अदुवाले मुल्य नपाउँदा किसानलाई समस्या

Thursday, February 11th, 2021 |

 

तनहुँ २९ माघ

अदुवाले सोचे जस्तो मूल्य नपाउँदा तनहुँका कृषकहरुको अदुवा बारीमै रहेको छ । बिक्री गरेर यतिबेला नगद गोजीमा राख्नु पर्ने समय सम्म ग्राहक नआएपछि कृषक चिन्तामा परेका छन् । यहाँ उत्पादित अदुवाको मूख्य बजार भारत भएको र व्यापारीहरु खरीद गर्न नआएकोले बिक्री गर्न समस्या परेको कृषकहरुले बताएका छन् ।

भिमाद नगरपालिका–४ का तुलबहादुर थापाले गतवर्ष भन्दा आधा सस्तोमा अदुवा बिक्री गर्नु पर्ने अवस्था आएकोले अदुवा बारीमा रहेको जानकारी दिनुभयो । ‘‘गत वर्ष धार्नीको दुई सय रुपियाँमा विक्री भएको थियो यस वर्ष एक सय देखि एक सय बिस रुपियाँमा बिक्री गर्नुपर्ने बाध्यता आइपरेको छ, भारतीय व्यापारिले खरीद नगरेकाले सही मूल्य नपाइएको कृषक थापाले बताए । बिक्री हुन्छ कि भन्ने आश रहेकोले सस्तोमा विक्री नगरेको थापा बताउँनुहुन्छ । पाँच रोपनी जमिनमा अदुवा लगाउने गरेको र गत वर्ष एक लाख ८० हजार रुपियाँको अदुवा विक्री गरेको थापाले बताए ।

भिमादकै कृषक भुवन आले सस्तोमा बेच्नु पर्ने अवस्था आएकोले अदुवा बिक्री नगरेको जानकारी दिनुभयो । ‘‘भारत निकासीमा बन्द र स्थानीय बजारमा भाउ नहुँदा अहिलेसम्म ९० प्रतिशत कृषकहरुले बारीमाा लगाएको अदुवा खनेकै छैनन्’’ कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले भन्नुभयो । न्यून सङ्ख्या कृषकहरुले आफनो घर व्यवहार मिलाउन अदुवा खनेर स्थानीय बजारमा सस्तो दरमा विक्री गरेको तिवारीले बताउनुभयो । भारतमा कम उत्पादन भएको बेला नेपाली अदुवाको माग धेरै हुने र भारतमा उत्पादन बढेको बेला यहाँको विक्री नहुने समस्या रहेको तिवारीले जानकारी दिनुभयो ।

जिल्लामा आर्थिक वर्ष २०७५र७६ मा ५१० हेक्टर जमिनमा अदुवा खेती भएकोमा सात हजार ३८० मेट्रिक टन उत्पादन भएको केन्द्रले जनाएको छ । आर्थिक वर्ष २०७६र०७७ मा ५३० हेक्टर जमिनमा खेती गरेकोमा ७ हजार ७ सय ४९ मेट्रिक टन उत्पादन भएको थियो । तनहुँको नगरपालिकाहरु भिमाद र शुक्लागण्डकी, देवघाट, ऋषिङ र बन्दीपुर गाउँपालिकामा व्यवसायिक रुपमा अदुवा खेती हुँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । भिमाद नगरपालिका ४ को पापाडी र पिरुङ ढोढुङ्गे अदुवाको पकेट क्षेत्रको रुपमा रहेको छ ।

आकाशे पानीको भरमा पनि खेती गरेर आम्दानी लिन सकिने भएकोले मूल्य श्रङ्खला सम्बन्धमा विस्तृत अध्ययन हुनु पर्ने केन्द्र प्रमुख तिवारीले बताउनुभयो । भारतको मात्रै भर पर्दा कृषकलाई विक्रीको समस्या रहेको छ , सङ्कलन, प्रशोधन, भण्डारण र बिक्री सम्बन्धि अध्ययन गरी समाधान गर्न जरुरी देखिएको छ’’ तिवारीले भन्नुभयो । पहाडी क्षेत्रका कृषकहरुका लागि अदुवा मुख्य नगदे बाली हो । अदुवाको फागुन र चैत्र महिनामा लगाउने गरिन्छ । ९ महिनामा तयार हुने अदुवा पुष र माघ महिनामा खन्ने कार्य हुन्छ । तिवारीका अनुसार गत वर्ष भारतमा माग धेरै भएकोले मूल्य राम्रो पाएको र ५० करोड रुपियाँको अदुवा विक्री भएको थियो । पहाडी क्षेत्रको मुख्य बालीको रुपमा रहेको अदुवा खेतीको बजारीकरणको सहज र उपयुक्त वातावरण बनाई यस खेतीको उत्पादनमा बृद्धिका लागि बजारको सुनिश्चिता, प्राविधिक प्ररामर्श, तालिम, गोष्ठी र उन्नत विउविजन उपलब्ध गराउन सके अदुवाबाट राम्रो आम्दानी गर्न सकिने अदुवा कृषकहरुको भनाई छ ।

पाखो बारीमा हुने घैया धान, मकै, कोदो खेती भन्दा अदुवाबाट आम्दानी धेरै लिन सकिने भएकोले कृषकको आर्कषण बढे पनि भारतमा माग नभएको समयमा समस्या पर्ने गरेकोले प्रशोधन उद्योग खोलेर औषधी, सुठो, जुस विक्री गर्नु पर्ने अदुवाका व्यापारी मोहन थापा मगरले बताउनुभयो । विशेषगरी वर्षेनि ठूलो मात्रामा भारत निर्यात हुने अदुवा यस वर्ष निकासी नहुँदा समस्या देखिएको उहाँले जानकारी दिनुभयो । यस्ता समस्या आगामी वर्ष पनि पर्न सक्ने भएकोल स्वदेशमै कसरी खपत गर्ने भन्ने बारेमा सरकारले ध्यान दिनुपर्ने मगर बताउनुहुन्छ । स्रोत ःरासस

VIEWS: 761