कालिञ्चोक केबुलकार दर्शनार्थीको लागि वरदान र विकासको आधार बन्नसक्छ,

Saturday, November 17th, 2018 |

दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकिय क्षेत्र कालिञ्चोकमा, कालिञ्चोक दर्शन लिमिटेडले केबुलकार सञ्चालन गर्दैछ । व्यवसायीक रुपमा सञ्चालनमा आउने अन्तिम तयारीमा रहेको केवुलकारबारे केही गम्भिर प्रश्नहरु उठाईएका छन् । वातावरणिय असर, सामाजिक विकास, स्थानीय समुदायले पाउने सेवा सुविधा देखि केबुलकारको वैद्यतामाथि नै प्रश्न उठिरहेको सन्दर्भमा प्रस्तुत छ, कालिञ्चोक दर्शन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीसँग साझावोलीले गरेको सम्वाद ः


–कालिञ्चोक केबुलकार व्यवसायीक रुपमा संचालनमा आईसकेको हो ?
केवलकारको प्रारम्भिक ईन्जिनियरिंग परीक्षण भएको हो । यो अहिले प्रोग्रामिंग पनि भैसक्यो, ईलेक्टिकल समस्यामा पनि हल भैसकेको छ । यो संचालनको अन्तिम तयारीमा छ । यसले पुर्ण क्षमतामा नचलेसम्म पब्लिकलाई छोड्न मिल्दैन । मिडियामा प्रचारमा आएपछि कालिञ्चोक आउने पर्यटकहरुको घुईचो लागेका कारण हामीलाई धान्नपनि गाह्रो भैरहेको छ । पुर्ण र व्यवसायीक रुपमा चलाउन अझै १०÷१५ दिनको समय लाग्नसक्छ । सार्वजानिक रुपमा सूचना सहित आधिकारिक जानकारी भएपछि मात्रै आउनुहुन म सबैलाई आग्रह गर्न चाहन्छु । यो विचमा केबुलकार संचालनमा आईसकेको प्रचार भएका कारण आउने पर्यटक तथा दर्शनार्थीहरुलाई सेवा दिन नसकेको प्रति हामी क्षमाप्रार्थी छौँ ।

–तर यहाँहरु विशुद्ध नाफामा मात्रै केन्द्रित हुनुभयो नी होईन ?
सामान्यतया लगानी गरेपछि सामाजिक क्षेत्रमा भोलेन्टियर लगानी गर्ने जस्तो नन रिटनेवल सेक्टरमा लगानी गर्ने कुरा हुँदैन । यहाँ केहि प्राप्ती होस् भनेर व्यवसायिक उदेश्यले हामीले लगानी गरेको हो । यो नेपालकै उपयुक्त गन्तव्य भनेर नेपाल सरकारले पनि आईडेन्टीफाई गरेको क्षेत्र हो । दोस्रो कुरा आफुले गएर अध्ययन गर्दाखेरी असाध्यै प्राकृतिक मनमोहक ठाउँ छ । त्यो कारणले पनि हामी लगानी गर्न लालयित भएका हौँ । सँगसँगै हामी दोलखाको पर्यटन विकास, यसको सम्बद्र्धन, प्रबद्र्धन र यो जिल्लाको समृद्धिको लागि लाग्ने पनि भएको हुनाले दोलखाबासिकै नेतृत्वमा यो संचालनमा आएको छ । बाहिरका केही लगानीकर्तालाई उत्साहित बनाएर भित्र्याउने कामपनि गरेका हौँ ।
त्यसकारण समग्र दोलखाको विकासमा सहयोग पुगोस् र हाम्रो लगानीको रिटन पनि राम्रो होस्, यो दुबै कुरालाई मध्येनजर गरेर यसको परिकल्पना गरिएको हो ।

–त्यत्ति छोटो दुरीमा हिडेरै जानसक्ने अवस्था छ, केवुलकारको आवश्यकता थियो र ?
होईन, हामीले के पाएका छौँ भने समग्रमा दर्शन गर्न आउने दर्शनार्थीहरुमा २० देखि ३० प्रतिशत चाँही तल कुरी बजारसम्म आएर तलैबाट फर्किनुहुन्छ । आस्था राखेर दर्शनका लागि टाढाटाढाबाट आएका दर्शनार्थीहरु मन्दिर पुग्न नसकी तलैबाट पिडा लिएर फर्किनुपर्ने अबस्था छ । वृद्धवृद्धा लगाएत माथि जान नसक्नेहरुका लागि त यो बरदान नै सावित हुन्छ ।

