बारीभरि बन्दा तर बजार बन्द !

Tuesday, August 18th, 2020 |

 

 

ताप्लेजुङ २ भदौ

फुङलिङ नगरपालिका–९ कुङकुलुङका किक्र्या शेर्पाको बारीमा फलेका बन्दा र सिमी बजारमा लैजाने समय भएको छ, तर कोरोना महामारीको कारण बजार बन्द भएकाले तरकारी टिप्न सकिएको छैन । विगतको जस्तो भए यतिबेला उनी बारीबाट धमाधम तरकारी टिप्दै गाडीमा लोड गरिरहेका हुन्थे। गत वर्ष १५ लाखको बन्दा र दुई लाखको सिमी बेचेका शेर्पालाई लहलह फलेको तरकारी बारीमा कुहिने डरले पिरोल्न थालेको छ।
उनका अनुसार पोहोर जस्तै सोचेर यसवर्ष अझै धेरै क्षेत्रफलमा बन्दा र सिमी लगाएको भएपनि यस वर्ष कोरोना महामारीको कारण तराईका धेरै बजार बन्द भएकाले तरकारी टिपेर बजार पठाउन सकिएको छैन । यस वर्ष कम्तीमा २० लाख आम्दानी गर्ने लक्ष्य अनुसार मल, बीउ र स्याहारमा अहिलेस ५ लाखभन्दा बढी खर्च भइसकेको शेर्पा बताउँछन् । कोरोनाका कारण मानिसको चहलपहल ज्यादै न्यून रहेको र जिल्लाका होटल बन्द भएकाले तरकारी बिक्री हुने सम्भावना नरहेको उनको भनाइ छ।

ताप्लेजुङमा पाथीभरा, कञ्चनंघालगायत स्थान घुम्न आउने पर्यटकलाई लक्ष्य गरेर खोलिएका होटल बढी छन्। पर्यटन क्षेत्र ठप्प भएपछि होटलको कारोबार पनि बन्द छ। होटलमै भर परेर तरकारी उत्पादनमा लागेका कृषक कोरोना माहामारी फैलँदै जाँदा चिन्तित बनेका हुन्।
पाथीभरामा तीन लाख र हिमाली क्षेत्र घुम्ने दुई हजार पर्यटक वार्षिक रुपमा आउने गरेका थिए
बुङकुलुङकै अर्का कृषक पाशाङरिता शेर्पाका अनुसार बजारमा तरकारीको माग र मूल्य दुवै घटेको छ। गत वर्ष प्रतिकिलो ४० रुपैयाँ रहेको बन्दाको बजार मूल्य अहिले १५ रुपैयाँ रहेको उनको भनाइ छ । उनले पनि १५ रोपनी भन्दा धेरै क्षेत्रफलमा बन्दा, आलु, मुला र सिमी लगाएका छन्। आलु र सिमी बेच्ने बेला भएको र बन्दा , मुला हप्तादिनपछि तयार हुने उनले बताए ।

‘अहिलेकै मूल्यले पनि लागतसम्म त उठाउन सकिन्थ्यो तरपनि , ‘कहाँ लगेर बेच्नु ? ’ सदरमुकाम फुङलिङ बजारमा शनिबार र मंगलबार हाट लाग्छ। तर, त्यहाँ कत्ति पनि खपत नहुने कृषकको भनाइ छ। महिना दिनमा बिक्री गरिनसके तरकारी बोटमै कुहिने पाशाङरिताले बताए ।

बिक्री नभएपछि बैगुन, भिण्डी र घिरौंला बोटमै सुक्न थालेको फुङलिङकै कृषक गंगामाया गिरीले जानकारी दिइन् । ‘हप्तामा दुई क्विन्टलभन्दा बढी तरकारी निस्कन्छ’, तर , ‘बल्ल बल्ल डोकोमा बोकेर बजार पुर्‍याउँदा सय किलोसम्म बिक्री गरिरहेकी छु, त्यो पनि न्यून मूल्यमा।’ नबिकेको तरकारी गाईभैंसीलाई खोले बनाएर दिन थालेको गंगामायाले बताइन् ।
घर छेउमै तीनवटा भेनियर उद्योग खुलेको, तमोर नदीमा दुईवटा मोटरेबल पुल निर्माण भइरहेको र दोभान बजारमा व्यापारिक चहलपहल बढेको कारण उनले तरकारीमा लगानी बढाएकी थिइन्। लकडाउनपछि सबै योजना र उद्योग बन्द भएर त्यहाँ संलग्न मानिस घर गएका छन्।

कृषकका लागि पनि राहत प्याकेज ल्याउनुपर्ने कृषकको माग छ। ज्यालादारी मजदुरका लागि स्थानीय तहले दैनिक उपभोग्य वस्तु प्रदान गर्ने योजना ल्याएका छन्। ‘हामी ऋण खोजेरै भए पनि गाउँमा केही गर्नुपर्छ भनेर लागेका कृषक हौं’, मेरिङ्देन गाउँपालिकाकी कृष्णमाया लिम्बूले भनिन्, ‘बजार नपाउँदा तरकारी खेर जाने अवस्थामा पुगेको छ, हाम्रा लागि पनि केही सोचिदिनुपर्‍यो।’

जिल्लामा पछिल्लो समय पर्यटकीय गतिविधि बढ्दै थियो। होटल खुल्ने क्रम बढेका थिए। सडकको सुविधा पनि गाउँ–गाउँसम्म विस्तार भएको छ। सरकारले कृषिमा अनुदान, सहुलियत कर्जा, कृषि बिमा जस्ता योजना ल्याएको छ। यसले गर्दा व्यावसायिक रुपमै तरकारी फलाउने कृषक पनि बढिरहेका छन्।

घरेलु कार्यालय ताप्लेजुङको तथ्यांकअनुसार सय बढी कृषकले व्यवसायीक तरकारी उत्पादन गर्ने फर्म सञ्चालन गरिरहेका छन्। सबैलाई बजारकै समस्या छ। धेरै कृषक फुङलिङको माथिल्लो क्षेत्र बुङकुलुङ, चारपाटे, खोक्से, भोटेगाउँका छन्।

केही तल्लो क्षेत्र देउलिङ्गे, केनिम, तारिबुङका छन्। यहाँबाट बजार नजिकै भएको र सानातिना उद्योगसमेत खुल्न थालेकाले तरकारी खेतीमा स्थानीयको आकर्षण बढेको हो । स्रोत ः अन्नपूर्ण

VIEWS: 202

ताजा खबर