कालीमार्सी धानपाक्ने बेलामा रोगको प्रकोपबढेपछि किसान चिन्तित

Friday, September 25th, 2020 |

 

जुम्ला ९ असोज

जुम्लाको आठवटै स्थानीय तहमा रहेका खेतका फाँटहरुमा उत्पादन हुने कालीमार्सी धानका पाक्ने समयमा रोगको प्रकोप देखिएपछि किसान चिन्तित भएका छन् ।

विश्वको सबैभन्दा उच्च स्थानमा फल्ने जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौरको कालीमार्सी धान पाक्न थालेको छ । खेतका फाँटहरुमा कालीमार्सी धानका बाला झुलेसँगै स्थानीयवासीमा पनि खुसीयाली छाएको स्थानीय मायादेवी बुढा बताउँछन् ।
जुम्ली मार्सी धानबालीमा ब्राउन स्पोट रोगको प्रकोप देखिन थालेपछि किसान चिन्तित बनेका छन् । यस वर्ष अनुकूल मौसम परेकाले समयमै मार्सी धान रोप्न पाएका कारण किसान पनि हर्षित भएका थिए । तर अहिले भने रोग देखिन थालेपछि किसानहरु चिन्तित बनेका हुन्

गाउँपालिकाको आर्थिक सहयोग र कालीमार्सी धान संरक्षण तथा प्रवद्र्धन केन्द्रको सहजीकरणमा यस वर्ष यो धान रोपिएको थियो । उच्च स्थानमा धान फल्ने छुमचौर ज्युलोको संरक्षण गर्नको लागि कालीमार्सी धान रोपिएको गाउँपालिका अध्यक्ष लछिमान बोहोराले बताए ।

सो स्थानमा फलेको कालीमार्सी धानको चामल देशका विभिन्न शहरमा राम्रो मूल्यमा बिक्री वितरण हुने गरेको छ । देशका विभिन्न भागबाट यो चामलको माग आउने गरेको छ ।

नेपालको जुम्ला जिल्लाको सीमित मात्रामा उत्पादन हुने स्थानीय जातको धानको नाम हो कालीमार्सी । यसको स्वाद, रोग र किराको प्रतिरोध गर्न सक्ने गुण र पोषक तत्वका कारण जुम्ली मार्सी धानको महत्व अन्तर्राष्ट्रिय जगतसम्म नै पुगेको छ । नेपालमा राणा शासनको समयमा समेत केन्द्रमा रहेका शासकका लागि यही मार्सी धानको चामल हुलाकबाट काठमाडौँसम्म ल्याउने गरेको त्यहाँका ज्येष्ठ नागरिकहरु बताउँछन् ।

करीब ७ सय वर्षअघि जुम्लीहरुका इष्ट देवता चन्दननाथले भारतको कास्मिरबाट मार्सी धानको बीउ भित्र्याएको विश्वास गरिन्छ । यसको सक्कली बीउ अनुसन्धानका लागि कृषि अनुसन्धान केन्द्रमा राखिए पनि अन्यत्र हराइसकेको छ ।

मार्सी विश्वको अग्लो स्थानमा फल्ने धानको रूपमा लिइन्छ । त्यहाँका किसानले लगाएकोे प्रायः सबै खेतको धान यो याममा पाकेर झुल्न थालेको किसानहरुल बताए ।

यतिखेर पाक्न थालेको कालीमार्सी धान कात्तिकको पहिलो हप्तातिर काट्ने तयारी हुन्छ । ज्योतिष हेराएर, शुभ साइतमा धान काट्ने त्यहाँको स्थानीय चलन छ । पनि बढी नै हुने गरेको छ । यहाँका किसान बताउँछन् यो चामलको माग सहरबाट बर्सेनि बढेर आएको छ ।

धानमा रोगको प्रकोप

पाक्ने समय भएको कालीमार्सीमा रोगको प्रकोप बढेपछि यतिबेला कृषि विज्ञसहितको टोलीले जिल्लाको तातोपानी गाउँपालिका ४ र ५ का मार्सीधान रोपेका खेतमा गरिएको अनुगमनबाट ब्राउन स्पोट रोगको प्रकोप पाइएको हो । तातोपानी गाउँपालिकाका कृषि संयोजक धर्मराज आचार्यका अनुसार अनुगमनको क्रममा फाटफुट रुपमा ब्लाष्ट रोग देखिएको छ । मार्सी धानमा ब्राउन स्पोट रोग अलि बढी देखिएको उनले बताए ।