–तर दोलखा जिल्ला र त्यहाँका स्थानीयको विकासमा केबुलकारले ठोस योगदान के दिन सक्ला र ?
फाईदा निश्चित रुपमा हुन्छ, हाम्रो प्रचारकै कारण बाहिरबाट आउने पर्यटक बढ्छ । यसअघि दोलखा भित्रिले तुलनामा धेरै गुणा बढि पर्यटकहरु भित्रिएपछि जिल्लाको अन्य स्थानको पनि भ्रमण गर्छन् । बस्ने समय लम्व्याउन सक्छन् । त्यसबाट पर्यटनमा ठुलो टेवा पुग्नेनै भयो । रोजगारी सिर्जना हुने भयो, अहिले ४० देखि ५० जना जनशक्तिले रोजगारी पाएका छन् । त्यो रोजगारी अरु बढ्दै जान्छ । फुल बेच्ने लगाएत अरु व्यवसाय बढ्दै जान्छ ।
होटल व्यवसाय फस्टाउने भयो । यसले व्यापार व्यवसाय देखि लिएर समग्र क्षेत्रमा सकारात्मक सहयोग गर्छ । सँगै स्थानीय दोलखालीलाई सहुलियतमा केवलकार चढाउने विषयमा पनि सरकारी निकायसँग छलफल भैरहेको छ ।

–त्यहाँको सामाजिक विकास र स्थानीय जनसरोकारका विषयलाई त केवलकारले अलिकति पनि सम्बोधन गरेन नी ?
त्यो चाँही गलत हो । अहिले चरिकोटबाट कुरी बजारसम्म जाने बाटो असाध्यै खराव थियो । अहिले नियमित रुपमा केबलकारले आफै मर्मत गरिरहेको छ । लाखाँैलाख खर्च गरेर अहिले सामान्य मोटरसाईकल, स्कुटर, कार, ट्याक्सि पनि जाने बनाईएको छ ।

–त्यो सबै कालिञ्चोक दर्शन लिमिटेडले गरेको हो र ?
केही केही ठेकदारले पनि गरेका छन् । तर मुख्य मुख्य विग्रेका स्थानहरुमा कालिञ्चोक दर्शन लिमिटेडले नै स्तरोन्नती गरिरहेको छ । अहिलेपनि दुई वटा टिपर र एउटा डोजर नियमित रुपमा लगाएर बाटो बनाउने काम भैरहेकै छन् ।
अर्को कुरा त्यहाँ पानीको सबैभन्दा ठुलो समस्या छ, ठुलो लगानीमा हामीले त्यहाँ पानी ल्याएका छौँ । कुरी बजारका बासिन्दालाई पानीको सुविधा पनि दिदैछाँै । अरु सरसफाई, स्वास्थ्य, सुरक्षा र विकासका कामहरुमा पनि सहयोग पनि गरिरहेका छाँै । अब हामी मन्दिरलाई अलि व्यवस्थित गर्ने र अरु विकासका कार्यहरु गर्ने हाम्रा योजनाहरु छन्, त्यो काम केबलकार पुर्ण रुपमा संचालनमा आईसकेपछि विस्तारै गर्दै जानेछौँ । नाफाको ५ प्रतिशत त्यहाँको विकासका लागि खर्च गर्ने कम्पनीको साँेच छ ।
कालिञ्चोक क्षेत्रलाई महत्वपुर्ण पर्यटकिय तथा धार्मिक गन्तव्य बनाउने योजनामा हामी लाग्छौँ ।

–स्थानीयलाई सेयर हाल्ने ब्यवस्था नगरिएको, केवुलकारमा हिस्सेदार नबनाईएको, समन्वय नगरिएको जस्ता गम्भिर कुरा पनि उठिरहेका छन्, स्थानीयको माग पुर्ण रुपमा बेवास्ता गरिएको हो ?
त्यस्तो होईन, सोचाई कस्तो भयो भने यो केवलकार चाँही अपर तामाकोसि जस्तै हो की भन्ने मान्छेलाई भान परेको छ । यो केवलकार सानासाना व्यवसायीहरु मिलेर थोरै थोरै पैसा जम्मा गरेर लिमिटेड कम्पनीको रुपमा कानुनी हैसियत प्राप्त गरेर संचालन गरिएको कम्पनी हो । यो कम्पनीले त्यहाँका सवै आवश्यकताहरु पुरा गर्न सक्दैन । अपर तामाकोसि जस्तो प्रोजेक्टले त सक्दैन भने यो ४०÷५० करोडको प्रोजेक्टले कसरी सक्नु ।

