गैर कानुनी रुपमा नेपाल भित्रिएको माछा जफत गरी गाडियो

Tuesday, July 21st, 2020 |

 

सुनसरी ६ साउन

नेपालमा प्रतिबन्धित रहेको क्याट फिस विराटनगर भन्सार हुदै नेपाल प्रवेश गर्ने क्रममा प्रहरी जफत गरि खाल्डोमा गाडेको छ । गत शुक्रबार विराटनगर भन्सार हुँदै प्रतिबन्धित माछा नेपा भित्रिएको सूचना पाएर राजमार्ग पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले इनरुवा–४ बाट जिउँदो माछाले भरिएको भारतीय ट्रक नियन्त्रणमा लिएको हो ।

डब्लु बि २५ जे ६१४१ नम्बरको भारतीय ट्रकमा भेटिएको माछा जोख्दा ७५१० केजी पुग्यो। जबकी भन्सार काट्दा बिलमा ५८२० केजी मात्र उल्लेख छ। यस्तै बिलमै खाने माछा भनेर लेखिएको छ। ‘खाने माछा आइसको बाकसमा ल्याउनुपर्ने नियम छ,’ जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी कमल थापाले भने, ‘तर जिउँदो माछा नेपाल भित्रियो।’

कार्यालयका प्रमुख एसपी कमल थापाकाअनुसार यो माछा प्रतिबन्धित छ। मत्स्य विकास अधिकृतले नै उक्त माछालाई प्रतिबन्धित रहेको जनाएपछि पशु क्वारेन्टाइन चेक पोष्ट भन्टाबारी पठाइएकोमा क्वारेन्टाइनले माछा नष्ट गर्न भन्दै पठाइदिएको उनले बताए। ‘क्वारेन्टाइनले नष्ट गर्न भनेपछि हामीले खाल्डो खनेर गाडिदियौं,’ थापाले भने। उनले ट्रक र ट्रक चालक पश्चिम बंगालका मो। इमामुल गोल्दारलाई आवश्यक कारवाहीका लागि सेतुबन्धु भन्सार पठाइएको समेत जानकारी दिए।

माछा ल्याइएको ट्रक चालकले देखाएको बिलमा सोनाली एक्सपोट कोलकता भारत लेखिएको छ। ट्रकलाई लाहानसम्म लान लागिएको चालकले बताएका छन्।
माछा आयातका लागि सबै कागजी प्रक्रिया पूरा गरिएको छ। पशु क्वारेन्टाइन कार्यालय विराटनगरले माछा प्रमाणित गरी प्रमाणपत्रसमेत दिएको छ। विराटनगर महानगरपालिकाले सेवा शुल्क उठाएको छ। राजस्व अनुसन्धान विभागले १५ लाख ९५ हजार रुपैयाँको बिलसमेत काटेको छ भने भन्सारले १४ लाख ६३ हजार रुपैयाको प्रज्ञापनपत्रसमेत जारी गरेको छ।
कागजकै भरमा चेक जाँच नै नगरी भित्रन अनुमति दिइएको पाइएको देखिन्छ । यसबाट भन्सार कार्यालयमा भइरहेको गम्भीर लापरवाही प्रष्ट हुन्छ। चेक जाँच भएको भए पनि आर्थिक सेटिङमा नेपाल प्रवेश गराइएको अनुमान गर्न सकिन्छ।

क्याटफिस खान योग्य नभएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ सुनसरीका प्रमुख दीपेन्द्र पोख्रेलले जानकारी दिए। ‘छिटो बढ्ने, जे पनि खाने यो माछा खान स्वस्थकर हुँदैन,’ उनले भने, ‘यो माछाले अरु माछालाईसमेत बिगार्ने हुँदा यो माछालाई एक प्रकारले निषेध नै गरिएको छ।’
पक्राउ गरिएको ट्रक छाड्न प्रहरीलाई तीव्र दबाब आए पनि प्रमुख जिल्ला अधिकारी र सुनसरी प्रहरी प्रमुखको अडानपछि कानुनी कारवाही गरिएको बताइएको छ।

प्रतिबन्धित माछा नेपाल भित्रिएको बारेमा विराटनगर भन्सार कार्यालयले भने अनभिज्ञता प्रकट गरेको छ। कार्यालयकी सूचना अधिकारी सुनिता पौडेलले क्याटफिस भारतमा प्रतिबन्धित भएको भन्ने सुनेको तर नेपालमा कुनैपनि माछा प्रतिबन्धित भन्ने सर्कुलर नरहेको बताइन्।

उनले नाप जाँच गर्दा दुरुस्तै रहेको बताउँदै भनिन्, ‘दुई हजार किलो माछा बिचमा थपियो कि के भयो, हामीलाई थाहा छैन।’उनले माछा राजस्वको न्युन जोखिम हुने सामान रहेको र ग्रीन जोनमा राखिएकोले सामान्य तौल जाँचेर पठाउने गरेको उनले स्वीकार गरिन्। स्रोत ः अन्नपूर्ण पोष्ट

VIEWS: 371