व्यावसायिक रुपमा उत्पादन भइ बजारमा आयो किवी फलको वाइन !

Tuesday, October 13th, 2020 |

 

काठमाडौँ २७ असोज

फलको राजको रुपमा मानिएकोे किवी फलको वाइन इटहरीका व्यवसायीले उत्पादन गरी बजारमा ल्याउन थालेका छन्। इटहरीका व्यवसायी विष्णु वास्तोला, लिलम रायमाझी र हरेराम साहले धनकुटाको राजारानीमा वाइन फ्याट्री स्थापना गरि उत्पादन थालेका हुन्। उत्पादित वाइन काठमाडौंमा बिक्री हुन थालेको छ।

माउण्ट एभरेष्ट वाइनरीका प्रवन्ध निर्देशक उद्योगी वास्तोलाका अनुसार उत्पादित वाइन काठमाडौंबाट बिक्री सुरु गरिएको हो। अब बिहीबारदेखि पूर्वका बजारमा बिक्री थालिने र तिहारअघिसम्म देशभरका मुख्य बजारबाट बिक्री गर्ने योजना रहेको वास्तोलाले बताए। उद्योगले प्रिन्सेस नामक वाइन बजार ल्याएको हो।

पोसिलो फलको रूपमा किवीको व्यावसायिक खेती पूर्वी नेपालमा सुरु भए सँगै वाइन उत्पादन सुरु गरि बजारमा ल्याइएको हो।

अनुकूल हावापानीका कारण नेपालको पहाडी क्षेत्रमा किवीको व्यावसायिक खेती गर्न सकिने भन्दै किसानहरुलाई लक्षित गरेर तीन जनाको संयुक्त लगानीमा उद्योग खुलेको हो। उद्योगले रेड र ह्वाइट वाइन उत्पादन गरिरहेको छ। उद्योगमा करिब २ सय जनाले प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोजगारी पाइरहेको बस्तोलाले जानकारी दिए । ‘उद्योग आफैले पनि किवी खेतीमा लगानी गरेको छ,’ उनले भने, ‘वाइनरी क्षेत्रमा संगालेको लामो अनुभव र देशविदेशको तालिमबाट प्राप्त गरेको विज्ञताका कारणले आफूहरुले उद्योगबाट उत्कृष्ट क्वालिटीको वाइन उत्पादन गर्न सफल भएको उनिहरुको भनाइ छ ।

उच्च वर्गमा सीमित वाइन पछिल्लो एक दशकदेखि नेपाली बजार सुहाउँदो उत्पादन, मूल्यका कारण मध्यम र निम्नमध्यम वर्गमा प्रिय बनिरहेको छ। ‘आफ्नै देशको किसानको उत्पादन खेर जान नदिन हामीले पहिलो पटक किवीको वाइन बजारमा ल्याएका हौ,’ कम्पनीका अध्यक्ष हरेराम साहले भने।

संसारमा पाइने २७ फल मध्ये सबै भन्दा पोसिलो फलको रूपमा किवीलाई लिने गरिएको छ। पोसिलो फल अनारमा ५ प्रतिशत खाद्यतत्व हुन्छ भने किवीमा १६ प्रतिशत। काँचो खाँदा अमिलो हुने किवीमा भिटामिन तथा खनिज पदार्थ प्रशस्त मात्रामा पाइन्छ। किवीमा औषधिजन्य गुण पनि पाइन्छ। पेट सम्बन्धी रोग, निमोनिया, दम, रक्तचाप, कोलेस्टेरोल, मधुमेहजस्ता रोगका लागि उपयोगी मानिन्छ। किवी फलबाट जुस, जाम, वाइन लगायत विभिन्न परिकार बनाउन सकिन्छ। स्रोत ः नागरिक

VIEWS: 953