सुदुरपश्चिमा नै पहिलो पटक ड्रागन फ्रुट खेती शुरु

Wednesday, September 16th, 2020 |

 

दार्चुला ३१ भदौ

दार्चुलाको नौगाड गाउँपालिका–६ मलानमा पहिलो पटक व्यवसायिक ड्रागन फ्रुट खेती शुरु गरिएको छ ।
कृषि विज्ञ महेन्द्र सिह धामी, आइटी इन्जिनियर भक्तसिह ठगुन्ना र सिभिल इन्जिनियर कैलाश धामीको संयुक्त लगानिमा सिउँडी प्रजातीको ड्रागन फ्रुट खेती शुरु गरिएको हो ।
ग्रिन ल्याण्ड कृषि तथा पशु फार्म दर्ता गरेर यहाँका युवाहरुले पहिलो पटक ड्रागन फ्रुट खेती शुरु गरेको कृषि प्राविधिक प्रकाशसिह धामीले जानकारी दिए । स्थानीय दानसिह धामीको एक हजार आठ सय बर्ग मिटर जमिन भाडामा लिएर यो खेती शुरु गरिएको कृषि विज्ञ महेन्द्र सिह धामीले जानकारी दिए । पहिलो चरणमा नौगाड गाउँपालिकाको दुई लाख रुपिया आर्थिक सहयोगमा रौटहटबाट आठ सय विरुवा मगाएर खेतमा रोपिएको छ ।
चार विरुवालाई एक पोल पुग्ने गरेर जमिनमा दुई सय पोल गाडेर खेतीको सुरुवात गरिएको हो । कृषि पढिसकेपछि आफ्नै क्षेत्रमा केहि गर्नुपर्छ भन्ने भावना लिएर व्यवसाय शुरु गरिएको कृषि विज्ञ धामीको भनाई छ ।
युवाहरुले ८ लाख बढि रकम खर्च गरेर व्यवसाय शुरु गरेको बताएका छन् । ड्रागन फलले दुई वर्षपछि उत्पादन दिने विज्ञ धामीको भनाइ छ । शिक्षित युवाहरु बाहिर गएर रोजगारी खोजिरहेको बेला आफुहरुले कृषि विषय पढेर आफ्नै क्षेत्रमा केहि गरौ भन्ने उद्देश्यले यो काम शुरु गरेको सो फर्ममा काम गर्ने प्राविधिक प्रकाश धामीले बताउनुभयो । सुदूरपश्चिमको पहाडी जिल्लाहरुमा पहिलो पटक ड्रागन फलको खेती आफुहरुले गरेको उहाँहरुको दाबी छ।

नौगाड गाउँपालिकाको कार्यालय र नौगाडकै वडा नम्बर ५ र ६ को सहयोगमा यो खेती शुरु भएको हो । विज्ञ समूह नै व्यवसायमा लागेपछि गाउँपालिका परिवारलाई पनि हौसला मिलेको छ ।
ड्रागन फ्रुटको देश र विदेशमा राम्रो बजार रहेको छ । यो फल बारीबाटै एक हजार रुपिया प्रतिकिलोका दरले बिक्रि हुने गरेको विज्ञहरु बताउँछन् । रोग प्रतिरोधात्मक क्षमता बढाउने र शरीरमा शक्ति तथा ऊर्जा वृद्धि गर्ने चमत्कारीक फलको रुपमा ड्रागन फललाई लिने गरिएको कृषि ज्ञान केन्द्र दार्चुलाका प्रमुख प्रकाश कुमार पन्तले जानकारी दिए ।
मानव शरीरलाई चाहिने सम्पूर्ण तत्व एवं धेरै खाले औषधीय गुण यो फलमा पाइने र असाध्यै रसिलो तथा स्वादिष्ट भएकाले ड्रागन फललाई सुपर फूड पनि भन्ने गरिएको पन्तले बताए । यसको व्यावसायिक खेती र उपयोग बढाउन सके धेरै आर्थिक फाइदा हुने कृषि विज्ञ महेन्द्रसिह धामी भनाइ छ ।

VIEWS: 747