उत्पादनको आधारमा दु्धमा अनुदान दिइने

Thursday, January 21st, 2021 |

 

काठमाडाँै ८ माघ

दुध उत्पादनको आधारमा बागलुङका किसानले सहकारी र समूहमा आवद्ध भएर दूधको उत्पादन तथा बजारीकरण गरिरहेका छन् । दूधको उत्पादन बढाउने र किसानलाई थप व्यावसायिक र अत्मानिर्भर बनाउन भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्र बागलुङले दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा अनुदान रकम प्रदान गर्न थालेको छ ।

केन्द्रले सहकारीमार्फत दुग्ध उत्पादक किसानलाई प्रतिलिटर दुई रुपैंयाँ ५० पैसाको दरले अनुदान उपलब्ध गराउने भएको होे । सार्वजनिक सूचनामार्फत किसानका समूह वा सहकारीमार्फत केन्द्रले प्रस्ताव आह्वान गरेको थियो । अहिलेसम्म जिल्लाभर आठवटा सहकारीले अनुदानका लागि प्रस्ताव पेश गरेका छन् । गण्डकी प्रदेश सरकारको उत्पादनको आधारमा अनुदान दिने नीतिअनुरुप यो वर्ष किसानले ४० लाख रुपैयाँ पाउँदै छन् । आठ सहकारीमा आवद्ध ८ सय किसानले अनुदान पाउने पशु स्वास्थ्य अधिकृत केशव पौडेलले बताए ।

अनुदानलाई किसानसम्म पु¥याउन केन्द्रले दूध उत्पादन र बजारीकरणको मापदण्ड बनाएको छ । ‘गत आर्थिक वर्षमा तीन वटा सहकारीले मात्रै मापदण्ड पूरा गरेर अनुदान पाएँ’, पौडेलले भने, ‘यो वर्ष किसान र सहकारीमा उत्साह देखिन्छ, सबैले मापदण्ड पूरा गरेर प्रस्ताव पेश गरेका छन् ।’ केन्द्रले दिने अनुदान पाउन सहकारीले एक महिनामा कम्तीमा २०० लिटर दूध उत्पादन र बिक्री वितरण गरेको हुनुपर्नेछ ।

हरेक महिना सहकारीमार्फत बिक्री गरेको दूधको परिमाणअनुसार अनुदान रकम प्रदान गरिने पौडेलले बताए । गत आर्थिक वर्षमा कालीगण्डकी दुग्ध उत्पादक सहकारी, नमूना दुग्ध उत्पादक सहकारी र बागलुङ पशु स्रोत विकास फार्मले अनुदान पाएका थिए । ‘अहिले पेश भएका सबै प्रस्तावले अनुदान पाउछन्, बजेट पर्याप्त भएकाले समस्या हुँदैन्’, उहाँले भने, ‘अझै धेरै किसान मापदण्ड बाहिर हुनुहुन्छ, उहाँहरुसमेत आउने क्रम जारी छ ।’ दुग्ध उत्पादक सहकारीलाई प्रदान गरिएको अनुदान रकम सहकारीमार्फत किसानले प्राप्त गर्नेछन् ।

उत्पादनको आधारमा अनुदान दिँदा साना किसान लाभान्वित हुने भएकोले उत्पादनको आधारमा अनुदान रकम दिने नीति लिएको केन्द्रले जनाएको छ । किसानले पाउने अनुदान रकम चौमासिक भुक्तानी हुने केन्द्रले जनाएको छ । उत्पादन र बिक्री वितरणको तथ्याङ्क सहकारीले राख्नेछन् । सहकारीले पठाएको तथ्याङ्कको आधारमा केन्द्रले सिधैँ खातामा रकम जम्मा गरिदिन्छ । ‘बजार मूल्य कम हुँदासमेत किसानलाई अनुदानले उत्साह थप्छ’, कालीगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाका सचिव रुद्रनाथ शर्माले भने, ‘सहकारीबाट पाउने बोनस र अनुदानले किसान उत्साहित छौं ।’

