दैलेखमा हाईड्रापावरमा कार्यरत दोलखाली मजदुरको मृत्यु, परिवारले शव बुझेनन्
१२ माघ, दोलखा । दैलेखको एक हाईड्रोपावरमा कार्यरत दोलखाली मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिञ्चोक गाउँपालिका–६, लापिलाङका ३४ बर्षिय नीर कुमार थामी रहेका छन् । उनी दैलेखको नौमुले गाउँपालिका–४ र ५ नम्बर वडामा पर्ने ४ दशमलव ५ मेगावाटको पदमखोला जलविद्युत आयोजनामा कार्यरत थिए । आयोजनाको डन्डीफर्माको काम गर्ने क्रममा एक्कासि बिरामी परेका उनको उपचारको क्रममा शुक्रवार मृत्यु भएको हो ।
मृतकका आफन्त र परिवारजनका अनुसार कामको अत्याधिक चापका कारण उनी बिरामी परेका थिए । मृतकको शव हाल वुटवल स्थित लुम्बिनी अञ्चल अस्पतालमा राखिएको छ । मृतकका आफन्त र परिवारजनले कम्पनीको नियमानुसार क्षतिपुर्ति र बिमा बापतको रकम नपाएसम्म शव नबुझ्ने बताएका छन् । उनले काम गर्ने साईट निर्माणको जिम्मा देउराली सुपर कन्ट्रक्सन प्रालीले लिएको छ । उक्त कम्पनीको ठेकदार दोलखाका भागत श्रेष्ठ हुन् ।
माघ ७ गते विरामी परेका मृतक थामीलाई उपचारका लागि बिभिन्न अस्पताल भर्ना गरिएको थियो । मृतकका आफन्त बेद बहादुर थामीले अस्पतालमा चेकजाँचको क्रममा कुनै शारिरिक रोग नदेखिएको र कामकै लोडको कारण उनको मृत्यु भएको बताए । क्षतिपुर्ति, विमा र मजदुरले सुरक्षित रुपमा काम गर्ने बातावरण नबनेसम्म आयोजनाको काम बन्द गर्नुपर्छ, त्यसो नभए फेरीपनि यस्तो घट्ना दोहोरिन सक्छ, उनले भने ।
नौमुले स्थित ईलाका प्रहरी कार्यालले भने काम गर्दागर्दै एक्कासि पिसाव बन्द भएर बिरामी भएको रिर्पोट पठाएको बताईएको छ । पदमखोला जलविद्युत आयोजनामा करिव २ सय मजदुर कार्यरत रहेकोमा १० जना दोलखाली छन् ।