दोलखामा हिमाल आरोहणका क्रममा स्पेनिस पर्यटकको मृत्यु, एक जनाको उद्धार
३ कात्तिक, दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका स्थित रोल्वालिङ हिम श्रृङखलाको चुकिमागो हिमाल आरोहणमा गएका एकजना विदेशी पर्यटकको मृत्यु भएको छ । अर्का एक जनाको उद्धार गरिएको छ ।
मृत्यु हुनेमा स्पेनिस नागरिक ४४ वर्षिय लुईस फिलेट भल्वर्डे गुजम्यान रहेका छन् । गौरीशंकर गाउँपालिका वडा नम्बर ९ स्थित उक्त हिमालमा माउण्टेनियरिङ स्नो एङकर गर्ने क्रममा लडेर उनको मृत्यु भएको हो । घट्ना शनिवार दिउँसोकै भएपनि ढिलोगरी जानकारी आएको आधार शिविरमा रहेका उनका सहयोगीले बताएका छन् ।
हिमाल आरोहणकै क्रममा बिचमा अडकेर अलपत्र परेका अर्का स्पेनिस पर्यटक डेविड सवेला फर्नान्डेजको उद्धार गरिएको दोलखाका प्रहरी निरीक्षक रेशम बोहराले जानकारी दिए । घाईते अवस्थामा रहेका उनलाई सिम्रिक एअरको हेलिकोप्टर मार्फत उद्धार गरी काठमाण्डौँ पठाईएको दोलखा प्रहरीले जनाएको छ ।
उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भैरहेको छ । आरोहणटोलीमा ४ जना रहेकोमा दुई जना भने गौरीशंकर गाउँपालिका ९ स्थित ना गाउँमै बसेका थिए ।