१७ सय हेक्टरमा आलुखेती सँगै २ अर्बको फ्रेन्च फ्राइज उद्योग खोल्दै एक उद्योगी

Monday, March 13th, 2023 |

 

रुपन्देही २७ फाल्गुन

होटल–रेस्टुरेन्टमा आलुको परिकार मध्ये धेरै मनपराइने फ्रेन्च फ्राइज पक्कै पनि खानुभएको छ होला , तपाईंले खाएको फ्रेन्च फ्राइज सम्भवत प्राय सबै विदेशी हुन्।
बुटवलका उद्यमी कृष्णप्रसाद पौडेलका अनुसार गएको वर्ष पाँच हजार सात सय टन अर्थात् ५७ लाख केजी फ्रेन्च फ्राइज विदेशबाट आयात भएको थियो।

फ्रेन्च फाइज आयात गर्नु भनेको फ्राइ गर्न तयारी अवस्थाको चाना आलु विदेशबाट ल्याउनु हो। पौडेलका अनुसार नेपालमा हाल भारत, बेल्जियम र अन्य केही मुलुकबाट आलुको परिकार मात्रै वार्षिक कम्तीमा १५ अर्ब रूपैयाँको आयात हुन्छ।

पौडेल सात वर्षअघिसम्म भारतको अहमदावादबाट फ्रेन्च फ्राइज आयात गरेर नेपालका होटल तथा रेस्टुरेन्टहरूलाई बेच्थे। उनी नेपालका लागि अहमदावादको ‘हाइफन फुड’ को उत्पादन फ्रेन्च फ्राइजका आधिकारिक बिक्रेता थिए।

उनी मासिक कम्तीमा १५ टन फ्रेन्च फ्राइज नेपालका विभिन्न सहरका होटल र रेस्टुरेन्टहरूलाई आपूर्ति गर्थे।
उनले बजार विस्तार गर्दै जाँदा नेपालमा ठूला र स्तरीय होटलहरू खुल्ने क्रम बढ्दो थियो। फ्रेन्च फ्राइजको माग पनि बढ्दो क्रममा थियो। किसानसँग प्रतिकेजी २५–३० रूपैयाँमा किनेको आलुबाट बनेको फ्रेन्च फ्राइज बजारमा प्रतिकिलो चार सय रूपैयाँसम्ममा बिक्री हुन्थ्यो।

भारतीय कम्पनीको फ्रेन्च फ्राइज बेचेर नाफा कमाइरहँदा पनि पौडेललाई नेपाली बजार भारतीय उत्पादनले ओगट्दै गएकोमा चित्त बुझेको थिएन।
व्यवसायका क्रममा उनले फ्रेन्च फ्राइज व्यापारको व्यापकताबारे राम्ररी थाहा पाए।

उनले यति ठूलो बजार भएको फ्रेन्च फ्राइज अब नेपालमै उत्पादन किन नगर्ने भन्ने सोचे। सोचेर मात्रै हुने थिएन, निकै ठूलो लगानी आवश्यक पर्थ्यो।

उनले फ्रेन्च फ्राइज उत्पादन गर्न पाँच वर्षअघि, २०७४ सालमा, उद्योग सञ्चालनको योजना बनाए। योजनाको फाइल बोकेर साझेदार खेज्दै हिँडे। ऋणका लागि बैंकहरूसँग कुरा गरे। उद्योग दर्ताको प्रक्रिया अघि बढाए।

बैंक र उद्योगीहरू फ्रेन्च फ्राइज व्यवसायको सम्भावनाले उत्साहित त हुन्थे तर ठूलो लगानी गर्न हच्किन्थे। अन्ततः नेपाल बंगलादेश बैंक कुल लगानीको ७० प्रतिशत ऋण दिन सहमत भयो। कुल एक अर्ब ९० करोड रूपैयाँ लगानी तय भयो।

‘फस्ट च्वाइस फुड्स प्रालि’ उद्योग दर्ता भयो। निर्माणको काम सुरू भयो।
दुई वर्षदेखि रुपन्देहीको शुद्धोधन गाउँपालिका–४, मैनहियामा उद्योगको संरचना निर्माण हुँदै छ। उद्योगले भौतिक संरचना, मेसिन जडान र आलु उत्पादनमा लगानी गरेको छ।

