जुम्ली मार्सीमा ब्राउन स्टोपको प्रकोप

Thursday, September 17th, 2020 |

 

जुम्ला १ असोज

जुम्ली मार्सी धानमा ब्राउन स्टोप रोगको प्रकोप देखिन थालेपछि यहाँका किसान चिन्तित बनेका छन् । यस वर्ष अनुकूल मौसम परेकाले समयमै मार्सी धान रोप्न पाएपछि हर्षित बनेका किसान रोग देखिन थालेपछि चिन्तित बनेका हुन् । कृषि विज्ञसहितको टोलीले तातोपानी गाउँपालिका–४ र ५ मा मार्सीधान रोपेका खेतमा गरिएको अनुगमनबाट ब्राउन स्पोट रोग लागेको पाइएको हो ।

टोलीले त्यहाँको तातोपानी गाउँपालिकाका –४ र ५ वडाका मार्सी धान रोपेका खेतमा गरेको अनुगमनबाट ब्राउन स्पोट रोग लागेको पाइएको छ । तातोपानी गाउँपालिकाका कृषि संयोजक धर्मराज आर्चायका अनुसार अनुगमनका क्रममा फाटफुट रुपमा व्लाष्ट रोग पनि देखिएको छ भने मार्सी धानमा ब्राउन स्पोट रोग धेरै देखिएको बताए । पर्याप्त सिँचाइ र नाइट्रोजनको अभावले मार्सी धानमा ब्राउन स्पोट रोग लाग्ने गरेपनि यो रोगका कारण मार्सी धानको उत्पादनमा भने कुनै गिरावट नआउने उनको भनाइ छ ।

मार्सी धान भित्रियाउने समयसम्म असिना नपरेको खण्डमा ब्राउन रोगले उत्पादन नघट्ने गाउँपालिकाका कृषि शाखाले जनाएको छ । ब्राउन रोगका कारण उत्पादन नघटेपनि साउनमा भएको वर्षाका कारण केही स्थानमा उत्पादन घट्ने चिन्ता किसानमा छ । खेतभरी बालुवा भरिएपछि मार्सीखेत बगरमा परिणत भएका थिए । धान फल्ने बेला बालुवाले खेत भरिँदा उत्पादन सोचे जस्तो नहुने तातोपानीका –४ का किसान प्रेमराज पाण्डेले बताउनुभयो ।

जलवायु परिवर्तनका कारण स्थानीय बालीमा लाग्ने रोग किरा व्यवस्थापन तथा उत्पादनमा वृद्धि गर्ने लक्ष्यका साथ लिबर्ड जुम्लाले हरेक वर्ष स्थानीय धानबाली र सिमी बालीको अनुसन्धान गर्दै आएको छ । जुम्लामा बिगत एक वर्षदेखि स्थानीय बाली धान र सिमीको संरक्षण गरी विभिन्न ठाउँमा ‘बीउ बैंक’को रूपमा काम हुदै आएको छ । वर्षेनि मार्सी धानमा विभिन्न खाले रोग किरा लाग्ने गरेका छन् । तर वर्षैपिच्छे हुने अध्ययन अनुसन्धानले मार्सी धानमा लाग्ने रोग किरा नियन्त्रणको दिगो समाधान भने अझै हुन सकेको छैन ।

गत वर्ष मार्सी संरक्षणका लागि स्वदेशी तथा विदेशी विज्ञको टोलीले मार्सीको अनुगमान तथा अनुसन्धान गरेको थियो । यतिबेला जिल्लाका मार्सी धान उत्पादन हुने खेतमा धानको बाला झुलिसकेको छ । स्रोत ः रासस

VIEWS: 1207