियो। त्यो मापदण्ड ‘मिट’ हुन सकेन,’ उनले भने,‘अब यो वर्ष कालीमार्सी धान खरिद गर्न सकिदैन होला।’

यो वर्ष पनि कालीमार्सी धान र चामल बेच्ने जुम्लाबासीको चाहना पुरा हुन सकेन। ‘चामल ९५ प्रतिशत रातो हुनु पर्ने थियो। त्यो देखिएन। धान पनि मिसावट देखियो’ प्रमुख सुनारले थपे,‘फलस्वरुप खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र मार्सी धान र चामल खरिद प्रक्रिय बीचैमा रोकिएको छ।’

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्लाका प्रमुख तिलक सुनार मार्सी धान र चामल खरिद प्रक्रिया अन्यौल बनेको बताउँछन। कम्पनीको परिसरमा खरिद केन्द्र राखेर प्राथमिक खरिद समितिले मुल्य निर्धारण गरिसकेको थियो। मार्सी धानको मुल्य प्रतिकेजी १ सय २ रुपैयाँ र मार्सी चामलको मुल्य प्रतिकेजी १ सय ६२ रुपैयाँ तोकिएको थियो।

शुद्ध कालो मार्सी धान ल्याउदा निफनी, केलाई, सुकाई सफा गरि एकै किसिमको फ्रेस ल्याउन किसानलाई सुझाइएको थियो। तर, कम्पनीको गुणस्तर मापदण्ड बाहिरको धान खरिद गर्न कम्पनी बाध्य हुन सकेन। ‘मापदण्ड अनुसारको मार्सी धान पाउन नसकेकोले खरिद प्रक्रिया अघि बढाउन सकिएन,’ प्रमुख सुनारले भने,‘जिल्लाका विभिन्न स्थानमा पुगेर कालीमार्सीका बारेमा जानकारी लियौँ। कनिका नमिसिएको चामल हेर्न खोज्यौँ। सुख्खा ठाउँमा उत्पादन हुने भएकोले चामलमा कनिका बढी देखिने अवस्था आयो। धानमा एकरुपता देखिएन।’

जुम्लामा कालीमार्सी धानको गुणस्तर परिक्षण गर्न गुणस्तर विभागका टोलि खटिएको थियो। गुणस्तर विभागको टोलीले अहिलेको अवस्थामा कालीमार्सी धान र चामल किन्नु उपयुक्त नहुने सुझाव दिएको छ। कम्पनीले मार्सी चामलका नाममा कनिका किन्यो। गुणस्तरहीन चामल खरिद गर्यो भन्ने अपजस आउन सक्ने संभावना बढेकोले यो वषए मार्सी धान र चामल खरिद प्रक्रिया अघि बढ्न नसक्ने सुनिश्चित भइसकेको प्रमुख सुनार बताउँछन्।

‘धान चामल खरिद गरौँ त गुणस्तरीय छैन्। कम्पनीको मापदण्ड मिट गरेको छैन,’ प्रमुख सुनारले भने,‘उल्टै खरिद गर्दा फस्ने त्रासले अघि बढ्न सकिएन। यहाँको मार्सी चामल सेतो छ। धान पनि एकै प्रकारको भेटिएन।’

कम्पनीको मापदण्ड अनुसार धान चामल आएको खण्डमा खरिद गर्न सकिने अवस्था छ।

पछिल्लो समय ‘ब्लास्ट’ रोगको संक्रमणका कारण कालीमार्सी धानको उत्पादनमा गिरावट आएको छ। अहिले मार्सी जस्तै देखिने चन्दननाथ १ र चन्दननाथ ३ जातको धान पनि लगाउन थालिएको छ। तर यो चामलमा मार्सी चामलको जस्तो गुणस्तर पुग्दैन।

जुम्लाको चामल खरिदबारे केन्द्रसँग परामर्श लिदा धान पुरै रातो छैन। याद गर्नुस फस्नुहोला भनेपछि खरिद रोक्न बाध्य भएको कर्मचारीहरु बताउँछन। जोखिम मोलेर खरिद गर्न सक्ने अवस्था नरहेको कम्पनी लिमिटेड जुम्लाले जनाएको छ। कालीमार्सी धान मापदण्डभित्र पर्न सकेन। गुणस्तर पास नभएसम्म किन्न सकिने अवस्था छैन।

कम्पनीको टोली मार्सी खोज्न बजार देखि गाउँ सम्म पुगेको थियो। कमैले मार्सी लगाएको देखियो। उन्नत जातको धानमा किसानको आकर्षण बढेको देखियो। यो आर्थिक वर्ष खरिद गर्न सकिदैन जस्तो छ। कालीमार्सी धानको गुणस्तरका विषयमा कृषि विज्ञ संग पनि परामर्श गरिएको खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड जुम्लाले जनाएको छ।

जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटा जम्लामा कालीमार्सी धान उत्पादन क्षेत्र बर्षेनी बढिरहको बताउँछन। उनका अनुसार १३ सय हेक्टरमा कालीमार्सी धान लगाइन्छ । जुम्लाको सिँजा र तातोपानीमा बढि खेति भइरहेको छ। पछिल्लो समयमा मौसमले साथ दिएका कारण रोगको संक्रमण छैन।

‘यहाँ गुणस्तरीय मार्सी धान उत्पादन भइरहेको छ। उत्पादन संगै मुल्य पनि राम्रै पाइरहेको छ। अब कृषिका कार्यक्रम कालीमार्सी धान केन्द्रीत बनाउन पर्छ,’ प्रमुख देवकोटाले भने, ‘यहाँ ३३ सय मेट्रिकटन मार्सीधान उत्पादन भइरहेको छ। जुम्ली मार्सी प्रति किसान अग्रसर छन्। मार्सीधानको महत्व र मुल्यका विषयमा किसान आफैं सचेत छन। मार्सीधानमा कुनै मिसावट छैन।’

कालीमार्सी चामलको भात यहाँ बिरामीले खाने गर्छन। यो अडिलो, पोटिलो र पोषिलो हुने गरेको कृषि विज्ञ बताउँछन। स्रोत ः नागरिक

VIEWS: 661