बैतडीको एउटै गाउँमा ३ हजार मेट्रिकटन आलु फल्यो

Sunday, June 28th, 2020 |

बैतडी १८ जेठ

बैतडीको पाटन नगरपालिका–८, खोड्पेका २९ घरपरिवार किसानको दुई सय रोपनीमा तीन हजार मेट्रिक टन आलु फलेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट अनुदान पाएपछि २९ घरपरिवार किसानले पूरै गाउँमा सामूहिक आलु खेती गरेका थिए । यो वर्ष हिमपात र पानी परेका कारण सोचेभन्दा बढी आलु फलेको सिद्धसिगास आलु पकेट विकास समितिका संयोजक नरबहादुर विष्टले बताउनुभयो ।

आलु फलाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट पाँच लाख रुपियाँ बराबरको बीउ, मल, प्रविधि र मिनिटिलर अनुदान पाएपछि पूरै गाउँमा व्यावसायिक आलु खेती गरिएको विष्टले बताउनुभयो । बन्दाबन्दीका बेला धेरै आलु फले पनि बिक्री गर्न बजार बन्द भएको र भण्डारण गर्न चिस्यान केन्द्र नहुँदा किसानलाई उल्टो समस्या भएको छ ।

आलु ढुवानी गरेर बजारीकरण गर्न पनि समस्या भएपछि किसानले कृषि ज्ञान केन्द्रसँग गुहार मागेका छन् । आलु फलाउन अनुदान दिएको कृषि ज्ञान केन्द्रले आलु ढुवानी गर्न गाडीको व्यवस्था गर्न लागेको कृषि ज्ञान केन्द्रका प्रमुख कर्णबहादुर चन्दले बताउनुभयो । सुदूरपश्चिममा पहाडी आलुमध्ये बैतडीको खोड्पेको आलु धेरैले रुचाउने गरेका छन् । खोड्पेको आलुको बजार मूल्य अहिले ६० रुपियाँ प्रतिकिलो बिक्री भइरहेको छ ।

किसानले फलाएको आलु जिल्लाभित्र र प्रदेश राजधानी धनगढीसम्म ढुवानी गर्न किसानलाई गाडीको व्यवस्था र अनुदानसमेत दिने तयारी भइरहेको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ । स्रात ः गोर्खापत्र दैनिक

VIEWS: 1601