खाना आधारभुत आवश्यकता अनि कृषि चाहि ?

Sunday, July 19th, 2020 |

विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि फैलिएपछि गत चैत्र ११ गते बाट मुलुभर लकडाउन (बन्दाबन्दी) को अवस्था छ । बन्दाबन्दी भएको १ महिना भन्दा धेरै भयो यो कहिले सम्म रहने हो अझ एकिन हुने अवस्था छैन, यो अवस्थाले काम गरीखाने सबैलाई समस्यामा पारेको छ । तर यो समस्यालाई समाधान गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने किसानको समस्या भने अरु समयमा जस्तै अहिले पनि ओझेलमा परेको छ । रोग या माहामारी जे फैलिएपनि मानिसको सबैभन्दा पहिलो आवश्यकता गाँस अर्थात खाना उत्पादन गर्ने किसानको समस्या प्रति समयमा सचेत भइएन भने हामि माहामारीले बाचेछौँ भने पनि भोकमरीले मर्न सक्ने अवस्था अवश्य आउँछ । दैनिक सञ्चार माध्यमहरुमा मुलुकभर किसानले उत्पादन गरेका कृषि समाग्रीहरूतरकारी, फलफूल तथा माछामासुजन्य उत्पादनहरुले बजार पाउन नसक्दा वा पठाउन नसक्दा फाल्नुपरेको,गाड्नुपरेको कुहिएको जस्ता विषयहरूआइरहेका छन् । यो अवस्थाको मुलजड सहि बजार संयोजन हुन नसक्नु नै हो यसले कृषि क्षेत्रमा किसानले गरेको अरबौ लगानी खेर गएको छ, भने उपभोक्ताले महँगो मुल्यमा कृषि सामाग्रीहरूकिन्न बाध्य हुनुपरेको छ । सबैलाई खुवाएर भोक मेटाउने किसान आज आफ्नो उत्पादन बिक्रि नहुँदा आफै भोकमरिमा बस्नुपर्ने अवस्था सिर्जना भएको छ । कृषिका सबै निकायहरुमा ठुला अक्षरमा लेखिएका छन् र सबै कृषिका विज्ञहरुले भन्नलाई भन्छन् कृषि मुलश्च जीवनम् (कृषि जीवनको मुल आधार हो ) तर खै त अहिलेको अवस्थामा त कृषि त नेपाल सरकारको आधारभुत आवश्यकता भित्र समेत परेन ? भाटभटेनी जस्ता सुपर मार्केटहरूदिनभर खोल्न अनुमती दिने गरकारले किसानले उत्पादन गरेको तरकारी,फलफूल, माछामासु र दुधजन्य समाग्रीको बजारीकरणलाई सहज बनाउन ठोस कदम चालेको छैन । कृषि उत्पादनका लागि नभइ नहुने मल,बिउ विषादी,उपकरण , दाना आदी समाग्री खरिद विक्रीलाई सहज बनाउन सकेको छैन, यि सबै समस्याहरूएकातिर छोडेर अहिलेको सरकार त कुर्सीको खिचातानिमा लागेको छ । के यो अवस्था देख्दा जो कोहि सच्चा नेपालीको मन र परिश्रम गरि खानेहरुको मन रुदैन ? हामिले चुनेर र जिताएर पठाएकाहरुको चरित्र कस्तो छ भन्ने अहिलेको अवस्थामा त झनै छर्लङ भएको छैन ? के अब पनि हामि किसान र कृषि क्षेत्रलाई यस्तै कम्जोर र निम्सरो क्षेत्रको रुपमा बुझ्ने यि दिमागमा काठ पसेकाहरुलाई भोट हालि पठाउँछौँ भने हामि भन्दा मुर्ख अरु को हुन सक्छ ? । हरित क्रान्तिका पिताको नामले चिनिएका भारतका एम एस स्वामिनाथनले भनेका छन् कि “यदि कृषि क्षेत्रमा राम्रो भएन भने अन्य कुनै क्षेत्र राम्रो हुन सक्दैन ” के अहिलेको माहामारीमा यो भनाइको कहि कतै अर्थ समेत बुझेर काम भएको छ त ? किसान र कृषि क्षेत्रको व्यापक समस्याहरुलाई संबोधन नगर्ने हो भने केहि समयपछि हामिले के खान्छौ ? त्यो सोच्नुपदैन ? अहिले तराई क्षेत्रमा जसोतसो किसाने गहुँ त भित्राए तर पहाडी क्षेत्रमा अझ बाँकि नै छ, नेपालको मुख्य बाली धानको बिउ राख्ने समय आइसक्यो, किसानले सहज रुपमा बिउ कसरी पाउँछन् ? धानको बिउ मात्र होइन चैते धान र मकैबालीलाई अहिले मलको आवश्यकता धेरै छ सो को पूर्ति कसरी हुन्छ ? यस विषयमा कुनै पहल कदमी भएजस्तो देखिदैन ? के कृषि मन्त्रालय र यसका निकायहरुको काम किसानलाई राहतको आशा र अनुदान दिनका लागि फार्म संकलन गर्ने र बजेटको तह लगाउने मात्र हो ? यो समस्यामा गम्भिर भएर काम गरेको खै ?

