हिउँदे खडेरीबाट किसान चिन्तित

Sunday, January 31st, 2021 |

 

पर्वत १८ माघ

चार महिना लामो समयदेखिको खडेरीका कारण पर्वतमा हिउँदे खेती प्रभावित बनेको छ । गत असोजको दोस्रो सातादेखि वर्षा नभएपछि हिउँदे बाली लगाएका कृषक चिन्तित बनेका छन् । पर्वतका अधिकांश कृषक हिउँदे वर्षात् नहुँदा चिन्तित बनेका छन् ।

आकाशे पानीको भरमा हिउँदे खेती गर्दै आएका कृषकको गहुँ, जौँ, फापर र तोरीजस्ता बालीनाली प्रभावित भएका छन् भने वर्षा नभएकै कारण आलु तथा अन्य तरकारी खेतीमा समेत डढेलो तथा विभिन्न प्रजातिका किराको प्रकोप देखिन थालेको छ ।

गत असोजको अन्तिम सातादेखि नै वर्षात् हुनसकेको छैन । पानी नपरेपछि उर्बरा भूमि बाँझै छोड्नुपर्ने अवस्था आएको पर्वतको कुश्मा नगरपालिका–१ पाङ्गकी लीलादेवी पौडेलले बताइन ।

पर्वतको कूल हिउँदे खेतीयोग्य जमिनमध्ये ३७ प्रतिशत मात्रै सिञ्चित क्षेत्र रहेको छ भने अन्य ६३ प्रतिशत खेतीयोग्य जमिन आकाशे पानीकै भरमा रहेको छ ।

अहिले हिउँदमा वर्षा नहुँदा कृषक मर्कामा परेको जिल्ला कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख मनिता थापा जानकारी दिइन ।

गत वर्षको तुलनामा यस वर्ष हिउँदे बाली उत्पादनमा २० प्रतिशतभन्दा बढीले ह्रास आउने देखिएको उनले बताइन ।

विशेषगरी पर्वतको कुश्मा नगरपालिका, फलेवास नगरपालिका, जलजला गाउँपालिका, महाशिला र विहादी गाउँपालिकामा यसको प्रभाव अधिक देखिएको छ ।

यस क्षेत्रमा धान खेती थन्क्याएसँगै गहुँ, आलु, तोरी, फापरलगायतका हिउँदे बाली लगाउने गरिन्छ ।

पैञ्यु गाउँपालिका र मोदी गाउँपालिका केही क्षेत्र भने सिँचाइ सुविधा भएका कारण हिउँदे बाली सोचेअनुरुप उत्पादन हुने लक्ष्य लिइएको छ । स्रोत ःरासस

VIEWS: 622