तराईमा मात्र होइन पहाडमा पनि आइपुग्यो सलह,मन्त्रीस्तरीय बैठक बस्दै

Sunday, June 28th, 2020 |

 

 

काठमाडौँ १४ असार
१ महिना अघि नै भारत आइपुगेको बालीनाशक बिनाशकारी सलह कीरा शनिबार नेपालको तराई भागका भारतिय सिमा क्षेत्र प्रवेश गरेपछि यसको नियन्त्रण गर्ने सम्बन्धमा आज विज्ञहरुको बैठक बस्दैछ ।

एक महिना अघि सहल कीरा नेपाल प्रवेश गर्न सक्ने सम्बन्धमा भएको अनुसन्धानमा कृषि बिज्ञहरुको टोलीले सलह नेपाल प्रवेश गर्दैन भन्ने प्रतिवेदन दिएपछि ढुक्क भएर बसेको कृषि मन्त्रालय यस बेला अन्योलमा रहेको छ । कार्यदलले जे जस्तो जानकारी दिएको भएपनि हाल देखिएको सलह कीराको समस्या समाधान गर्नका लागि आज कृषिमन्त्री घनश्याम भुसालको अध्यक्षतामा विज्ञ सहितको टोलीको बैठक बसिरहेको बताइएको छ ।

पाकिस्तान हुँदै भारत प्रवेश गरेको सलहको ठूलो झुण्ड राजस्थानमा पुगेपछि तितरवितर भएको रिपोर्टमा भनिएको थियो
बथान छुटेको र नेपालमा मनसुनका कारण हावाको बेगमा आएको परिवर्तनले नेपालमा सलहको जोखिम अत्यन्त न्यून रहेको समितिको निष्कर्ष थियो ।तर, रिपोर्ट सार्वजनिक भएको २० दिनपछि नेपालमा सलह किरा भेटिएको हो

नेपालमा सर्बप्रथम शनिबार दिउँसो (हिजो) भारतको सीमावर्ती ३ जिल्लाहरु बारा, पर्सा र सर्लाहीमा प्रवेश गरेको हो । यसअघि भारतमा सलह कीरा ठूलो समुहमा भित्रिए पनि नेपालमा यसको प्रवेश तत्काललाइ टरेको बताइएको थियो । तर शनिबार भारतीय भूमि हुँदै उक्त कीरा बाराको डुमरवाना, पर्साको पर्सागढी र सर्लाहीको नलवपुर लगायतका क्षेत्रमा प्रवेश गरेको कृषि ज्ञान केन्द्रले जनाएको थियो ।

त्यस्तैगरी आज आइतबार बिहानसम्ममा पाल्पा, मकवानपुर, सिन्धुली लगायतका पहाडी जिल्लामा पनि सलह किरा देखिएको छ । पूर्वदेखि पश्चिम बहिरहेको हावा पछिल्लो केही दिनयता दक्षिण देखि उत्तरतर्फ बहेकाले भारतमा आएका सलहको झुण्ड तिरबिर भएर नेपाल प्रवेश गरेको विज्ञहरुको भनाइ छ । शनिबारबाट मात्रै नेपाल प्रवेश गरेको सलहले नेपालमा के कति क्षति पुर्यायो भन्नेबारेमा मन्त्रालयसँग कुनै तथ्याङ्क भने रहेको छैन् ।

६० वर्ष पहिला काठमाडौं उपत्यकामा सलह भेटिएको जानकारहरु बताउँछन् । तर त्यो समयमा पाइएका भन्दा अहिले भारतबाट प्रवेश गरेको सलह २० गुण ठूलो रहेको छ । फट्याङ्ग्रा प्रजातीमा पर्ने सलह एक बालीनाशक कीरा हो । सलह कीराले बिरुवाका पात, फल, बिरुवाको हाँगा खाएर बोट नै सखाप पार्ने गर्दछ ।

सलहको हुलले एक दिनमा १५० किलोमिटरको दूरी पार गर्ने क्षमता राख्ने विज्ञहरु बताउँछन् । यीनीहरु करोडौंको संख्यामा हुल बजनाएर जता हावा वहन्छ त्यतै उड्ने कीरा हुन् ।

भारत हुँदै बारा र सर्लाहीबाट नेपाल प्रवेश गरेको सलह किराको झुण्ड छरिएर मुलुकका विभिन्न स्थानमा पुगिसकेको अनुमान गरिएको छ । आइतबार बिहानसम्ममा पाल्पा, मकवानपुर, काभ्रे, ललितपूर, सिन्धुली लगायतका पहाडी जिल्लामा पनि सलह किरा देखिएको छ ।

यस किराले कति क्षति पुर्‍यायो भन्ने विवरण भने सार्वजनिक भइसकेको छैन । नेपालमा ६० वर्ष अघि सन् १९६० मा पनि काठमाडौं उपत्यकामा सलह किरा देखिएको थियो ।

VIEWS: 1060