राहत प्याकेज मात्र किसानको समस्या समाधानको विकल्प होइन यो माहामारीबाट क्षति पुगेका किसानलाई राहत प्याकेज ल्याएर काम गर्ने भन्दै मन्त्रालयबाट जानकारी आएको छ , के यो समस्या समाधान गर्न राहतको प्याकेज मात्र विकल्प हो ? यदि सो राहतमा लगानी गर्ने भनिएको रकमको आधा मात्र रकम किसानले उत्पादन गरेको कृषि उपजको बजार व्यवस्थापन गर्ने संयन्त्रमा खर्च गर्ने हो भने किसान घाटामा जादैनन् अनि उपभोक्ताले पनि सहि मुल्यमा कृषि उपज खरिद गर्ने अवसर पाउँछन् । देश पूरै संकटको अवस्थामा रहे पनि सहि नियम र योजना बनाइ काम गर्न कसैले रोकेको छैन । कृषि क्षेत्रमा बजारको संयन्त्रमा काम गर्ने किसान, व्यापारी र ढुवानीकर्ता सबैलाई माहामारीको जोखिम बाट बच्न चाहिने आवश्यक साधन (पि.पि.इ ) दिएर भएपनि यो जोखिमको अवस्थामा बजार वितरणको सहि चेन सरकारले बनाउनै पर्छ । नत्र आज कृषि क्षेत्रमा करोडौ या अरबौ जति रकमको राहत प्याकेज ल्याएपनि यो समस्या समाधान गर्न कठिन छ । रोग लागेपनि स्वच्छ खाना र फलफूल तरकारी नखाइ रोगबाट पार पाउन सकिदैन त्यसैले यो संकटको घडीमा किसानले उत्पादन गरेका कृषि समाग्रीहरुको सही बजार व्यवस्थापन चेन बनाइ छिटो भन्दा छिटो काम गर्नुपर्ने देखिन्छ ।

किसानको उत्पादन राहत प्याकेजमा समाबेश भएको खै ? सबैभन्दा महत्वपूर्ण विषय के सरकारले दिने भनिएको कोरोना महामारीमा दिइने दैनिक रासन राहत प्याकेजमा सबै स्थानिय निकायले किसानले उत्पादन गरेका कृषि समाग्रीहरुलाई नै राहत सामाग्रीको रुपमा वितरण गर्ने प्रणाली बनाउन सकिन्न र ? यसो गर्दा किसानको उत्पादन पनि खेर जादैन अनि उपभोक्ताले पनि स्वच्छ र ताजा उत्पादन खान पाउँछन् । राहत दिदाँ किसानले उत्पादन गरेका तरकारी, फलफूल, दुध र माछामासुलाई समेत समेट्न सकिए सहि अर्थमा राहतको प्याकेज साबित हुन्छ । जहाँ जुन स्थानिय निकायमा जस्तो प्रकारको कृषि उपजहरूउत्पादन भएका छन् ति उत्पादनहरुलाई राहत सामाग्रीको रुपमा छिटो भन्दा छिटो समेट्नेगरी काम गर्न अति आवश्यक छ । राहत प्याकेजमा चाउचाउ र बिस्कुट जस्ता सामाग्री भन्दा किसानले बजार पठाउन नसेकोको अण्डा, केरा, तरकारी, दुध वा दुधजन्य उत्पादनलाई समाबेश गर्दा राहत लिने कुनै पनि मानिस दुःखी हुन्छन् जस्तो त मलाई लाग्दैन ।