बागलुङमा दैनिक दुई हजार लिटरभन्दा धेरै दूध उत्पादन हुन्छ । जिल्लाभित्रका स–साना बजारका आलावा यहाँको दूध छिमेकी जिल्लामा निर्यात हुन्छ । जिल्लाको जैमिनी, बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाका अधिकांश किसान दूध उत्पादन तथा बजारीकरणसँग जोडिएका छन् ।

माटोमा अम्लीयपन फेला स्
गहुँको राम्रो उत्पादन हुने ताराखोला क्षेत्रको माटोमा अम्लीयपन भेटिएको छ । धौलागिरि बहुमुखी क्याम्पसको विज्ञान सङ्काय स्नातक तह चौथो वर्षमा अध्ययनरत विद्यार्थीले गरेको अनुसन्धानमा ताराखोला गाउँपालिका–१ माझखर्क क्षेत्रको माटोमा अम्लीयपन बढी फेला परेको हो । माटोमा भएको अम्लीयपनले उत्पादकत्व घटाउछ ।

माझखर्कको खेतबारीको माटोमा चाहिने भन्दा बढी अम्लीयपन फेला परेको अनुसन्धानमा संलग्न विद्यार्थी श्याम गैरेले बताए । गैरेले गहुँखेतीको माटोमा चाहिने खाद्यपदार्थ नाइट्रोजन, फसफोरस, पोटासियम, ब्रोन, जिन, विद्युतीय धारको नमूना परीक्षण गर्नुभएको थियो । पिएच स्केलमा माटोको अम्लीय र क्षारिय गुण परीक्षण गर्दा अम्लीयपन ६।४ प्रमाणित भएको थियो ।

‘प्रोजेक्ट वर्क’को रुपमा गैरेले नौ महिना लगाएर माझखर्क क्षेत्रको २० स्थानको माटो परीक्षण गरेका थिए । परीक्षण भएको माटोमा अर्गानिक तत्व बढी पहिचान भएको छ । उक्त तत्वले बिरुवालाई ठूलो बनाउन सहयोग गर्छ । गैरेका अनुसार उक्त माटोमा जिन र ब्रोन तत्वको मात्र कमी हुँदा बोट ठूलो भए पनि दाना सानो हुने, पहेँलो रोग लाग्नुका साथै फल कुहिने वा झर्न समस्या हुने गर्दछ ।

उक्त क्षेत्रको खेतीयोग्य जमीनमा कृषि चुन र जैविक मलका प्रयोगलाई बढाउनुपर्ने पृथ्वीनारायण क्याम्पस पोखरा रसायन शास्त्र विभागका प्रमुख प्राध्यापक डा एडी मिश्रको सुझाव छ । ‘माटोको नमूना परीक्षणले अम्लीयपनको मात्र बढी देखिन्छ’, उनले भने,‘व्यावसायिक उत्पादनका लागि माटो सुधार गर्नुपर्ने सुझाव छ ।’ स्थानीय तहको समन्वयमा मोटो, बोटबिरुवा, खनिज, ढुङ्गा, पहाडी चट्टान, दूध, तेल, पानीको विषयमा पनि अनुसन्धान गर्न उनले आग्रह गर्नुभयो ।

धौलागिरि बहुमुखी क्याम्पसले विज्ञान विषयमा स्नातक तह कक्ष सञ्चालन गरेपछि पहिलो पटक ‘रिसर्च बेस’ अध्ययन भएको क्याम्पस प्रमुख प्राध्यापक डा रामप्रसाद उपाध्याले बताए । ‘सीमित स्रोत साधनकाबीच पहिलो पटक सैद्धान्तिक ज्ञानलाई व्यावहारिक बनाउने कोशिस भएको छ’ उनले भने,‘स्थानीय तहले सहयोग गरेको खण्डमा अन्य क्षेत्रमा पनि अनुसन्धान गर्न सकिन्छ ।’ स्रोत ः रासस

VIEWS: 182