जहाँसम्म सेयरको कुरा छ, त्यसमा अत्याधिक रुपमा दोलखा वा कालिञ्चोक गाउँपालिकाबासिलाई पटक पटक रेडियो, पत्रपत्रिका लगाएतका माध्यमहरुबाट र सार्वजानिक स्थानहरु सूचना टाँसेर पनि जानकारी गराईएको हो । तर २०, ३० हजारको सेयर देउ भन्ने कुरा आउँछ । यो लिमिटेड कम्पनीमा प्रबन्धपत्र र विनियमावलीको प्रावधानका कारण हामीले न्युनतम ५ लाख भन्दा तलको सेयर लिने अबस्था रहेन । त्यो संस्थापक सेयरको हकमा हो । यो लिमिटेड कम्पनी भएको हुनाले भोली पब्लिक सेयर जारी भयो भने स्थानीयबासिलाई हामीले केही प्रतिशत दिन पनि सक्छाँै । चुक्ता पुँजीको १० प्रतिशत चाँही पब्लिक सेयरको सम्भावना अझै छ । त्यो ३ करोडको हाराहारी हुन आउँछ, पछि धितोपत्र बोर्डको स्वीकृती लिएर जारी गर्नुपर्ने हुन्छ । अहिल्यै यतिका दरले बितरण हुन्छ भनेर भन्न सकिने अवस्था छैन । त्यति हुँदा पनि समग्र लगानीको ६० प्रतिशत चाँही दोलखालीकै छ ।

चन्द्रागिरी र मनकामना प्राईभेट कम्पनीको रुपमा छन्, उनीहरुलाई बाहिर पब्लिकलाई सेयर जारी गर्दैनन् । तर हामीले नेपाल सरकार, वित्तिय नियम अनुसार समयमा पब्लिक सेयर निस्काशन गर्छौ । त्यो कालिञ्चोक गाउँपालिकाको केही वडाबासिले पाउन सक्छन् ।

–तँपाईहरुले निर्धारण गर्नुभएको सेवाशुल्क बारे पनि प्रश्न उठ्या छ, त्यत्ति छोटो दुरीमा पनि किन पाँच सय शुल्क तिर्नुपर्ने ?
यो जाहेजै कुरा हो । तर जुन ठाउँमा हामीले केवलकार चलाउँदैछाँै, यो चाँही लागत र रिटनको हिसावले हुन्छ । यसमा हाम्रो उच्च लागत छ । निर्माण गर्दा खेरी नै दुई बर्ष भन्दा बढि लाग्यो । निश्चित अवधिमा लगानी उठाउने र बैंक लोन तिर्ने भन्ने प्रोजेक्सन हुन्छ । त्यो हिसावले पाँच सय होईन पाँच सय २६ रुपैयाँ माथि हुन आउँछ । तर अहिले हामीले एभरेजमा पाँच सय गरेका छौँ । सरकारलाई तिर्नुपर्ने भ्याट लगाएत अन्य शुल्कहरु जोड्दा हामीले ४ सय रुपैयाँ पनि प्राप्त गर्दैनौँ ।

भौगोलिक कारण, लागत र हामीले अपनाउने सुरक्षित प्रविधिमा पर्न गएको बढि मुल्यका कारण त्यो रेट असाध्यै बैज्ञानिक हिसाबले निर्धारण गरिएको हो । त्यसमा स्थानीय र विद्यार्थीहरुका लागि केही छुट गर्न कुरा पनि चलिरहेको छ । अर्को कुरा चाँही अरु केवलकारको जस्तो वाटो नहुने केवलकार नै चढ्नुपर्ने वाध्यता छैन । पैदल हिँडेर जानेहरुका लागि पनि हामीले बाटो पनि व्यबस्थित र फराकिलो बनाईदिन्छौँ । त्यो अप्सन पनि छँदैछ ।

–त्यसरी त केवुलकारलाई घाटा होला नी फेरी ?
त्यस्तो अहिले हामीले सोचेका छैनौँ । अहिलेसम्मको रेक्सपोन्स राम्रो पाएका छाँै । फेरी कम्पनीनै नचल्ने अवस्था आयो भने त फेरी पुर्नविचार गर्न सकिन्छ ।

–केवुलकारको भौतिक संरचनाले गर्दा त्यहाँ वातावरणीय असर र क्षेति भएको कुरा किन स्वीकार गर्नुहुन्न ?
त्यो चाँही जसले भन्नुहुन्छ, त्यसले स्थलगत निरीक्षण गरे भैगो नी । हाम्रो कारणले हामीले एउटा बोट विरुवा कही काटिएको भए दश वटा विरुवा रोप्न पनि तयार । असाध्यै सावधानीपुर्वक केवलकारको संरचना तयार गरिएको छ । एउटा पनि रुख काटनुपरेको छैन । ठुलो ध्वनी पनि नआउने भएपछि वन्यजस्तु र चराचुरुंगीलाई पनि असर गर्दैन । धेरै जियोलोजिष्ट, वातावरणविज्ञहरुलाई नै ल्याएर अध्ययन गरिएको हो । बरु संरक्षणमा चाँही मद्धत पुगेको छ । जसले कुरा उठाएको छ, त्यसको जष्टिफाई हुन्छ भने हामी करेक्सन गर्न तयार छौँ ।

