कर्णालीमा यसवर्ष धानको उत्पादन ५ प्रतिशले बढ्यो

Thursday, November 26th, 2020 |

 

सुर्खेत ११ मङसिर

कर्णाली प्रदेशमा यो वर्ष धानको उत्पादन बढेको छ । गत वर्षको तुलनामा साढे पाँच प्रतिशतले धानको उत्पादन बढेको हो । यस वर्ष कर्णालीमा १ लाख २० हजार ९ सय ७१ मेट्रिकटन धान उत्पादन भएको छ । यो अघिल्लो वर्षको तुलनामा झन्डै साढे पाँच प्रतिशतले बढी हो ।
समयमै मौसम सुरु भएका कारण धानको उत्पादन बढेको कृषि विकास निर्देशनालय सुर्खेतले जनाएको छ । यो वर्ष वर्षात् धेरै भएकोले किसानले समयमै धान रोप्न पाएर उत्पादन बढेको निर्देशनालयका निर्देशक चित्रबहादुर रोकाएले बताए । उनका अनुसार किसानको मेहनत र मौसम दुवैले साथ दिएकाले उत्पादन बढेको हो ।

यो वर्ष कर्णालीमा १० देखि २० प्रतिशतसम्म धानको उत्पादन बढ्ने अपेक्षा गरिएको थियो । तर, रासायनिक मलको अभाव र सलह कीराले धानको बीउमा क्षति पु¥याउँदा अपेक्षाअनुसार उत्पादन बढ्न नसकेको निर्देशनालयको भनाइ छ । कर्णालीका सुर्खेत, दैलेख, जाजरकोट, सल्यान र रुकुम पश्चिमका केही क्षेत्रमा रासायनिक मल प्रयोग गरिन्छ । धान रोप्ने र गोडमेल गर्ने समयमा रासायनिक मल नपाउँदा अपेक्षा गरेअनुसार धान उत्पादन नभएको निर्देशनालयले जनाएको छ ।

कृषि विकास निर्देशनालयका अनुसार, सुर्खेतमा ४२ हजार ८ सय ३ मेट्रिकटन धान उत्पादन भएको छ । तथ्यांकअनुसार रुकुम पश्चिममा ८ हजार ९ सय ७६ मेट्रिकटन, सल्यानमा २८ हजार ९ सय, दैलेखमा ४ हजार ४ सय ४९ र जाजरकोटमा १० हजार ६ सय ६५ मेट्रिकटन धान उत्पादन भएको छ । त्यस्तै, डोल्पामा ६ सय ५, जुम्लामा २ हजार ९ सय, कालीकोटमा ९ हजार ४ सय ८९, मुगुमा ७ हजार ५ सय ७६ र हुम्लामा ७ सय ९० मेट्रिकटन धान उत्पादन भएको छ ।

उत्पादनमा केही सुधार भए पनि कर्णालीका ६ जिल्लाले भने खाद्य संस्थानकै चामलमा निर्भर हुनुपर्ने देखिएको छ । यो वर्ष पनि जाजरकोट, डोल्पा, हुम्ला, मुगु, कालीकोट र जुम्लावासी खाद्य संस्थानकै चामलमा निर्भर हुनुपर्ने भएको हो । सिँचाइको अभाव र हिमाली जिल्ला भएका कारण ६ जिल्लामा धान उत्पादन न्यून हुन्छ । ती जिल्लामा बर्सेनि खाद्य संस्थानले सहुलियतको चामल आपूर्ति गर्दै आएको छ । कर्णालीमा वार्षिक २३ हजार ४ सय २० मेट्रिकटन खाद्यान्न अपुग हुन्छ । निर्देशनालयको तथ्यांकअनुसार प्रदेशको कुल खाद्यान्न आवश्यकता ३ लाख ५० हजार ९ सय ९८ मध्ये वार्षिक ३ लाख २७ हजार ५ सय ७८ मेट्रिकटन मात्र उत्पादन हुन्छ । स्रोत ः अन्नपूर्ण पोष्ट

VIEWS: 864