गाईभैँसीमा भँडार फर्कने समस्या बढ्दो

Monday, December 28th, 2020 |

 

कञ्चनपुर १३ पौष

कञ्चनपुर जिल्लाका गाईभैँसीमा भँडार (भ्रुण रहने स्थान) फर्कने समस्या बढ्दै जान थालेको छ । गाईभैँसी ब्याउनुभन्दा अगाडि, ब्याउने बेला र ब्याएको छ महिनासम्म भँडार फर्कने समस्या भई पशु सेवा केन्द्रमा पुग्ने पशुपालकको सङ्ख्या बढ्दोरुपमा रहेको छ । भँडार फर्कने समस्या विगतको तुलनामा ब्याउने गाईभैँसीमा १० देखि १५ प्रतिशतसम्म बढेको देखिएको हो ।

विगतमा यो समस्या एक प्रतिशत मात्रै रहेको पशु विज्ञको भनाइ छ । पाँच वर्षयता देखि यो समस्याले विकराल रुप लिँदै आएको छ । गाईभैँसी ब्याउनुअघि र पछिको समयमा मात्रै देखिँदै आएको भँडार खस्ने समस्या पशुले गर्भधारण गरेको तीन महिनापछिको समय र ब्याएको छ महिनापछि देखिन थालेपछि पशुपालक निकै चिन्तित हुन थालेका छन् । “ब्याएको तीन महिनापछि मात्रै भैँसीमा भँडार फर्कने समस्या देखाप¥यो”, झलारीका पशुपालक अङ्कबहादुर ऐरले भन्नुभयो, “भैँसीमा कहिल्यै यस्तो समस्या देखिएको थिएन । पहिलो पटक देखियो । पशु प्राविधिकको सहयोगमा भँडारलाई पुरानै ठाउमा फर्कायौँ ।”

भँडार फर्कने समस्या भएका दुधालु गाईभैँसीलाई पशुपालकले भारतीय व्यापारीलाई सस्तोमै बेच्नेसमेत गरेका छन् । यसबाट पशुपालकले निकै घाटा व्यहोर्नु परेको छ । पछिल्लो समय रासायनिक मल र विषादीको अत्यधिक प्रयोग गरेको घाँस ब्याउने र ब्याइसकेका गाईभैँसीलाई खुवाउन थालिएपछि यसले भँडार फर्काउने समस्यालाई बढाएको शुक्लाफाँटा नगरपालिकाको पशु शाखाका पशु विकास अधिकृत नारायणप्रसाद भट्टले बताउनुभयो । “पहिले नगन्यमात्रामा मात्रै यस्तो समस्या देखिने गरेको थियो”, उहाँले भन्नुभयो, “हाल हप्तामा एक जना पशुपालक यो समस्या लिएर पशु शाखामा उपचारका लागि पुग्ने गरेका छन् ।” उहाँले भन्नुभयो । पोटासियम पदार्थ बढी भएको धानको ब्राण्डलाई चारोका रुपमा खुवाउँदासमेत यो समस्या निम्तिएको उहाँको भनाइ छ ।

इष्ट्रोजन पदार्थ बढी भएको घाँसपात खुवाएमा ढुसीपरेको दाना खुवाएमा, पाठेघरमा असजिलो भई पशु बढी कनेमा, पशुको पछिल्लो भाग ओरालो भएमा, बाच्छाबाच्छी ठूलो भएमा, पाठेघरभित्रको बसाई नमिलेमा, पाठेघरको मुख पूर्णरुपमा नखुलेमा र उमेर नपुग्दै पशु ब्याउने भएमा भँडार खस्ने समस्या देखिने गरेको जनाइएको छ । आन्तरिक परिजीवी, कुपोषण, कब्जियत र रक्तअल्पताका कारणलेसमेत भँडार खस्ने समस्या देखिने गरेको भेटेनरी अधिकृत रामप्रसाद भट्टले जानकारी दिनुभयो । “पहिला यो समस्या फाट्टफुट्टरुपमा मात्रै देखिने गरेको थियो”, उहाँले भन्नुभयो, हाल व्यावसायिकरुपमा पशुपालन हुन थालेपछि बढी देखिन थालेको छ ।”

यस्तो लक्षण देखाउने पशुलाई बस्ने ठाँउ अगाडिकोभन्दा पछाडिको भाग अग्लो बनाउने, हरियो घाँस ओइलाएपछि मात्रै दिने, खानेकुरा दिँदा एकैपटक टन्न गरेर नदिने गर्नुपर्दछ । भँडार फर्कने समस्या देखिन थालेपछि पशु प्राविधिकसँग सल्लाह लिने वा पशु प्राविधिक बोलाएर समस्या समाधानका लागि प्रयत्न गर्नुपर्ने हुन्छ । सालको राम्रोसँग व्यवस्थापन गर्न नसक्दासमेत कहिलेकाहीँ भँडार फर्कने समस्या हुने भएकाले होसियारीपूर्वक साल निकाल्नु पर्दछ । पशुले साल आफैँ नझार्दा पशुपालकले आफैं बलगरी साल तान्दासमेत भण्डारण फर्कने समस्या हुने गरेको पाइएको पशु प्राविधिकको भनाइ छ ।

थुनिलोको समस्यासमेत बढ्दो स्

ब्याएका र ब्याउने गाईभैँसीमा थुनिलोको समस्यासमेत बढ्दोरुपमा रहेको पाइएको छ । गोठ व्यवस्थापनको कार्य राम्ररी नगरिँदा, गोठको फोहर सफा नगरिँदा र ब्याक्टेरियाको सङ्क्रमणका कारण थुनिलोको समस्या बढ्दै गएको हो । ब्याएका अधिकांश पशुमा थुनिलो रोग देखिने गरेको पशु विकास अधिकृत नारायणदत्त भट्टले जानकारी दिनुभयो ।

नगरपालिकाको पशु शाखामा ब्याएको पशुमा थुनिलोको समस्या ल्याएर आउने किसानको सङ्ख्या दैनिक छदेखि १० जनासम्म रहने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार थुनिलो भएमा पशुको थुन छाम्दा कडा, रातो हुने, थुन छुँदा पशुले पीडा महसुस गर्ने र दूध निकै कम आउने गर्दछ । “समयमै उपचार नगरे थुनबाट दूध नआउने पनि हुन सक्दछ”, उहाँले भन्नुभयो, “कुनै पशुमा थुन झर्ने समस्यासमेत देखिएको छ ।” कल्चौँडो सुनिएको ९एक वा धेरै थुन सुनिएको० लाई थुनिलो भन्ने गरिएको छ । थुनिलो भएका गाईभैंसी लगातले दूध कम दिने भएकाले पशुपालकले बढी हानि व्यहोर्नुपर्ने हुन्छ ।

थुनिलो हुनबाट ब्याएका गाईभैँसीलाई जोगाउनका लागि गोठदेखि पशुको थुनसम्म सरसफाइ गर्नुपर्ने पशु प्राविधकको भनाइ छ । थुनिलो भइहालेका खण्डमा पशु प्राविधिकको सल्लाहमा एन्टीबायोटिक औषधि खुवाउनुपर्छ । थुनिलो भएको पशुलाई अरु पशुबाट अलग्गै राख्नु पर्दछ । दूध दुहुँनुअघि कल्चौँडोलाई मनतातो पानीले धोएर सफा कपडाले पुछेपछि दुहुँन सुझाव दिइएको छ । स्रोत ः रासस

VIEWS: 697