–केवुलकार संचालनमा आउने भएपछि त्यहाँ झन अतिक्रमण, घरटहरा निर्माणले तिव्रता पाएको छ, त्यसमा तँपाईहरु जिम्मेवार हुनुहुन्न ? यो त चिन्ताको विषय हो नी ?
केवलकार संचालन हुने भएपछि स्वभाविक रुपमा होटल व्यवसाय बढेको केही हदसम्म सहिपनि हुनसक्ला । कुरी व्यवसायिक हवको रुपमा विकास हुनसक्छ । तर केवलकारले गरेको क्षतिको बारेमा पनि अझै अध्ययन होस्, सँगै त्यहाँ निर्माण भएका घरटहराहरुको बैद्यता के ? त्यहाँका मानिस कसरी बसिरहेका छन् ? त्यत्रो घर निर्माण भाछ, जंगल मासिदै छ, यहि हिसावले हुँदै जाने हो भने अवको केही वर्षमा एउटा बुटो पनि भेट्ने सम्भावना नहोला ।

–त्यही त, त्यसको कारक त केबुलकारपनि भयो नी, फेरी केबुलकारकै वैद्यतामाथि पनि प्रश्न छ ?
केबुलकार सञ्चालनमा आउने भएपछि त्यहाँ थप घरटहरा निर्माण भएको कुरा स्वीकार गर्न सकिएला । तर केबुलकारको वैद्यानिकतामाथि कुरा उठाउनु बेकारको कुरा हो । वैद्यानिक नभए यत्रो ठुलो लगानी गर्न सकिन्छ ? हचुवाको भरमा करोडौँ लगानी गर्न मान्छे तयार हुन्छ ?
तर अरु गैरकानुनी संरचना बनेको होला, यसलाई चाँही सरकारले बेलैमा ब्यवस्थापन गरेर अतिक्रमण हुन नदिने विषयमा स्थानीय सरकार, त्यहाँको जनप्रतिनिधि, सरोकारवालाहरुले कदम चाल्नुपर्छ । अबैध कार्य नियन्त्रण गरेर व्यवस्थित बसोवास व्यापारको रुपमा विकास गर्न सक्नुपर्छ । त्यो हाम्रो वसको कुरा होईन, सरकारी निकायले त्यो काम गर्नुपर्छ ।

बन्जीजम्पको लागि ठाउँको अध्ययन गर्दैछाँै, हिउँमा खेलिने स्किको व्यवस्थापन गरी अरु पर्यटन भित्र्याउने पहल गर्दैछौँ । त्यस्तो अपार सम्भावना छ । अतिक्रमण बढ्ने र कानुनी दायरामा ल्याएर व्यवस्थित नगर्ने हो भने दोलखाको ठुलो प्राकृतिक सम्पति र सम्भावना गुम्नसक्ने अबस्था आउन सक्छ ।

–सरकारी निकायमध्ये पनि कसले नियमन गर्ने भन्ने विषयमा बिवाद छ, केवलकार त गुठी मातहत पो संचालन भयो नी ? स्थानीय सरकारसँग समन्वय गर्नुपर्दैन ?
होईन, हामीलाई त केही छैन, अहिले गुठीसँग सम्झौता गरेका छौँ, भोली जुन निकायले व्यवस्थापनको जिम्मा लिन्छ, त्यही निकायसँग सहकार्य गरेर जान तयार छौँ । हाम्रो चाहना चाँही के हो भने त्यो कालिञ्चोक मन्दिरको जग्गा हो । त्यहाँ उठ्ने कर त्यहाँकै विकास र सौन्दर्यता बढाउन प्रयोग होस् । र कालिञ्चोक भगवतीको मन्दिर असाध्यै राम्रो तिर्थस्थलको रुपमा विकास गर्नका लागि मन्दिरकै नाममा नापी हुने र व्यवस्थापन भए चाँही राम्रो हुन्थ्यो भन्ने लाग्छ ।

तर केवुलकार संचालकहरुलाई चाँही यही निकायमा जाओस् भन्ने छैन । अब गुठिले जवाफ दिन सक्नुपर्छ । कि नापी गर्न सक्नुपर्यो कि निकास दिनुपर्यो ? जुन निकायले त्यसको जिम्मा लिन्छ, सरकारको नियमानुसार हामी त्यो निकायसँग सहकार्य गरेर त्यस क्षेत्रको संरक्षण र विकासका लागि प्रतिवद्ध छौँ ।

VIEWS: 2309