हरियो पत्ति चियाको तोकिएको मुल्य दिलाउने नगरपालिकाले ग¥यो प्रतिबद्धता

Wednesday, September 16th, 2020 |

 

इलाम ३१ भदौ

हरियो चियापत्तीको मूल्य तोकिए अनुसार नपाएको भन्दै आन्दोलनमा गदै आएका चिया किसानलाई सूर्योदय नगरपालिकाले कानूनमा तोकिएबमोजिम न्यूनतम मूल्य दिलाउने प्रतिबद्धता जनाएको छ ।

नगरपालिकाले बनाएको मापदण्डअनुसार उद्योगीले किसानलाई चियाको मूल्य दिएका छैनन् । नगरले बनाएको ‘गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि–२०७५’ मा चियाको न्यूनतम मूल्य प्रतिकिलो ४० रुपैयाँ उद्योगीले दिनुपर्ने छ तर कोरोनाको बहाना बनाउँदै अधिकांश चिया उद्योगीले ४० रुपैयाँ दिइरहेका छैनन् ।

उद्योगीसँग समन्वय गरेर नगरपालिकाले कार्यविधिमा तोकिएबमोजिमको चियाको मूल्य किसानलाई दिलाउने नगरपालिकाका प्रमुख रणबहादुर राईले प्रतिबद्धता व्यक्त गरेका हुन् । ‘नगरपालिका किसानको पक्षमा रहेकोले जसरी भए पनि न्यूनतम मूल्य किसानलाई उद्योगीहरुबाट उपलब्ध गराउने प्रतिबद्धता गर्छु’, नगरप्रमुख राईले भने, ‘किसानलाई हतोत्साहित नहुन आग्रह गर्दछु ।’

सूर्योदय नगरपालिकाको मुख्य नगदेबालीको रूपमा रहेको चिया खेती जुन नगरका ६५५ भन्दा बढी किसानले गर्दै आएका छन् । नगरको मापदण्डलाई समेत नमान्दै उद्योगीले अहिले किसानलाई तोकिएको मूल्य दिएका छैनन् ।

मूल्य पाउनका लागि किसानले असारको पहिलो सातादेखि नै आन्दोलन शुरु गरेका हुन् तर उद्योगीले चासो नदेखाउँदा लामो समय बितिसक्दा पनि आन्दोलन निष्कर्षमा पुगेको छैन । ‘कति उद्योगले दिएका छैनन् । हामीसँग यकिन तथ्यांक त छैन तर धेरै उद्योग चाहिँ हिच्किचाइरहेका छन्’, नगरप्रमुख राईले भने, ‘किसान बारम्बार हेपिइरहेका छन् । स्रोत ः रासस

VIEWS: 1545