तरकारीको बिउ उत्पादन बढ्यो

Thursday, August 27th, 2020 |

 

रुकुम
भदौ ११

रुकुम पश्चिममा तरकारीको बिउ उत्पादनमा वृद्धि भएको छ ।

आर्थिक वर्ष ०७५र७६ को तुलनामा ०७६र७७ मा मूल र उन्नत बिउको उत्पादन बढेको हो । जिल्लामा तरकारीको बिउ उत्पादन गरिरहेको सरकारी कार्यालय तरकारी बिउ उत्पादन केन्द्र चाँपाले बितेको आर्थिक वर्षमा त्योभन्दा अघिल्लो वर्षको तुलनामा झन्डै दोब्बरभन्दा बढी बिउ उत्पादन गरेको जनाएको छ ।

वर्षभरिमा एक हजार एक सय १४ दशमलव पाँच किलो मूलाको बिउ उत्पादन हुँदा ६ सय ६७ किलो उन्नत बिउ उत्पादन भएको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार ०७५।७६ मा ६ सय १४ किलो मूल र तीन सय ८० किलो उन्नत बिउ उत्पादन भएको थियो । यो गत वर्षको तुलनामा झन्डै आधा कम हो ।

सबै कुरा अनुकूल भएकाले बिउ उत्पादनमा वृद्धि भएको तरकारी बिउ उत्पादन केन्द्र चाँपाका प्रमुख किशोरमान श्रेष्ठले जानकारी दिए ।

मौसमले साथ दिएको, समयमै मल, पानी पाएको तथा गोडमेल र हेरचार राम्रो भएकाले बिउ उत्पादन झन्डै दोब्बरले वृद्धि भएको उनको भनाइ छ ।

भिन्डी र बोडीको बिउ भने निकाल्न बाँकी रहेको छ । यी बिउ निकालेमा उत्पादन अझै बढ्ने केन्द्रले बताएको छ ।

त्यस्तै गत वर्ष बिउबाट नौ लाख ५७ हजार नौ सय ४० रुपैयाँ राजस्व उठेको छ । केन्द्रले विभिन्न तरकारीको मूल र उन्नत बिउ उत्पादन गर्ने गरेको छ ।

काउली काठमाडौं स्थानीय, रायो खुमल चौडापात, प्याज रेड क्रियोल, सलगम पर्पल टप, केराउ सिक्किम लोकल र आर्केल जातको मूल बिउ उत्पादन भएको हो ।

त्यस्तै घिउसिमी चौमासिक, सिमी त्रिशूली, साग स्विस चार्ड, धनियाँ स्थानीय र चम्सुर स्थानीय जातको उन्नत बिउ उत्पादन भएको तरकारी बिउ उत्पादन केन्द्र प्रमुख श्रेष्ठले बताए । जिल्लामा उत्पादन भएको बिउ जिल्लाबाहिर पनि निर्यात हुने गरेको छ ।

बढी बिउ जिल्लामै खपत हुने गरेको र जिल्लाबाहिर पनि बिउ निर्यात हुने गरेको केन्द्र प्रमुख श्रेष्ठको भनाइ छ ।

हावापानीलगायतका कारणले रुकुमको बिउ देशमै राम्रो बिउका रूपमा चिनिन्छ । जसकाले गर्दा जिल्लामा उत्पादित बिउको माग जिल्लाबाहिर राम्रो रहेको केन्द्रले जानकारी दियो । स्रोत ः नयाँपत्रिका

VIEWS: 663