हाइब्रिड बीउ उत्पादनमा जुट्दै दाजुभाई

Friday, October 9th, 2020 |

 

चितवन २३ असोज

भरतपुर महानगरपालिका वडा नम्बर १३ का विमल सुवेदी र तीर्थ सुवेदी मकै र धानको हाइब्रिड जातको बिउ उत्पादनमा जुटेका छन् ।

नेपालमा भारतलगायत तेस्रो मुलुकबाट हाइब्रिड जातका धान र मकैको बिउ खरिद गर्नुपर्ने बाध्यता कम गर्ने उद्देश्यले नयाँ प्रयासको थालनी गरेको सुवेदी दाजुभाई बताउँछन् ।

उनीहरूले आफ्नो १ बिघा र भाडामा साढे ५ बिघासहित साढे ६ बिघा जमिनमा व्यावसायिक रूपमा बिउ उत्पादन गर्दै छन् ।

अहिले हाइब्रिड हर्दिनाथ र स्थानीय चैते ५ को धानको बिउ तयार हुँदै छ । अधिवक्तासमेत रहेका ३२ वर्षका विमल सुवेदीले भने, ‘यो सिजनमा हामीले साढे ३ बिघामा हर्दिनाथको बिउ उत्पादन गर्दै छौँ भने बाँकी जमिनमा चैते ५ को बिउ उत्पादन हुँदै छ । दुवै गरेर ८० क्विन्टल बिउ बिक्री गर्ने उनिहरुको लक्ष्य छ ।

उनका दाइ तीर्थ सुवेदी राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरका प्राविधिकसमेत हुन् । कार्यालय समयबाहेकको अन्य समयमा उनी भाइकै सहयोगीका रूपमा बारीमा काम गर्दै आएका छन् ।

उनीहरूले हाइब्रिड जातको धान र मकैको बिउ उत्पादन गर्न करिब १० लाख रुपैयाँ लगानी गरेका छन् । हाइब्रिड जातको बिउ उत्पादन गर्न नेपाल कृषि अनुसन्धान परिषद्ले सूचीकृत गरेको हुनुपर्छ । तीर्थले भने, ‘भाइ अधिवक्ता हो, मेरो पनि जागिर राम्रै छ । समाजमा पढेको मान्छेले माटोमा काम गरेको राम्रो नमान्ने गलत सोचलाई कम्जोर बनाउन पनि आफूहरु यस क्षेत्रमा लागेको उनिहरु बताउँछन् ।

उनीहरूले हाइब्रिड मकैको बिउ उत्पादन गरिसकेका छन् । तीन बिघा जग्गामा ६० कुन्टल हाइब्रिड रामपुर–१० उत्पादन गरेर बजारमा पठाइसकेका छन् । मंसिरमा लगाएको मकैले जेठमा उत्पादन दिएपछि बजारीकरण गरिएको थियो । विमलले भने, ‘१२ लाख रुपैयाँको हाइब्रिड रामपुर–१० को बिउ बिक्री गरेका थियौँ । पहिलोपटक भएर होला, खर्च कटाएर नाफा भने ३ लाख रुपैयाँ मात्रै भयो ।’

हाइब्रिड बिउ प्रयोग गर्ने किसान बढ्दै

हाइब्रिड भन्दै महँगो मूल्यमा खरिद गरेर ल्याइएका धान र मकैको बिउले उत्पादन नदिएका थुप्रै उदाहरण छन् । नेपालमा प्रायः भारतबाट हाइब्रिड जातका धान र मकैको बिउ आउने गर्छन् । तुलनात्मक रूपमा यस्तो बिउ महँगो पर्न जान्छ । भारतलगायत तेस्रो मुलुकबाट ल्याएका यी बिउबाट खराबी आएको भन्ने गुनासो पनि बढ्दो छ । कृषि ज्ञानकेन्द्र चितवनका प्रमुख राजन ढकालले भने, ‘चितवनमा गत वर्ष मात्र हाइब्रिड भनिएको गरिमा धान ६ सय हेक्टरमा लगाइएको थियो । तर, धान भित्र्याउने समयसम्म पनि दाना नलागेपछि किसानले नष्ट गरे ।’

ढकालका अनुसार हाइब्रिड बिउ थोरै प्रयोग गरेर धेरै उत्पादन लिन सकिन्छ । ८ वर्षयता चितवनमा हाइब्रिड जातको धान र मकै लगाउनेको संख्या बढ्दो रहेको उनको भनाइ छ । विदेशबाट खरिद गरिएको भन्दा नेपालमै विकास भएको बिउ यहाँको हावापानी सुहाउँदो हुन्छ । विदेशबाट ल्याएको जातमा तापक्रम तलमाथि भए दाना लाग्दैन । नेपालमै हाइब्रिड बिउ उत्पादन हुँदा आर्थिक रूपमा पनि सस्तो पर्ने र लाखौँ रुपैयाँ बिदेसिनबाट पनि जोगिने ढकालको भनाइ छ ।

ज्ञानकेन्द्रको तथ्यांकअनुसार चितवनमा २७ हजार ४ सय ४५ हेक्टरमा धानखेती हुन्छ । त्यसमध्ये ३ हजार हेक्टरमा हाइब्रिड धान लगाउने गरिएको छ । चितवनमा हिउँदे मकै १९ हजार हेक्टरमा, वसन्ते र बर्खे मकै पनि करिब १०–१० हजार हेक्टरमा हुने गरेको छ । स्रोत ः नयाँ पत्रिका

VIEWS: 538