विश्व बजारमा पुग्दै मनाङको स्याउ

Monday, August 31st, 2020 |

 

मनाङ १५ भदौ

सधै विदेशबाट नेपालमा स्याउ आयात भैरहेको अवस्थामा पछिल्लो समय मनाङ जिल्लाको स्याउ अहिले विश्व बजारमा पुग्न थालेको छ । मनाङ जिल्लामा २०७० सालबाट एग्रो मनाङ प्रा.लिले ७ सय रोपनी क्षेत्रफलमा व्यवसायिक रुपमा सुरु गरेको अत्याधुनिक स्याउ खेतीको परिणाम स्वरुप आजभोलि सो कम्पनिले उत्पादन गरेको स्याउ विश्व बजारमा जान थालेको हो ।

हिउँ परेपछि मनाङको जनजीवन सधै कस्टकर बन्दै गरेको अवस्थामा हिउँले सबैलाई लोभ्याउदा मनाङका बासिन्दाहरुलाई भने तीन हजार पाँच सय १९ मिटरको उचाइमा रहेको मनाङको जिवनशैली धेरै गाह्रो बन्दै आएको थियो । छिमेकी जिल्ला मुस्ताङले लहलह स्याउ फलाउँदा मनाङ भने जौ, आलु, फापर जस्ता अन्नबालीमा निर्भर रह्यो ।

तर केहि गर्ने चाहाना भएका र राजनीतिक चेत भएका पोल्देन छोपाङ गुरुङ आफैँ मनाङमा केही गर्न चाहन्थे । त्यसैले उनले बाउबाजेको थलोमै स्याउ फलाउने निधो गरी एग्रो मनाङ प्रा.लीको स्थापना गरी अत्याधुनिक प्रविधिको प्रयोग गरी स्याउ फलाउने अभियान अहिले साकार भएकोे छ ।

ङिस्याङ गाउँपालिका–१ भ्राताङमा रहेको पुरानो स्याउबारीसँगै गाउँपालिकासँग थप जग्गा भाडामा लिइएको छ । सात्ताइस वर्षका लागि रु १२ करोड ९१ लाख ११ हजार भाडा तिर्ने गरी भाडामा लिएको जग्गामा रसिलो स्याउ फलाउन  हालका सङ्घीय सांसदसमेत रहेका पोल्देन छोपाङ गुरुङसहित परिवार नै कस्सिएको छ ।

मलिलो माटो नै नभएको भ्राताङको गेग्रानमा २०७० सालतिर स्थानीयभन्दा फरक खालका गाला, गोल्डेन र फुजी गरी तीन जातका स्याउका बिरुवा रोपियो । बिरुवाहरु इटाली र सर्भियाबाट ल्याइएको थियो ।

“हाम्रो ठाउँ ९भ्राताङ०मा थप जग्गा पनि छैन, लगभग ७३५ रोपनीको फार्ममा ५५० रोपनीमा अहिले स्याउ उत्पादन भइरहेको छ”, मनाङ एग्रो प्रालिका निर्देशक युवराज गुरुङले भन्छन्, “अहिलेसम्म रु ३० करोड लगानी भएको छ, हाम्रो आठ जनाकै परिवार यही फार्ममा संलग्न छौँ ।”

उनका अनुसार स्याउ खेतीका लागि शुरुमा हिमाली परियोजनाले रु दुई करोड २४ लाख अनुदान दिएको थियो । प्रधानमन्त्री कृषि आधुनिक परियोजनाबाट मल, बीउ र प्याकेजिङमा अनुदान छ । बाँकी लगानी बैंकतिरबाट जुटाइएको उनले सुनाए ।

अहिले स्याउ हरियै छ । करिब साढे दुई महिनापछि स्याउ पाक्छ, फार्ममा रहेका ६८ हजारमध्ये धेरै बिरुवाले उत्पादन दिन थालेका छन् । केही बिरुवा यही वर्ष थपिएको छ । “यो पटक ६०० टन उत्पादन होला, मूल्य चाहिँ गुणस्तरअनुसार लिने हो”, व्यवस्थापन विषय पढेका ३७ वर्षीय युवराजले भने, “बजारको समस्या छैन । कति स्याउ वाइन उद्योगलाई दिइन्छ, कति चाना बन्छ, केहीको जुस बनाइन्छ ।”

स्याउ त सबै ठाउँमा फल्छ

विश्व बजारमा निर्यातको सपना पालेका युवराजले दुई हजार ८५० मिटर उचाइमा उत्पादित स्याउलाई ‘हिमालयन फ्रेस’ नाममा ‘ब्राण्डिङ’ गरिरहेका छन्। मनाङको स्याउ ‘हिमालयन फ्रेस’ ब्राण्डमा विदेशी बजारमा देखिएको दिन आफ्नो सपना पूरा हुने उनले बताउँछन् ।

यो स्याउ फार्म एसियाकै ठूलो हो । फार्ममा प्रत्यक्ष २६।२७ जनाले काम गरिरहेका छन्, सिजनमा अरु २२÷२४ जनाले पनि काम पाउने युवराजको भनाइ छ । फार्म सञ्चालनसँगै मनाङ एग्रोले गण्डकी सरकारलाई स्याउ खेतीबारे प्राविधिक सहयोग पनि दिन थालेको छ । गण्डकी सरकारले मनाङसँगै गोर्खाको चुनुब्रीमा शुरु गरेको स्याउ खेती परियोजनामा मनाङ एग्रोले नै सघाएको हो । स्रोत ः रासस

VIEWS: 684