पर्याप्त सिँचाइ र नाइट्रोजनको अभावले मार्सी धानमा ब्राउन स्पोट रोग लाग्ने गरे पनि यो रोगका कारण मार्सी धानको उत्पादनमा कुनै गिरावट नआउने कृषि संयोजक आचार्यले बताए ।

जलवायु परिवर्तनका कारण स्थानीय बालीमा लाग्ने रोग किरा व्यवस्थापन तथा उत्पादनमा वृद्धि गर्ने लक्ष्यका साथ गौरसरकारी संस्था लिबर्ड जुम्लाले हरेक वर्ष स्थानीय धानबाली र सिमी बालीको अनुसन्धान गर्दै आएको छ । जुम्लामा विगत एक वर्षदेखि स्थानीय बाली धान र सिमीको संरक्षण गरी विभिन्न ठाउँमा ‘बीउ बैंक’को रूपमा काम गर्दै आए पनि बर्सेनि मार्सी धानमा विभिन्न खाले रोग किरा लाग्ने गरेका छन् ।

तर वर्षौंपिच्छे हुने अध्ययन अनुसन्धानले मार्सी धानमा लाग्ने रोग किरा नियन्त्रणको दिगो समाधान भने अझै निकाल्न सकेको छैन । गत वर्ष मार्सी संरक्षणका लागि स्वदेशी तथा विदेशी विज्ञको टोलीले मार्सीको अनुगमान तथा अनुसन्धान गरेको लिबर्ड जुम्लाले जनाएको छ ।

मार्सी धानको विशेषता

मार्सी धान समुद्री सतहभन्दा १० हजार फिटको उचाइमा फल्छ । यो धानको खेती नेपालको उच्च हिमाली जिल्ला जुम्लामा मात्र राम्रो हुने गरेको पाइन्छ । यो धानको चामल रातो र भात पकाउँदा हल्का गिलो हुन्छ ।

यसमा प्रोटिनको मात्रा बढी हुने गरेको बताइन्छ । मार्सी चामलको भात खाँदा चाँडो भोक नलाग्ने र आडियो हुने गरेको धानबाली विशेषज्ञहरु बताउँछन् ।

जुम्लामा मार्सी धानको बीउ चन्दननाथ बाबाले भारतको कास्मिरबाट ल्याएका थिए । उनले ल्याएको सो धान जुम्लाको छुमचौरमा पहिलो पटक लगाइएको थियो । यो धान चैतमा रोपेर कात्तिकको पहिलो हप्तासम्ममा काटिन्छ ।

स्थानीय मानिसहरुमा मार्सी धान रोप्ने बेला युवाहरु घरमा भएनन् या आएनन् भने उनीहरुको मृत्यु भए सरह मान्ने पम्परागत चलन पनि रही आएको छ । मार्सी धानको खेतीलाई यसरी स्थानीय परम्पराअुनसार महत्व दिने गरिएको छ ।

निकै पोषिलो र अत्यधिक कार्बोहाइड्रेट भएको मानिने काली मार्सी धानलाई स्थानीयहरुले पनि स्वास्थ्यवर्धक खानाका रुपमा नै लिने गर्दछन् । त्यसैले पनि अहिले मार्सी चामलको भात चाख्न खोज्नेहरुको जमात जुम्लामा पनि बढिरहेको छ ।

चामलको माग बढेकाले जुम्लादेखि कालीमार्सी धान लगेर काठमाडौँमा व्यावसाय गर्नेहरु पनि बर्सेनि बढ्दै छन् ।

हाल कालीमार्सीमा विभिन्न रोग लाग्ने तथा जलवायु परिवर्तनको प्रभावले गर्दा पनि धान उत्पादन घट्दै गएकाले जुम्लाका स्थानीयबासी बताउँछन् । स्रोत ः रासस

VIEWS: 980