मलको अभाव र किराको प्रभावले १५ प्रतिशत धान उत्पादन घट्ने
चितवन १४ असोज
धानखेतीमा युरियामलको अभाव खेपेका किसान फेरी हुर्किएको धानमा रोग र कीराको प्रकोप बढ्न थालेपछि चिन्तित बनेका छन्।
यस वर्ष धानमा समयमा मल राख्न नपाएको समस्या सेलाउन नपाउँदै बारम्बारको बर्षाले धानमा गबारो,फड्के किरा, धोक्रे जस्ता रोग किराले १५ प्रतिशत सम्म उत्पादन घट्न सक्ने कृषि ज्ञान केन्द्र चितवनले जनाएको छ ।
केही हप्ताअघि सम्म देशभर धानमा हाल्ने युरिया मलको चरम अभाव देखिएको थियो। किसानहरूले घण्टौं लाइन बस्दा पनि चाहिँदो मल पाएका थिएनन्। त्यतिखेरको पीडा भुल्न नपाउँदै
किसानलाई नयाँ समस्या आइलागेको हो।
धान बालीमा देखिएका कीरा, रोग किसानका लागि नयाँ भने होइनन्। तर यसपालि विगतमा भन्दा बढी क्षति हुन थालेपछि किसानमा चिन्ता थपिएको छ ।
कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालकाअनुसार चितवनका खेतमा यसपालि देखिएझैं गबारोको प्रकोप यसअघि कहिल्यै देखिएको थिएन।
भरतपुर–२७ मेघौलीमा २२ कट्ठा जमिनमा धान खेती गर्दै आएका दण्डपाणि काफ्लेको ७५ प्रतिशत धान अहिले पहेंलै भएको छ। तर पाकेर होइन, कीराले खाएर सुकेपछि पहेंलो देखिएको हो।
सधैं साबित्री नामको धान लगाउने उनले यसपालि पहिलो पटक बहुगुणी नामको धान लगाएका थिए। उनको धानमा कीराले खाने, पोको लाग्ने, धान होचो–अग्लो हुने समस्या देखिएको छ।
‘हामीलाई सिफारिस गरिएको धानमै समस्या हो कि, अन्य कारण हो भनेर बुझ्दै छु’, काफ्ले भने, ‘यस्तो समस्या त कतै सुनेको देखेको पनि थिइनँ।’
मेघौलीकै कुमार गुरुङले ४ विघा जमिनमा लगाएको धानमा अहिले करिब ७ प्रतिशतमा यो समस्या देखिएको छ।
३७ वर्षदेखि धान खेती गर्दै आएका गुरुङले यसपालि अनुदानको मल नपाएपछि कालोबजारबाट मल किनेर धानमा हालेका थिए।
‘जसोतसो मल त पुर्याइयो भन्ने लागेको थियो तर गबारो कीराले क्षति पुर्याउन थाल्यो’, उनले भने, ‘यसको समाधान के हो, कसरी नियन्त्रण गर्ने मेसो पाउनै सकिएन।’
‘जिल्लाका अधिकांश क्षेत्रमा लगाइएको धानमा यसपालि गबारोले क्षति पुर्याएको छ’, , ‘गबारो हाम्रो लागि नयाँ त होइन तर यसपालि धेरै ठाउँमा क्षति पुर्यायो।’ केन्द्रका प्रमुख ढकालले गबारोकै कारण धानको उत्पादन १५ प्रतिशतसम्म घट्ने देखिएको बताए।
कीरा र रोगका लागि यसपालिको मौसम नै अनुकूल भएको उनले बताए। अत्यधिक वर्षाका कारण खेतमा पानी जम्ने र तत्कालै घाम लागिहाल्दा तातो बढी हुने भएका कारण कीराहरूको प्रकोप बढेको उनी बताउँछन्।
गबारो धानमा लाग्ने पुतलीको प्रजाति हो। किसानहरूले यसलाई लाटो पुतली पनि भन्छन्।
