प्लानिङ व्वाईजले उच्याल्यो ‘प्रथम प्रकाश स्मृति कप’ को उपाधी, दोलखा उपबिजेता

Friday, November 23rd, 2018 |

७ मंसिर, दोलखा । दोलखामा आयोजना गरिएको ‘प्रथम प्रकाश स्मृति कप’ राष्ट्रिय फुटबल प्रतियोगीताको उपाधी प्लानिङ व्वाईज युवा क्लव पेप्सीकोलाले हात पारेको छ ।
शुक्रबार सम्पन्न फाईनल खेलमा दोलखा जिल्ला फुटबल सँघलाई २–१ गोल अन्तरले पराजित गर्दै उसले उपाधी चुमेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा दोलखाले उपाधि जित्ने धेरै प्रयास गरेपनि सफल हुन सकेन । पराजयसँगै सह आयोजक समेत रहेको दोलखा जिल्ला फुटवल संघ उपविजेतामा रोकिनुपर्यो । विजेता पेप्सीकोलाले प्रतियोगिताको उपाधीसँगै नगद २ लाख ५० हजार सहित शिल्ड मेडल र प्रमाणपत्र आफ्नो पोल्टामा पारेको छ । यस्तै उपविजेता दोलखाले १ लाख २५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त वुझायो ।
तृतीय हुने दिपशिखा युवा क्लव नैकाप र सशस्त्र प्रहरी बल (एपिएफ) ले ३०–३० हजार नगद सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।
प्रतियोगिता दोलखा सदरमुकाम चरिकोट स्थित टुडिखेल मैदानमा सम्पन्न भएको हो ।

यसैबीच प्रतियोगितामा प्लानिङ ब्वाईजका विष्णु केसी उत्कृष्ट किपर, दोलखाका विवेक बुढाथोकी वेष्ट डिफेन्डर, हिमाल श्रेष्ठ वेष्ट स्ट्राइकर र सुजन श्रेष्ठ म्यान अफ दि टुर्नामेन्ट घोषित भए । दिपशिखा युवा क्लव नैकापका दावा शेर्पा हाई स्कोरर घोेषित भए । उनीहरुलाई जनही नगद १०÷१० हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ ।
बिजेता टिम र खेलाडीहरुलाई स्वर्गीय प्रकाशकी जिवनसंगिनी समेत रहेकी खानेपानी तथा सरसफाई मन्त्री विना मगरले पुरस्कार तथा प्रमाण पत्र वितरण गरिन् । प्रतियोगिताको समापन समारोहलाई सम्वोधन गर्दै उनले खेलकुद क्षेत्रको विकासका लागि आफ्नो तर्फबाट सक्दो सहयोग र पहल गर्ने प्रतिबद्धता जनाईन् । कार्यक्रममा जनप्रतिनिधि, विभिन्न राजनितिक दलका नेता, सरकारी तथा गैरसरकारी संघ संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवँ पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का एकमात्र छोरा स्वर्गिय साकार दाहाल प्रकाशको स्मृतिमा दोलखामा प्रतियोगिताको आयोजना गरिएको हो । पुर्नसँगठित नयाँ सामाजिक शैक्षिक अभियान (रिनेजम नेपाल) र दोलखा जिल्ला फुटबल सँघले दोलखकै सर्वाधिक राशिको ‘प्रथम प्रकाश स्मृति कप’ राष्ट्रिय फुटवल प्रतियोगिता आयोजना गरेका हुन् ।

VIEWS: 775