कृष्टिना थामी राष्ट्रिय नृत्य प्रतियोगिताको फाईनल भिड्दै, भोटिंग प्रक्रिया जारी

Saturday, December 1st, 2018 |

प्रकाश थामी


१५ मंसिर, दोलखा । अतिसिमान्तकृत थामी समुदायकी एक जना किशोरी संघिय राजधानी काठमाण्डौँमा जारी जिडिएस नृत्य प्रतियोगिताको फाईनल चरणमा प्रवेश गरेकी छन् । दोलखा कालिञ्चोक गाउँपालिका ५ स्थायी घर भई हाल काठमाण्डौँमा अध्ययनरत १२ बर्षिया क्रिष्टिना थामी प्रतियोगिताको फाईनल चरणमा पुग्न सफल भएकी हुन् ।

उक्त प्रतियोगितामा बिभिन्न स्थानका २ सय ५० विद्यालयका प्रतिस्पर्धीहरुले सहभागिता जनाएकोमा क्रिष्टिना फाईनल चरणको उत्कृष्ट ३० परिन् । बुढानिलकण्ठ नगरपालिकाको धुम्बाराहीमा भाडामा बस्दै आएकी उनी नेश्नल आईडियल बोर्डिङ स्कुलमा अध्ययनरत छिन् । सोही विद्यालयबाट प्रतिनिधित्व गर्दै उनी प्रतियोगितामा सहभागि भएकी हुन् । ग्योक्सी डान्स एण्ड एक्टिङ स्कुलले प्रतियोगिताको आयोजना गरेको हो ।
यसअघि जर्जहरुबाट मुल्यांकन हुँदै आएकोमा फाईनल चरणमा भोटिङलाई मुख्य आधार मानिने आयोजकले जनाएको छ । सामान्य परिवारमा जन्मिएकी क्रिष्टिनाले भोट गरेर आफुलाई विजय गराउन सबैसँग अपिल गरेकी छन् । “नृत्यमा सानै देखिको रुची हो, उनले भनिन्, यो प्रतियोगितामा धेरै भन्दा धेरै भोट गरेर जिताउनु भयो भने नृत्यंगाना बन्ने मेरो सपना पुरा गर्न ठुलो प्रेरणा मिल्नेछ ।

” उनी आमाले पनि छोरीलाई भोट गरेर प्रतियोगितामा विजयी गराउन सबैसँग आग्रह गरिन् । वुबा भने भारतमा मजदुरी काम गर्ने गर्दछन् । पढाई राम्रो भएकाले मजदुरी काम गरेर भएपनि छोरीलाई दुखले पढाएका छौँ, छोरीले प्रतियोगिता जितेको भए केही राहात मिल्थ्यो, आमाले भनिन् ।

प्रतियोगिताको प्रथम हुने बिजेताले एक लाख नगद सहित २ वर्षको पुर्ण छात्रबृत्तिमा अध्ययनको अवसर पाउने छन् भने आजिवन निशुल्क नृत्य गर्न पाउनेछ । यस्तै दोस्रो स्थान हाँसिल गर्नेले ५० हजार रुपैयाँ सहित दुई बर्षसम्म निशुल्क डान्स कक्षाको व्यवस्था गरिनेछ भने तेस्रो हुनेले ३० हजार नगद सहित २ वर्ष डान्स कक्षा सिक्ने अवसर प्राप्त गर्नेछन् ।

भोट गर्न डिटुडी स्पेस ११ स्पेस दिई कोड टाईप गरेर आफ्नो नाम लेखेर ३१००७ मा म्यासेज गर्नुपर्नेछ । एउटै सिमबाट एउटै कोड नम्वरबाट दोहोर्याएर भोट गर्न नमिल्ने भएकाले फरक कोड नम्वर प्रयोग गर्नुपर्नेछ ।
भोटिङ प्रक्रिया आगामी पुष ७ गतेसम्म जारी रहने बताईएको छ ।

VIEWS: 1298