अघोषित लोडसेडिङले दोलखाका उपभोक्ता आक्रोसित, सिंगटीमा आन्दोलन सुरु

Friday, August 25th, 2017 |

९ भाद्र । दोलखा । दोलखाको विद्युत आपुर्तिमा देखिएको समस्या समाधानमा जिम्मेवार निकाय उदासिन बनेपछि उपभोक्ताहरुले आन्दोलन सुरु गरेका छन् ।

जिल्लामा विद्युत आपुर्ति देखिएको समस्याका कारण दैनिक जनजिवन प्रभावित हुनुका साथै उद्योग, व्यापार व्यवसायमा समेत असर पर्न थालेपछि सर्वसाधरण उपभोक्ता आक्रोसित बनेका हुन् । विद्युत आपुर्तिमा देखिएको समस्याबाट आजित बनेका व्यवसायी र उपभोक्ताले शुक्रबार सिंगटी बजार बन्द गराउँदै विद्युत प्राधिकरण विरुद्ध आक्रोस व्यक्त गरेका हुन् । सदरमुकाम चरिकोट सहित जिल्लाको अधिकांस क्षेत्रमा केहि महिना यता विद्युत आपुर्तिमा समस्या देखिँदै आएको छ । पछिल्ला दिनहरुमा विद्युत आपुर्तिमा थप लापरवाही देखिएपछि उपभोक्ताहरुले बजारनै बन्द गराएका हुने ।

सिंगटी उद्योग वाणिज्य संघको अगुवाईमा सुरु भएको आन्दोलन विद्युत आपुर्ति नियमित नभएसम्म जारी रहने सिंगटीका व्यवसायी तथा उपभोक्ताहरुले बताएका छन् । लोडसेडिङ् मुक्त जिल्ला भनिएपनि विद्युतमा सवैभन्दा समस्याग्रस्त जिल्ला हुँदा उपभोक्ता चर्को मारमा परेको उनीहरुको गुनासो छ ।

दोलखाबाट हाल करिव आधा दर्जन जलविद्यूत आयोजनाहरुले विद्युत उत्पादन गर्दै आएपनि विगत केहि समय यता अघोषित रुपमा लोडसेडिङ् हुँदै आएको छ । ४ सय ५६ मेगावाको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी सहित अन्य आधा दर्जन जति आयोजनाहरु निर्माणाधिन छन् ।

नेपाल बिद्यूत प्राधिकरण दोलखा बितरण केन्द्रले भने वर्षायामको समयमा विभिन्न कारण विद्युत आपुर्तिमा समस्या हुन गरेको बताउँदै आएको छ । प्रधिकरणका अनुसार क्षमता भन्दा लामो प्रसारण लाईन, हावाहुरी र सडक निर्माणको क्रममा बिद्युतिय पोल तथा तारमा क्षेति पुग्ने गरेका कारण नियमित विद्युत आपुर्तिमा समस्या हुने गरेको छ ।

VIEWS: 432