उद्योग निर्माणको काम करिब अन्तिम चरणमा छ। पौडेलले केही वर्षअघि मैनहियामै चार बिघा जग्गा खरिद गरेका थिए।

उनका अनुसार मेसिनमा मात्र ४४ करोड रूपैयाँ लगानी भएको छ।

‘मेसिन भारत, जर्मनी र टर्कीबाट ल्याएका छौं। पार्टेसनको लागि पप प्यानल पनि बाहिर ९विदेश० बाटै ल्याएकाले संरचना निर्माणको लगात पनि धेरै छ,’ उनले भने।

करिब ५० करोड रूपैयाँ आलु उत्पादनतर्फ लगानी गरेको उनले बताए।

पौडेलका अनुसार उद्योगको मुख्य उत्पादन फ्रेन्च फ्राइज नै हुनेछ। यस अतिरिक्त टिक्की, बर्गर, नगेट्स, चिप्स, समोसा, पकौडा लगायत आलुकै करिब एक दर्जन परिकार उत्पादन हुनेछ।

२०८० सालको सुरूआतसँगै उत्पादन पनि सुरू गर्ने लक्ष्य छ। यो उद्योग आलुका परिकार उत्पादन हुने नेपालकै पहिलो ठूलो उद्योग हुने पनि उनको भनाइ छ।

उद्योगले प्रतिघण्टा दुई टन परिकार उत्पादन गर्नेछ। दैनिक १५ घण्टा उद्योग ३० टन परिकार उत्पादन गर्ने पौडेलको योजना छ।

फस्ट च्वाइस फुड्स प्रालिले उत्पादन सुरू गरेपछि अहिले भइरहेको आयात आधा घट्न पौडेलको विश्वास छ।

‘भन्सार विभागको तथ्यांकअनुसार २०७७र७८ मा फ्रेन्च फ्राइजमात्र पाँच हजार सात सय मेट्रिक टन आयात भएको रहेछ। आयात झन् बढेको छ,’ उनी भन्छन्, ‘आलुको अरू परिकार पनि आयात हुन्छ। हाम्रो उद्योगले अहिलेको आयात आधाभन्दा बढी घटाउँछ।’

उद्योग पूर्ण क्षमतामा सञ्चालन हुँदा कम्तीमा १५० जनाले प्रत्यक्ष रोजगारी पाउने छन्। आलु उत्पादनमा हजारौं किसान संलग्न हुनेछन्।

पौडेलका अनुसार फ्रेन्च फ्राइज माइनस २२ देखि २५ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्छ। यो फ्रेन्च फ्राइज १८ महिनासम्म उपभोग गर्न सकिन्छ।

उद्योगमा उक्त तापक्रम कायम गर्ने शीत भण्डार ९कोल्ड स्टोर० निर्माण हुँदैछ।

एकै पटकमा चार हजार पाँच सय टन सामान भण्डारण गर्ने क्षमताको शीत भण्डार बन्दै गरेको पौडेलले बताए। उनका अनुसार फ्रेन्च फ्राइजको माग नेपाली बजारमा उच्च रहेकाले उत्पादन खपतको समस्या हुने छैन।

उत्पादन सुरू नहुँदै भारतीय र कोरियाली कम्पनीहरूले फ्रेन्च फ्राइज माग गरेका छन्। नेपाली बजारबाट बढी नहुँदासम्म बाहिर निर्यात गर्ने योजना नहरेको पौडेलले बताए।
१७ सय हेक्टरमा आलु खेती

उद्योग दैनिक १० घन्टा सञ्चालन हुँदा वार्षिक ४० हजार टन आलु आवश्यक पर्ने पौडेलले बताए। यो आवश्यकता पूरा गर्न उद्योगले आलु उत्पादनमा पनि लगानी गरेको छ।

विज्ञ टोलीको निगरानीमा १७ सय हेक्टरमा आलुखेती

 

 

आलु उत्पादनतर्फ तीन जना आलुबाली विज्ञले काम गर्दै छन्। आलुबाली विकास, खुमलटारबाट सेवानिवृत्त आलुबालीविज्ञ श्यामप्रसाद ढकाल नेतृत्वको प्राविधिक टोलीले आलु किसानहरूलाई प्राविधिक सहयोग गरेको छ।

