थामी, जिरेल र सुरेल समुदायको आवास शहरी विकासले पुर्ननिर्माण गर्ने

Wednesday, December 6th, 2017 |

–साझावोली सम्वाददाता


२० मंसिर । दोलखा । दोलखाका थामी, जिरेल र सुरेल समुदायलाई सहरी विकास मन्त्रालयले आवास पुर्ननिर्माण गरिदिने भएको छ । सहरी विकास मन्त्रालयले जनता आवास कार्यक्रम मार्फत अतिसिमान्तकृत र लोपोन्मुख सुचीमा रहेका ती समुदायको आवास पुर्ननिर्माणका लागि अनुदान उपलव्ध गराउने भएको हो ।

जनता आवास कार्यक्रम, कार्यान्वयन ईकाई दोलखाले उक्त कार्यक्रममा सहभागिताका लागि आगामी पुष १५ गतेसम्म आवेदन दिईसक्न लाभग्राही समुदायलाई सुचित गरेको छ । भुकम्पप्रतिरोधी आवास पुर्ननिर्माणका लागि जनता आवास कार्यक्रमबाट ९० प्रतिशत अनुदान प्राप्त हुनेछ भने १० प्रतिशत अनुदानग्राहीले व्यहोर्नुपर्नेछ ।

अनुदानका लागि लाभग्राही समुदायले शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय दोलखा, सम्वन्धित नगरपालिका, गाउँपालिकाको कार्यालय वा जिल्ला समन्वय समितिको कार्यालयमा आवेदन पेश गर्न सक्नेछन् । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय दोलखाका डिभिजन प्रमुख एकराज अधिकारीका अनुसार आवेदकले हाल उपभोग गरिरहेको घरको भौतिक अवस्था खुलाउनुपर्नेछ । उनका अनुसार २०७२ सालको भूकम्पबाट पूर्ण रुपमा क्षती भएको भनी लाभग्राहीको सूचीमा नाम समावेश नभएको हुनुपर्नेछ ।

यस्तै आवास भवन निर्माण कार्यका लागि निर्माण समितिले उपलव्ध गराउने निर्माण सामग्री प्रयोग गरी तोकिएको डिजाईन र स्पिेसिफिकेसन अनुसार भुकम्पप्रतिरोधी घर निर्माण गर्नुपर्ने अधिकारीले बताए । अनुदान लिई निर्माण गरिएको घर पाँच वर्षसम्म विक्रि गर्न र भोगचलन हस्तान्तरण गर्न पाईने छैन ।

VIEWS: 1321