चर्चाको चुलीमा छ तितेपाती !

Sunday, September 13th, 2020 |

 

काठमाडाँै २८ भदौँ
संसारभर कोरोना महामारीले छोपेको अवस्थामा , नेपाली गाँउघरमा पाइने तितेपातीले भने विश्वमा चर्चा कमाएको छ । विज्ञान लाई पनि यो भाइरस सँग लड्न धेरै कठिन भएको छ ।

संसार भर यसलाई परास्त गर्न उत्कृष्ट ज्ञान र विवेक परिचालन गरिएको छ । शक्ति र सत्ताको घमण्ड गर्नेहरु यस भाइरसको अघिल्तिर निरीह सावित भएका छन् ।

दैनिक हजारौंका संख्यामा मानिस निलिरहेको यस विषाणुकै कारण संसारभर करोडौंको संख्यामा संक्रमित भएका छन् । मान्छे देख्दा मान्छे तर्सने, आशंकित हुने अवस्था यो भाइरसले बनाइदिएको छ । सामाजिक जमघट ठप्प छ, आर्थिक रुपमा संसारमै मन्दी छाएको छ ।

करोडौं मानिस बेरोजगार बनेका छन् । हेर्दाहेर्दै मानिस सडकमा पुगिसकेको छ । गरीबीको संख्या ह्वात्तै बढ्दै छ । तैपनि यस विषाणुविरुद्ध आशालाग्दो खोप र औषधिको विकास गर्न सकिएको छैन ।

पूर्वीय आयुर्वेदिक विज्ञानमा धेरै रोगविरुद्ध प्रयोग हुने तितेपाती अहिले कोरोनाको विषाणु परास्त गर्न अरुभन्दा अब्बल देखिएको खबरहरु आएका छन् । मूलतः चीनले विभिन्न रोगविरुद्ध प्रयोग गर्दै आएको तितेपाती एशियाली प्रजातिको विरुवा मानिन्छ ।

नेपालमा पनि हाम्रा घरखेत, खोल्साखाल्सी, जंगल जताततै पाइने तर वास्ता नगरेर मिल्किएको तितेपाती कोरोनाको विषाणुविरुद्ध निकै प्रभावशाली रहेको दावीहरु आउन थालेपछि यसको चर्चा चुलिएको हो ।

खासगरी गत अप्रिलमा पूर्वी अफ्रिकी मुलुक, मदागास्करले कोरोना भाइरसविरुद्ध यही तितेपातीलाई प्रयोग गरिरहेको घोषणा गरेपछि पूरै विश्वको ध्यान तानिएको थियो । त्यहाँका राष्ट्रपति आफै ‘आर्टिमिसिया’ अर्थात् तितेपाती कोरोना भाइरसविरुद्ध प्रभावकारी हुन्छ भनेर प्रचारमा ओर्लिए ।
बीबीसीले यससम्बन्धमा बनाएको एक रिपोर्टमा विश्व स्वास्थ्य संगठन, डब्लूएचओले भने तितेपातीले कोरोनाका बिरामीलाई फाइदा पुग्ने त्यस्तो प्रमाण नभएको बताएको उल्लेख गरेको छ ।

एशिया क्षेत्रमा उत्पत्ति भए पनि अहिले संसारभर पाइने तितोपातीलाई चिनियाँहरुले दुई हजार वर्षदेखि नै परम्परागत औषधिका रुपमा प्रयोग गर्दै आएका थिए । चिनियाँहरुले ‘किनगाओ’ भन्ने यसलाई मलेरियामा, दुखाई कम गर्न, ज्वरो रोक्नलगायतका अनेकन रोगमा प्रयोग गर्दै आएका छन् ।

चिनियाँले त यसलाई मदिरायुक्त पेय पदार्थमा पनि मिसाउने गरेका छन् । हाल चीनमा परम्परागत औषधिमा आधारित रहेर यसमाथि अलग्गै अनुसन्धान नै भैरहेको जनाइएको छ ।

तितेपातीले कोरोनाको विषाणुलाई निष्क्रिय पार्छ भन्ने वैज्ञानिक रुपमा पुष्टि नभए पनि मदागस्करका राष्ट्रपति एण्ड्री राजोलिनाले यसको परीक्षण गरिरहेको र कोभिडविरुद्ध यो अर्गानिक पेय पदार्थ प्रभावकारी भएको दाबी गरेपछि अरुको पनि ध्यान तानिएको हो ।

६० प्रतिशत तितेपाती रहेको बताइएको उक्त पेय पदार्थमा योबाहेक अरु केके प्रयोग गरिएको छ भन्नेचाहिँ खुलाइएको छैन । मदागस्करले त क्याप्सुल र सुइ लगाउन ‘सल्युसन’ उत्पादन थालेर ल्याब परीक्षण नै थालेको जनाएको छ ।

उता, जर्मनी र डेनमार्कका वैज्ञानिकले पनि ल्याबभित्र तितेपातीको बिरुवा अनुसन्धान गर्दा त्यसले कोरोना भाइरसविरुद्ध प्रभावकारीता देखाएको जनाएका थिए । तर त्यस अनुसन्धानमा अरु वैज्ञानिकले स्वतन्त्र विश्लेषण गरेका छैनन् । तितेपातीलाई इथानोल वा ‘डिस्टिल्ड वाटर’ मा मिसाउँदा यसले एन्टि–भाइरल गतिविधि देखाएको उनीहरुको अनुसन्धानमा उल्लेख थियो ।

यसमाथि मानव परीक्षणका लागि वैज्ञानिकहरुले अहिले युनिभर्सिटी अफ केन्टुकीसँगको सहकार्यमा काम गरिरहेको जनाइएको छ ।

दक्षिण अफ्रिकाका वैज्ञानिक पनि कोरानाविरुद्ध तितोपातीसहित विभिन्न बिरुवाले काम गर्छ कि गर्दैन भनेर ल्याब परीक्षणमा जुटेका छन् । यद्यपि, अनुसन्धानहरु निचोडमा पुग्न सकेका छैनन् ।

यसअघि मलेरियाविरुद्ध त यसले काम गर्ने पुष्टि भएको थियो । सन् १९७० मा चीनले मलेरियाविरुद्धको औषधि खोज गर्ने क्रममा सुकेको तितेपातीमा पहिलो पटक ‘आर्टेमिसिनिन’ नामक तत्वको गुण फेला पारेका थिए । जसलाई मलेरियाविरुद्ध प्रयोग गर्न डब्लूएचओले समेत अनुमति दिने गरेको छ
आवश्यकभन्दा बढी प्रयोग गर्दा भने शरीरलाई औषधि प्रतिरोधक बनाइदिने चेतावनी भने डब्लूएचओले दिएको छ । स्रोत ः बिबिसी

VIEWS: 1339