गत वर्षको तुलनामा ५१ हजार धेरै हेक्टरमा रोपाँई

Thursday, August 13th, 2020 |

 

काठमाडौँ २९ साउन

यसवर्ष समयमा नै मनसुन सक्रिय भएकाले साउन २८ सम्म मुलुकभर ९८ प्रतिशत क्षेत्रफलमा रोपाइँ भैसकेको छ  । यस वर्ष मुलुकभर १३ लाख ७१ हजार ७ सय ६ हेक्टरमा रोपाइँ हुने अनुमान कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक छ । ०७७ साउन २८ सम्म १३ लाख ४६ हजार ९ सय २० हेक्टरमा रोपाइँ भएको भैसकेको छ  । ०७६ को यहि समय सँग तुलना गर्दा ५१ हजार ६ सय ३८ हेक्टर क्षेत्रफल बढीमा रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।
‘०७६ भदौ १ सम्म ९४.४३ प्रतिशत रोपाइँ भएको थियो, ०७७ साउन २८ सम्म ९८.१९ प्रतिशत रोपाइँ भएको छ । मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले भने । केही क्षेत्रमा एकरदुई हेक्टर रोपाइँ हुन बाँकी रहे पनि त्यसले खासै असर नगर्ने उनले बताए । समयमै रोपाइँ हुनुको कारण मुख्यतः मनुसन नै हो ।

मन्त्रालयका अनुसार मुख्य धान रोपाइँ हुने क्षेत्रमा धेरै ठूलो बाढीपहिरो पनि आएन । कोभिड–१९ का कारण सर्वसाधारण गाउँघर पुगे । धानको बीउ पनि पर्याप्त भएकाले समयमै रोपाइँ भएको प्रवक्ता केसीको दाबी छ । उच्च पहाडी क्षेत्रमा ९८.८४ प्रतिशत रोपाइँ भएको छ । यो क्षेत्रमा ४८ हजार १ सय ९३ हेक्टरमा रोपाइँ हुन्छ । मध्य पहाडमा ९७।२७ प्रतिशत रोपाइँ भएको छ । यस क्षेत्रमा ३ लाख ४६ हजार ९९ हेक्टरमा धान रोपाइँ हुन्छ । धान उत्पादन हुने मुख्य क्षेत्र तराईमा ९८.५ प्रतिशतमा रोपाइँ भएको छ । यहाँ ९ लाख ७७ हजार ४ सय १४ हेक्टरमा रोपाइँ हुने उनले जानकारी दिए ।
पहाडमा भने केही मान्छेले खेती गर्न छाडेको उनले बताए । केही क्षेत्रमा टुक्रे जग्गा छ । जसले गर्दा पहाडमा हरेक वर्ष रोपाइँ हुन बाँकी रहँदै आएको उनको भनाइ छ । कोभिडका कारण सरकारले ‘जग्गा बाँझो नराखौं’ अभियान चलाएकाले पनि केही सुधार भएको मन्त्रालयको दाबी छ । ‘केही पालिकाले अनुदानको समेत व्यवस्था मिलाए । जसले गर्दा रोपाइँ राम्रो भएको देखिन्छ,’ केसीले भने ।

प्रदेशका हिसाबले सबैभन्दा सुदूरपश्चिम प्रदेशमा रोपाइँ भएको छ । यहाँ ९९।८६ प्रतिशत रोपाइँ भएको मन्त्रालयको तथ्यांक छ । गत वर्ष यस क्षेत्रमा शतप्रतिशत रोपाइँ भएको थियो । सुदूरमा १ लाख ६४ हजार ६ सय ३९ हेक्टरमा रोपाइँ हुन्छ । दोस्रोमा प्रदेश २ मा ९९।०२ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष यो क्षेत्रमा ९३।४९ प्रतिशत मात्रै रोपाइँ भएको थियो । प्रदेश २ मा ३ लाख ६५ हजार ६ सय १५ हेक्टरमा रोपाइँ हुन्छ । तेस्रोमा प्रदेश ५ छ । यहाँ ९८।६६ प्रतिशत रोपाइँ भएको छ ।

गत वर्ष ९४।३९ प्रतिशत मात्रै रोपाइँ भएको थियो । यस क्षेत्रमा ३ लाख ३ हजार ५ सय ९३ हेक्टरमा रोपाइँ हुन्छ । कर्णाली प्रदेशमा ९८।५३ प्रतिशत रोपाइँ भएको छ । यो क्षेत्रमा ३८ हजार ३ लाख ८५ हेक्टरमा रोपाइँ भयो । गण्डकी प्रदेशमा ९७।६८ प्रतिशत रोपाइँ भयो । यहाँ १ लाख ८ हजार २ सय ७८ हेक्टरमा रोपाइँ हुन्छ । यस्तै प्रदेश १ मा ९५।८८ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष यहाँ ९३।४९ प्रतिशत रोपाइँ भएको थियो ।

प्रदेश ३ मा ९७।८५ प्रतिशत रोपाइँ भएको मन्त्रालयको तथ्यांक छ । गत वर्ष यहाँ ९६।९५ प्रतिशत रोपाइँ भएको थियो । यस वर्ष जुम्लामा जेठ १५ देखि रोपाइँ सुरु भएको मन्त्रालयले जनाएको छ । मध्य पहाडमा जेठ अन्तिम साता र तराईमा असार लागेपछि रोपाइँ सुरु भएको थियो ।

खडेरी हुँदा केही क्षेत्रमा भदौ पहिलो सातासम्मै रोपाइँ हुन्छ । गत वर्ष पनि खडेरीकै कारण भदौ १० सम्म पनि रोपाइँ भएको मन्त्रालयले जनाएको छ । यस वर्ष रोपाइँ समयमै भए पनि मलकै समस्या देखिएको छ । रोपाइँकै समयमा मलको चरम अभाव देखिएको थियो । जसले गर्दा उत्पादनमा सामान्य असर गर्न सक्ने मन्त्रालयको दाबी छ । स्रोत ः इकान्तिपुर

VIEWS: 505