यसले धानको पातमा बसेर फूल पार्छ अनि डाँठको मध्यभागमा गुबो खाइदिन्छ। पुतलीले गुबो खाइदिएपछि बाला सेतो हुँदै जाने र अन्न नलाग्ने समस्या हुन्छ। यो कीराले वार, मोती लगायतका मसिनो धान तथा हाइब्रिड धानमा धेरै असर गरेको छ।
धानमा फड्के कीराले पनि ठूलो क्षति पुर्याएको छ। फड्के कीरा धानमा लाग्ने भुसुना हो। विशेषगरी बाक्लो धान रोपिएको ठाउँमा यसले क्षति पुर्याएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका प्रमुख मेघनाथ तिमिल्सिना बताउँछन्।
फड्के कीराले धान बाक्लो भएको ठाउँमा तातो हुने र हावा खेल्न नपाउने हुँदा भुसुनाका लागि उपयुक्त वातावरण बन्छ’, तिमिल्सिनाले भने, ‘यसपालिको मौसममा फड्के कीराका लागि थप उपयुक्त बनेका कारण क्षति बढी भयो।’
पानी बढी हुने खेतमा फड्के कीराले डाँठ चुसेर बालामा अन्न नलाग्दै पहेंले बनाइदिने गरेको उनले बताए।
सामान्यतया यो भुसुनालाई ठूला कीराले खान्छन्। तर यसपालि युरिया मलको अभावका कारण किसानले धानमा अत्यधिक मात्रामा रसायनिक विषादीको प्रयोग गरे। ती विषादीले धानको माथि उड्ने ठूला कीराहरू मारिदियो। भुसुनालाई खाने कीरा विषादीका कारण मरेपछि धानमा क्षति बढेको कृषि प्राविधिकहरू बताउँछन्।
पानी जमिरहने ठाउँमा धोक्रे कीराको प्रकोप पनि उस्तै छ। यो कीराले धानको पातको टुप्पो काटेर भित्र पसी बाँकी पात पनि खाएर सेतै बनाइदिन्छ। किसानहरूले यसलाई ‘धानमा सेते लाग्यो’ भन्छन्।
उक्त कार्यालयका अधिकृत माधव पौडेलकाअनुसार धानमा यसपालि ‘सिथ ब्लाइट’ नामको रोग पनि लागेको छ।
यो रोगले धानको पात मर्ने, धानको घाँटीमा आक्रमण गर्ने र बालामा गेडा नलाग्ने समस्या देखिएको पौडेलले बताए।
रोग र कीराको प्रकोप चितवनको इच्छाकामना गाउँपालिकामा कम देखिएको छ। अन्य स्थानीय तहमा रहेका खेतहरूमा असर ठूलो रहेको पौडेलले बताए।
‘यो समस्याको समाधानका लागि हामी १२ घण्टासम्म काम गरिरहेका छौं’, पौडेलले भने, ‘तर हामीसँग पर्याप्त विज्ञ जनशक्ति नहुँदा समस्या समाधानमा कठिनाइ हुने गरेको छ।’
समस्या आउनै नदिनका लागि विज्ञहरूको भूमिका हुने भए पनि कृषि क्षेत्रमा विज्ञको उपलब्धता कम भएको उनले बताए।
कृषि ज्ञान केन्द्रका प्रमुख ढकालले तत्कालको समस्या समाधानका लागि किसानहरूलाई प्राविधिकको सल्लाहमा मात्रै काम अघि बढाउन आग्रह गरिएको बताए।
धानमा बाला लाग्ने समयमा किसानले रसायनिक विषादीको प्रयोग गर्ने गर्छन्। गलत विषादीको छनोटले समस्या बढ्नसक्ने भएकाले सचेत रहन र प्राविधिकको सल्लाह लिन आग्रह गरिएको उनले बताए। स्रोत ः सेतोपाटी