ढकालका अनुसार नेपालमा तराई, पहाड र उच्च पहाडी क्षेत्रमा तीन सिजनमा आलु उत्पादन गर्न सकिने भएकोले उद्योगलाई आलु अभाव नहुने विश्वास छ।

फ्रेन्च फ्राइजको लागि विशेष प्रकारको आलु आवश्यक पर्ने भएकाले कम्पनीले नेदरल्यान्डबाट बिउ ल्याएर परीक्षण उत्पादन सुरू गरेको छ।

गत वर्ष दुई सय टन बिउ ल्याएर चितवन, नवलपरासी, रूपन्देही, गुल्मी, कपिलवस्तु, अर्घाखाँची, रोल्पा, बर्दिया, कैलाली, दाङ, पाल्पामा परीक्षण खेती गरिएको थियो।

परीक्षण उत्पादन निकै राम्रो भएपछि यस वर्ष १४ सय टन बिउ लगाएको ढकालले बताए।

उनका अनुसार गत वर्ष लगाएको दुई सय टन बिउबाट किसानले उद्योगलाई छ सय टन आलु उपलब्ध गराए। उद्योगको पहलमा लुम्बिनी प्रदेशका सबैजसो जिल्लामा आलु खेती छ। यस वर्ष चितवन र मकवानपुरमा पनि पुगेको छ।

यस वर्ष कुल १७ सय हेक्टर जमिनमा करिब चार हजार पाँच सय किसान आबद्ध रहेको ढकालले बताए। उनका अनुसार उद्योगले किसानलाई आलुको बिउ निःशुल्क उपलब्ध गराउँछ। उत्पादन भएको आलु बजार मूल्यभन्दा प्रतिकिलो पाँच रुपैयाँसम्म बढी दिएर खरिद गर्छ।

यस वर्ष किसानहरूले ३० हजार टनभन्दा बढी आलु उद्योगलाई उपलब्ध गराउने र यसमध्ये १५ सय टन बढी बिउका राख्ने ढकालको भनाइ छ।

आलु लगाउने समयमा नेपालमा रासायनिक मल अभाव भएपछि भारतको मुरदावादका किसानहरूलाई १५ सय टन बिउ लगाउन दिएको पौडेलले बताए। आलुको राम्रो उत्पादन भएको र चार हजार पाँच सयभन्दा बढी किसानहरू आबद्ध उद्योग छिटो सञ्चालन गर्नुपर्ने दबाब रहेको पनि पौडेलको भनाइ छ।

पौडेलका अनुसार आगामी वर्ष कम्तीमा १० हजार बढी किसानलाई उद्योगकै लागि व्यावसायिक आलु खेतीमा लगाउने योजना छ।

उनी भन्छन्, ‘नेपालको हावापानी आलुको लागि उत्तम छ। पहाडी क्षेत्रमा बाँझिएको जग्गामा आलु खेती गर्न सके बाहिरबाट आलु ल्याउनुपर्ने बाध्यता हुँदैन। किसानहरूको जीवनस्तर पनि उकासिन्छ।’

उद्योगले बिउ, मल र प्राविधिक निःशुल्क दिन्छ। आलु तयार भएपछि किसानको पुगेर उद्योगले नै उठाउँछ। उद्योगमार्फत खाली जग्गा सदुपयोग हुने र मुलुकको बेरोजगारी समस्या केही कम हुने पनि पौडेलको विश्वास छ।

भन्छन्, ‘यहाँको युवा जनशक्ति सबै विदेश पलायन भइरहेको छ। युवाहरूलाई यहीँ व्यावसायिक खेतीमा लगाउने उद्देश्य छ। लगानी गरेपछि नाफा कमाउनेसँगै कृषिको विकासमा मद्दत गर्न खोजेका छौं।’

पौडेल २०५८ सालदेखि बुटवलमा क्वालिटी मिट प्रोसेसिङ इन्डस्ट्रिजमार्फत मासुको तयारी परिकार उत्पादन गरी निर्यात गर्ने व्यवयास चलाउँदै छन्। स्रोत ः सेतोपाटि

 

VIEWS: 187