दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचन अन्तर्गत ४५ जिल्लामा मतदान सुरु

Thursday, December 7th, 2017 |

२१ मंसिर । काठमाण्डौँ । दोस्रो चरण अन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान सुरु भएको छ । बिहीबार ४५ जिल्लाका प्रतिनिधिसभाको १ सय २८ र प्रदेशसभाको २ सय ५६ सिटका लागि मतदान सुरु भएको हो । पहिलो चरण अन्तर्गत हिमाली तथा पहाडी ३२ जिल्लामा निर्वाचन सम्पन्न भैसकेको छ ।

प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको कुल १ सय ६५ सिट मध्ये ३७ र प्रदेशसभाको प्रत्यक्षतर्फको कुल ३ सय ३० सिटमध्ये ७४ सिटमा मंसिर १० गते पहिलो चरणमा निर्वाचन सम्पन्न भइसकेको छ । प्रमुख दलका अधिकांश शीर्ष नेताहरु दोस्रो चरणकै चुनावमा प्रतिस्पर्धी छन् ।

संविधानमा प्रतिनिधिसभाको कुल २ सय ७५ सदस्यमा १ सय ६५ जना पहिलो हुने निर्वाचित प्रणालीबाट र १ सय १० जना समानुपातिक निर्वाचन प्रणालीबाट चुनिने व्यवस्था छ । प्रदेशसभातर्फ सबै प्रदेशको गरी प्रत्यक्षबाट ३ सय ३० र समानुपातिकबाट २ सय २० जना सदस्य निर्वाचित हुनेछन् ।

संघीय संरचना अनुसार प्रतिनिधिसभा र प्रदेशसभाहरुको निर्वाचन मुलुकमा पहिलो पटक हुन लागेको हो । निर्वाचनपछि ७ वटा प्रदेशसमा प्रदेश सरकार समेत गठन हुनेछ ।

VIEWS: 205