एक लाख जडिबुटिको विरुवा कृषकलाई

Friday, January 22nd, 2021 |

 

भोजपुर ९ माघ

डाँडापाखालाई हरियालीसँगै आयमूलक बनाउनका लागि एक लाख जडिबुटीको बिरुवा वितरण गरिने भएको छ । डिभिजन वन कार्यालय भोजपुरले कृषकलाई आयआर्जनमा सहयोग पुर्याउने उद्देश्यले नर्सरी स्थापना गरेर बिरुवा वितरण गर्न लागेको हो ।

कार्यालयले षडानन्द नगरपालिका–१३ भिरथाप्लामा दुई हजार ४ सय ५० मिटर उचाइमा करिब दुई रोपनी क्षेत्रफलमा विभिन्न जातका जडिबुटीको बिरुवा उत्पादन गरेर वितरण गर्ने तयारी गरेको हो । यहाँ उत्पादन भएका बिरुवा सामुदायिक वनका नाङ्गापाखा तथा स्थानीयवासीका निजी जमीनमा समेत विस्तार गर्ने योजना रहेको डिभिजन वन कार्यालय भोजपुरका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिए । प्रमुख घिमिरेका अनुसार यस जिल्लाको माथिल्लो भेगमा जडिबुटीको सम्भावना धेरै राम्रो छ, स्थानीयवासीले पनि कतिपय ठाउँमा आफैँ तथा कार्यालयको सहयोगमा व्यावसायिक खेती गरिरहेका छन्, यसलाई अझ विस्तार गर्नका लागि उच्च भागमा हुने जडीबुटीको बिरुवा उत्पादन गरेर वितरण गर्ने योजनामा छौँ ।”

कच्चापदार्थको अभावमा पटपटेको तेल निकाल्ने उद्योगहरु बन्द हुने अवस्थामा पुगेकाले यसको खेतीमासमेत जोड दिएको कार्यालयको भनाइ छ । ती उद्योगलाई पुग्ने कच्चापदार्थ पुग्ने गरी पटपटेको खेतीको विस्तारमा लाग्नुपर्ने आवश्यकता देखिएको प्रमुख घिमिरेले जानकारी दिए । “कच्चापदार्थको अभावमा वन पैदावरमा आधारित उद्योगहरु धराशयी बन्दै गएको जानकारी आएको छ, विशेष गरेर यहाँ पटपटेको तेल निकाल्नका लागि लाखौँ लगानी गरेर स्थापना भएका उद्योगहरु बन्द हुने अवस्थामा छन्, यी उद्योगलाई कच्चापदार्थको कमी हुन नदिनका लागि पटपटेको खेतीलाई विस्तार गर्ने कार्यालयको लक्ष्य छ”, प्रमुख घिमिरेले भने ।

कार्यालयको पहलमा विभिन्न ठाउँलाई पकेट क्षेत्रका रुपमा विकास गरेर जडिबुटीको विस्तार गरिएको छ । प्रदेश हरित अभियान कार्यक्रमअन्तर्गत नर्सरी स्थापना गरेर लोडसल्ला, पाखनवेत, पटपटेलगायत एक लाख बिरुवा उत्पादन गरेर किसानलाई वितरणको तयारी गरिएको छ । कार्यालयले रु २० लाख लागतमा नर्सरीको स्थापना गरेको हो । यसलाई थप विस्तार तथा स्तरोन्नति गर्ने लक्ष्य रहेको कार्यालयको भनाइ छ । खेती विस्तारले कच्चापदार्थको अभावमा बन्द हुने अवस्थामा पुगेका उद्योगलाई सहजता हुने स्थानीय जडिबुटी किसान दाजुङ्बु शेर्पाले बताए ।

किसान शेर्पाले भने, “हाम्रो भेगका स्थानीयवासीले जडिबुटीमा आधारित व्यवसाय तथा उद्योग स्थापना गरेर मनग्य आम्दानी गरिरहेका छन्, तर कच्चापदार्थको अभावका कारण कतिपय उद्योग बन्द भएका छन् । कार्यालयले थालेको यो अभियानले त्यस्ता उद्योगलाई सहयोग पुग्ने देखिन्छ ।”

मूल्यमा गिरावट आएपछि पछिल्लो समयमा जडिबुटीको उत्पादनमा पनि केही कमी आएको स्थानीय जडीबुटी कृषक बालकृष्ण राईले बताए । मूल्यमा घटबढ हुँदा उत्पादनमा पनि असर परेको उनको भनाइ छ । “विगतका वर्षको तुलनामा उत्पादनमा पनि कमी हुँदै गएको छ, गत वर्ष जिल्लाबाट दुई हजार मन चिराइतो बाहिर गएको थियो तर मूल्यमा गिराबट आएपछि कृषक निरुत्साहित भएका छन्, यस वर्ष करिब एक हजार ५ सय क्वीन्टल हाराहारीमा मात्र उत्पादन भएको छ, सतुवाको पनि उत्पादन त्यस्तै छ, वर्षेनि घट्ने क्रममा छ, यस वर्ष त्यही १० क्वीन्टल जति गाना र दुई लाख जति बिरुवाबाहिर निकासी भएको तथ्याङ्क छ”, व्यवसायी राईले भरे ।

भोजपुरको माथिल्लो भेगमा चिराइतो, सतुवा, सेतक चिनी, शक्ति गुम्बा, पदमचाल, वन मूला, वन लसुन, टिमुर, किम्बु, भुत्केस, बुढो ओखती, लोडसल्ला, विखुम्बालगायत जडिबुटीको खेती गर्दै आएका छन् । यहाँको माथिल्लो भेग तिम्मा, किमालुङ, हेलौछा, मझौले, सुन्तलेलगायतका ठाउँमा यीबाहेकका अन्य धेरै प्रजातिका जडीबुटी पाउने भए पनि पहिचान गर्न समस्या हुने गरेकाले सरकारले यसको खोजी गर्नुपर्ने व्यवसायीको सुझाव छ ।

पकेट क्षेत्र घोषणा भएपछि यहाँ विभिन्न जातका बहुमूल्य जडिबुटीको उत्पादन भए पनि बजार मूल्य थाहा नपाउँदा उनीहरु समस्यामा परेका हुन् । जडीबुटीको बजार मूल्यको विषयमा ज्ञान नहुँदा विचौलियाले त्यसको लाभ लिने गरेको कृषकको भनाइ छ । सरकारले जडीबुटीको मूल्य तोकिदिएमा बिक्री वितरणमा सहजता हुने कृषक बताउँछन् ।

स्थानीयवासी जडीबुटी व्यवसायी मान बहादुर राईले भने, “हामीले धेरै बहुमूल्य जडीबुटीको खेती गरिरहेका छौँ, उत्पादन पनि राम्रो छ तर बजार मूल्यको ज्ञान नहुँदा समस्या छ, मेरो बुझाइमा हामी कृषकले बिक्री गरेको वस्तुबाट ३२ प्रतिशतमात्र लाभ पाउँछौँ भने ६८ प्रतिशत लाभ ठूला व्यापारीले लिने गरेको अवस्था छ, यसको निराकरण सरकारबाट हुन आवश्यक छ । स्रोत ः रासस

VIEWS: 577