नेपाली उत्पादनमा मात्र कोरोनाको जोखिम कसरी हुन्छ ? विश्वभर महामारीको रुपमा फैलिएको कोरोना सक्रमणको कारण नेपाल सरकारले गत चैत्र ११ बाट लकडाउन(बन्दाबन्दी) को घोषणा गरी हालसम्म पनि अतिआवश्यक बाहेकका सबै सेवाहरूबन्दा भएको अवस्था छ । तर अति आवश्यक कै प्रमुख स्थानमा आउने किसानले उत्पादन गरेको तरकारी,फलफूल, दुध तथा दुग्धजन्य पदार्थ, माछामासु जस्ता समाग्री ढुवानीको उचित व्यवस्था नहुदा प्रत्येक दिन करोडौ मुल्य बराबरको कृषि उत्पादन फालिएको समाचार पनि सँगै आइरहेको छ । यसविच नेपालको सिमा नाकाहरुबाट भारतिय कृषि उपजहरू कोरोना जोखिमको व्यवास्था गरी नेपालमा भित्रिएको समाचार पनि सँगै आएकै छ , के नेपाली किसान जो विदेश भ्रमणमा गएका छैनन्, आफ्नै खेतबारीमा कृषि उत्पादनमा खटिदै आएको छन् ति किसानले उत्पादन गरेको समाग्री सुरक्षित रुपमा आफ्नै देशको बजारमा पु¥याउन जोखिम हुने अनि भारतिय कृषि उपज नेपाली बजारमा जाहातही पु¥याउन जोखिम नहुने ? यस्तो पनि कहि हुन्छ पछिल्लो तथ्यांक अनुसार बन्दाबन्दीको अवस्थामा मात्रै भारतबाट ७० करोड भन्दा धेरैको कृषि उपजहरू नेपालमा भित्रिएका छन् । ति कृषि उपजहरूढुवानी गर्ने साधान कस्ता थिए ? कति सुरक्षित थिए वा ति सवारी साधान चलाउने चालकहरुमा कोरोना सक्रमण थियो वा थिएन यो विषयमा कुनै निकायले चासो दिएको देखिदैन । खालि एकोहोरो रुपमा नेपाल भित्र उत्पादन भएका कृषि उपजहरुमा मात्र कोरोना जोखिमको बाहाना बनाएर ति उत्पादनहरू सड्न,गल्न र विग्रन छोड्नुपर्ने यो कस्तो अवस्था हो । अनि खाना (गाँस) आधारभुत आवश्यकता भएपछि यसको उत्पादन गर्ने कृषि क्षेत्रको मुल्य श्रृङखलाको पात्रहरु किसान, व्यापारी र उपभोक्ता सबैको चेन लाई यो बन्दाबन्दीको अवस्थामा सहज र सरल बनाउन किन सकिएन ? अनि बाँच्नको लागि गाँस पहिलो अवश्यकता भएपछि कृषि क्षेत्र र किसानको समस्या किन पहिलो प्राथमिता भएन ? यस विषयमा चौतफि बहसको आवश्यकता छ ।

कमला भट्टराई सम्पादक÷प्रकाशक कृषक खबर डट कम

VIEWS: 144

ताजा खबर