कालिञ्चोकमा अतिक्रमण रोकिएन, स्थानीय प्रशासनको ताकेता

Monday, September 2nd, 2019 |

१६ भदौ, दोलखा । दोलखाको पर्यटकिय क्षेत्र कालिञ्चोकमा सार्वजानिक जग्गा अतिक्रमण गर्ने क्रम रोकिएको छैन । जिल्ला प्रशासन कार्यालयले रोक लगाएपनि सार्वजानिक जग्गा अतिक्रमण गरी भौतिक संरचना बनाउने क्रम नरोकिएको हो ।

प्रशासनले २०७५ साल पुष महिनादेखि सार्वजानिक जग्गामा नयाँ संरचना बनाउन पुर्णतः रोक लगाएको थियो । यद्यपी त्यसपछि पनि कालिञ्चोक मन्दिर आसपास र सार्वजानिक जग्गा अतिक्रमण गरी प्लटिङ, नयाँ घरटहरा निर्माण कार्य जारी राखिएपछि स्थानीय प्रशासनले सम्बन्धित पक्षलाई पुन ताकेता गरेको छ ।

प्रशासनले कालिञ्चोक मन्दिर आसपास तथा कुरी बजार क्षेत्रमा अनधिकृत रुपमा सार्वजानिक जग्गा अतिक्रमण गरी घर टहर बनाई बस्ती विस्तार भैरहेको प्रति ध्यानाकर्षण भएको जनाउँदै उक्त कार्य तत्काल बन्द गर्न आग्रह गरेको हो । प्रशासनको रोहवरमा बसेको सरोकारवालाहरुको बेठकले बनिसकेका पुराना संरचनालाई निश्चित भुबहाल कर उठाएर नयाँ संरचना बनाउन नदिने निर्णय गरेको थियो ।

जारी सुचनामा सार्वजानिक जग्गा अतिक्रमण गरी बनाईएका थप घर टहरा तत्काल रोक्न र हटाउन भनिएको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले सूचनाको बेवास्ता गरी त्यस्तो अनधिकृत कार्य जारी राखिएमा कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाउने बताए ।

सदरमुकामबाट १७ किलोमिटरको दुरीमा रहेको कालिञ्चोक क्षेत्र पर्यटकहरुको आकर्षक गन्तव्य हो । घाँसे मैदान, डाँडाकाडाहरु अतिक्रमण गर्दै अनियन्त्रित घरटहरा बनाउने क्रम तिव्र भएपछि त्यस क्षेत्रको सुन्दरता मासिदै गएको छ ।

VIEWS: 629