सोच्नु पर्छ कि पर्दैन ?

Tuesday, September 4th, 2018 |
  • वर्तमान सरकारले भदौ १ देखि लागू हुने गरि ल्याएको मूलुकी ऐन सङ्ग असन्तुष्ट हुँदै नेपाल चिकित्सक संघ लगायत अन्य चिकित्सकहरुले यो मुलुकी आचारसंहितालाई ‘बिरामीमारा कालो कानून’को संज्ञा दिदै यसलाइ फिर्ता गर्न अस्पताल ठप्प पार्दै आन्दोलनमा होमिएको र बिरामीहरु मृत्युको मुखमा छट्पटिनु पर्ने र आफन्त टुलुटुलु हेरेर बस्नु परेको खबरहरुले अस्पताल जस्तो संवेदनसील संस्था आज कुन प्रवृत्तिमा जाँदैछ भन्ने स्पष्ट हुन्छ।।अझै माग पूरा नभए अनिश्चितकालीन आन्दोलनको धम्कीले उपभोक्ता कति मारमा परिने हो अनुमान गर्न मुस्किल छैन।

वास्तवमा डाक्टरहरुले यो कानुनलाई “बिरामीमारा”कानुनको संज्ञा दिनु सहि यो अर्थमा होकी यो मुलुकी ऐन आचारसंहितामा नै डाक्टरको चरम लापरबाही, हेलचेक्र्याई गरेर बिरामीको ज्यान गएमा वा अङ्गभङ्ग भएमा फौजदारी कानून लाग्ने कुरा उल्लेख गरिएको छ। कानुन अनुसार यस्ता डाक्टर ५ बर्ष कैद र रु.५० हजार जरिवानाको व्यावस्था छ।वास्तवमा यो सही ऐन बनेको छ। सबै डाक्टरलाई यो कानुन बनेको होइन जसले दिनरात नभनी बिरामीको सेवा गरेर भगवानको संज्ञा पाउनुहुन्छ। यी डाक्टर हाम्रो लागि सधैं आदर सम्मान,सद्भाव छ। तर केही डाक्टरको गलत लापरबाहीले यस्ता घटना घटेको छैन भनेर तर्क गर्न सक्नुहुन्छ ?

डाक्टरको लापरबाहीले बिगतमा देखाइसकेका केहि घटनाहरु तल दिइएको छ। केहि डाक्टरहरुले यस्तो गर्न पाउनु पर्छ ?
•डाक्टरले दायाँ हात काट्नुपर्नेमा देब्रे गोडा काट्न पाउनुपर्छ ?
•डाक्टरले सुत्केरीको पाठेघरमा पन्जा र कैँची छाड्न पाउनुपर्छ ?
•डाक्टरले पेटको क्यान्सर बिरामीको टाउकोमा अपरेसन गर्न पाउनुपर्छ ?
•डाक्टरले पाठेघरको बिरामीको मृगौला निकाल्नु पाउनुपर्छ ?
•डाक्टरले अस्पताललाई आन्दोलनको केन्द्र बनाएर सेवासुबिधा अवरुद्ध गरेर बिरामी पार्न पाउनुपर्छ ?

तपाईंहरुको आन्दोलनको खास माग यहि हो ? नत्र ओलि सरकारले डाक्टरको लापरबाहीले बिरामी मर्नुपरेको वा क्षती पर्न गएको मुद्दाको सवालमा डाक्टरलाइ कार्बाही हो। डाक्टरले माथि उल्लेखित जस्ता लापरबाही, हेलचेक्र्याई गरेर बिरामीको ज्यान गएमा वा अङ्गभङ्ग भएमा फौजदारी कानून लाग्ने कुरा उल्लेख गरिएको छ।

यो सही ऐन बनेको छ। तर चांहदाचाँहदै बचाउन नसकिएको उपचाररत बिरामी मरेकोमा डाक्टरलाई कार्बाही/चिकित्सकलाई ज्यानमारासरह व्यवहार गर्ने कानुन बनेको होइन। डाक्टर जस्ता उच्च शिक्षा पाएका ब्यक्तिहरुले सधै बिरामीको मात्रै सेवा होइन कहिलेकाही यसो ‘ रे रे’ को भरमा जुलुसमा हामफाल्नु अघि मोटो लेन्सको चश्मा भिरेर आफ्नो मुलुकको कानुनको धारा,उपधाराहरुलाई नियाल्नुहोस् । त्यहाँ स्पष्ट लेखिएका कुराहरु जसले तपाईंलाई अझै आफ्नो इमानदारीता देखाउन मद्दत गर्नेछ।तपाईं सधै सहि हुनुहोस् । आफ्नो कर्मलाई लापरबाही नगर्नु होस् । यति गर्नु भो भने चोरको खुट्टा काट भन्दा खुट्टा खुम्च्याउनु पर्दैन। यो कानुन तपाईं विरुद्ध बनेको होइन। बरु चरम लापरबाही,कर्मप्रती ध्यान नदिने र चिकित्सा क्षेत्रको दुर्गन्धित भाइरसहरुलाई मात्रै तह लगाउने कानुन हो ।यस्ताहरुलाई उन्मुलन गर्दा तपाईंको पेशागत मर्यादा र प्रतिष्ठालाइ उच्च सम्मान मिल्छ। तपाईं ढुक्क भएर काम गर्नुस् डाक्टर साहेब। प्रतिगामी भ्रमप्रसादहरुको कान फुकाइले आन्दोलनमा नहोमिनुहोस् ।

VIEWS: 872