लाखे नाचमा दोलखा सँधै अब्बल

Sunday, September 23rd, 2018 |

७ असोज, दोलखा । लाखे नाचमा दोलखाले आफ्नो छुट्टै पहिचान कायम गर्न थालेको छ । ऐतिहाँसिक शहर दोलखाको लाखे नाच विगतदेखिनै अब्वल हुँदै आएकोमा यो बर्षपनि राष्टिय स्तरको प्रतियोगितामा उत्कृष्ट हुन सफल भएको छ ।

चितवनको नारायणगढमा आयोजना गरिएको छैठौँ राष्ट्रिय लाखे नाच प्रतियोगितामा दोलखाको लाखे नाच पहिलो भएको हो । देशभरका ४७ समूह (प्रतियोगि) लाई पछि पार्दै दोलखाको नाटेश्वर भजन मण्डलले प्रस्तुत गरेको लाखे नाच सबैभन्दा उत्कृष्ट भएको हो । पहिलो हुने दोलखाको लाखे नाचले नगद ७५ हजार रुपैयाँ पुरस्कार समेत जितेको छ ।

उक्त प्रतियोगितामा नुवाकोटको नुवाकोट दरवार लाखे नाच संरक्षण समिति दोस्रो, संखुवासभाको नेवा देः दवु ले तेस्रो स्थान हासिल गरे । दोस्रो र तेस्रो हुने समुहले पनि क्रमशः ५० हजार रुपैयाँ २५ हजार रुपैयाँ नगद पुरस्कार पाएका छन् । यस्तै जाजरकोटको नेवा देः दवु, काठमाडौँको भोजपुर लाखे, खोटाङको नेवा खल दोबेला र काभ्रेको श्रीकृष्ण गुठी दाप्चा सान्त्वना भए । उनीहरुले १० हजारका दरले पुरस्कार प्राप्त गरे ।

बिशेष गरि हिले जात्रामा देखाईने लाखे नाच नेवारी संस्कृतिको धरोहर मानिन्छ । लाखे नाच संरक्षण गर्ने उद्देश्यले लोक संस्कृति संरक्षण तथा राष्ट्रिय लाखे नाच प्रतिष्ठान नेपालले हरेक २ वर्षमा राष्ट्रिय लाखे नाच प्रतियोगिता गर्दै आएको छ ।

लोक संस्कृति संरक्षण तथा राष्ट्रिय लाखे नाच प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष राजेन्द्रकुमार पियाले आगामी दिन मौलिक संस्कृति लाखे नाच प्रवद्र्धनका लागि थप कार्यक्रमको पहल गर्ने बताए ।

VIEWS: 1689