अर्गानिक सुन्तला भण्डारणका लागि स्टोर निर्माण

Friday, January 15th, 2021 |

 

जाजरकोट २ माघ

जारकोटको कुशे गाउँपालिका–५ दाम्दामा अर्गानिक सुन्तला भण्डारका लागि (सेलार स्टोर) निर्माण हुने भएको छ। उचित भण्डारण अभावमा उत्पादन भएको सुन्तला खेर जानबाट रोक्नका लागि भवन निर्माण गर्न लागिएको हो।

कृषकले बर्सेनि उत्पादन गरेको सुन्तला कुहिएर खेर जान थालेपछि नोक्सान हुन नदिन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जाजरकोटको लगानीमा स्टोर बनाइएको हो। सुविधासम्पन्न भण्डारण भवन निर्माण भएपछि कृषकलाई सुन्तला भण्डारण गर्न सहज भएको सुन्तला कृषक शक्तिबहादुर वलीले बताए। सुन्तला टिपेर लामो समयसम्म सुरक्षित गर्न सकिने भएकाले सेलारमार्फत स्टोर गरी कृषकको अर्थोपार्जनमा टेवा पुग्ने परियोजनाले विश्वास लिएको कार्यालयले जनाएको छ।

परियोजनाको रु १२ लाख र प्रगतिशील युवा कृषि सहकारी संस्थाको रु १२ लाख लागतमा सेलार स्टोर निर्माण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, जाजरकोटका प्रमुख पिताम्बर बस्नेतले जानकारी दिए। सेलार स्टोरले ग्रामीण क्षेत्रमा उत्पादित सुन्तलालाई उचित भण्डारण गर्दै त्यसको गुणस्तरलाई कायम राख्न मद्दत पुग्ने बस्नेतको भनाइ छ। उचित भण्डारणको अभावमा यस क्षेत्रका कृषकले आफ्नो उत्पादन कम मूल्यमा बिक्री गर्दै आएका थिए।

अब गाउँमै सेलार स्टोर निर्माण भएपछि सुन्तलाको माग बढेका बेला कृषकले बढी मूल्यमा सजिलै बिक्री गर्न सहज हुने प्रमुख बस्नेतको भनाइ छ। कृषिजन्य वस्तुको भण्डारण सेलार स्टोर निर्माणले यस क्षेत्रका कृषकको पुरानो मागलाई सम्बोधन गर्न महत्वपूर्ण भूमिका खेलेको गाउँपालिकाका सुन्तला व्यवसायीले बताएका छन्। गाउँमै सेलार स्टोर निर्माण भएपछि कुशेका सुन्तला कृषकमा नयाँ उत्साह पलाएको छ।

भवनभित्र सुन्तला भण्डारण गर्न सहजताका लागि काठका र्याक निर्माण गरिएका छन्। भवनमा कृषकको मात्र सुन्तला भण्डारण गरिनेछ। कुशेमा सुन्तला उत्पादन क्षेत्र विस्तारसँगै वृद्धिमा समेत टेवा पुग्ने देखिएको छ। यसभन्दा अघि साना अर्थात खेर जाने सुन्तलाको जुस निकाल्ने कार्यसमेत शुरु भइसकेको छ। आउँदो आर्थिक वर्षमा सुन्तलाको पकेट रहेका सबै पालिकामा सुन्तलाको जुस बनाउने काम शुरु गर्न लागेको परियोजनाको भनाइ छ। स्रोत ःरासस

VIEWS: 728