केराले सहज बजार पाउनथालेछि खुसी हुदै किसान

Wednesday, October 14th, 2020 |

 

टिकापुर २८ असोज

लकडाउनमा उत्पादित केरा बिक्री नभएर घाटा सहेका कैलालीका किसान सहजै बजार पाउनथालेपछि खुशी हुन थालेका छन् । यस अघि सम्म लामो समय बजार बन्द हुँदा बारीमै केरा सडेको तितो अनुभव लिएका किसानले बजार खुलेपछि धमाधम केरा बजार पठाउन थालेका हुन् ।

टीकापुरबाट दैनिक १० ट्रकसम्म केरा अन्य जिल्लामा जाने गरेको छ । भारतीय केरा नेपाली बजारमा आउन नपाएपछि नेपाली केराले राम्रो बजार पाएको केरा व्यवसायीहरु बताउँछन् ।

“यो समय राम्रो केरा उत्पादन हुने समय हो । यतिखेर केराले बजार पाएमा किसानले राम्रो आम्दानी लिन सक्छन्”, केरा व्यवसायी शेरबहादुर साउदले भने, “लकडाउनको पाँच महिना घाटा भयो । त्यो घाटा अहिले पूर्ति हुने सोचले हामी ढुक्क भएका छौँ । अहिले केरा धमाधम गइरहेको छ ।”

अघिल्लो वर्षजस्तो व्यापार नभए पनि अहिलेको अवस्थाअनुसार राम्रै व्यापार भइरहेको साउदले बताए । “विगतमा भारतीय केराले बजार ढाक्थ्यो, हाम्रो उत्पादनले मूल्य पाउन कठिन हुन्थ्यो”, साउदले भने, “यस वर्ष बजार पनि पाइएको छ र मूल्य पनि पाउन सहज भएको छ । सबै बजार नेपाली केराले ओगटेको छ ।”

अहिले केरा व्यवसायीको बारीबाटै प्रतिदर्जन रु ३५ देखि ४० मा र किलोका हिसाबमा बिक्री गर्ने व्यवसायीले प्रतिकिलो रु २० देखि २४ मा काँचो केरा बेचिरहेका छन् । आफूले सोचेअनुसार केराको व्यापार गर्न नसके पनि अहिलेको समयअनुसार यो मूल्य राम्रै भएको अर्का केरा व्यवसायी नेपबहादुर चौधरीले बताए । “लकडाउनको समयमा मैले पनि लाखौँको घाटा व्यहोरे, पाकेका केरा बारीमै सडे”, चौधरीले भने, “त्यो बेला बिक्री नभएका केरा क्वारेन्टिनमा बसेका नागरिकलाई बाँडे, अहिले व्यापार राम्रो छ ।”

कोरोना भाइरस सङ्क्रमणको जोखिमपछि भारतबाट आउने केरा सजिलै आउन सकेको छैन । सरकारले पनि भन्सारमा कडाइ गरेका कारण यहाँका केराले बजार पाएको केरा व्यवसायी विनोदकुमार शाह बताउछन् । “भन्सारमा कडाइ गरिँदा नेपाली केरा किसानले राहत पाए, लकडाउनमा मेरो त करोडौं घाटा भयो, अहिले चित्त बुझेको छ”, शाह भन्छन्, “अहिले उनको फार्मबाट दैनिक ६ ट्रकसम्म केरा बाहिरी जिल्लामा जानको गरेको छ ।”

कैलालीमा उत्पादन भएको केरा सुदूरपश्चिमका पहाडी जिल्लालगायत नेपालका ठूला शहर सुर्खेत, नेपालगञ्ज, बुटवल, पोखरा, काठमाडाँैसम्म निर्यात हुने गरेको छ । अहिले उत्पादन भएको केरा बजारमा पठाउने समय हो ।
चैतमा उत्पादन भएका केरा बजार पठाउने समयमा लकडाउनका कारण घाटा व्यहोरेका केरा व्यवसायी अहिले पनि लकडाउनको हल्लाले चिन्तित भएका छन् । “दैनिक छ ट्रक केरा बाहिरी जिल्ला जान्छ, लकडाउन भए हामी त बर्बाद हुन्छौँ”, व्यवसायी शाहले भने, “अब बजार, यातायात बन्दजस्ता कार्य गर्नुहुन्न । अब कृषि नै अर्थतन्त्रको आधार हो । कृषिका लागि सहज वातावरण चाहिन्छ ।”

केरा व्यवसायी सङ्घ कैलालीकाअनुसार कैलालीमा एक हजार हेक्टर जमिनमा केराखेती भइरहेको छ । एक हजार हेक्टरमध्ये रानी जमरा, कुलरिया सिँचाइ आयोजनाको कमाण्ड क्षेत्रमा मात्र ७५० हेक्टरमा केराखेती भइरहेको छ । स्रोतः रासस

VIEWS: 768