दोलखाका युवा जनप्रतिनीधिहरु तलबभत्ताको रकम धमाधम सामाजिक कार्यमा खर्च गर्दै

Sunday, September 23rd, 2018 |

७ असोज, दोलखा । दोलखाका युवा जनप्रतिनीधिहरुले आफ्नो तलवभत्ता वापतको रकम धमाधम सामाजिक विकासमा खर्च गर्ने घोषणा गर्न थालेका छन् । एक महिनाको अबधिमा बैत्यश्वर गाउँपालिकाका दुई र तामाकोसि गाउँपालिकाका एक जना वडा अध्यक्षले त्यस्तो घोषणा गरिसकेका छन् ।

बैत्यश्वर गाउँपालिका वडा नम्वर–७ का अध्यक्ष रेशम राजस्वराज रिमाल, सोही गाउँपालिका वडा नम्वर ८ का रमेश अधिकारी र तामाकोसि गाउँपालिका १ का अध्यक्ष महेश काफ्लेले तलव भत्ताको रकम सामाजिक विकासमा खर्च गर्न थालेका हुन् ।

तीमध्ये वडा अध्यक्ष रिमालले तलवभत्ता बापतको सम्पुर्ण रकम वडाको शैक्षिक क्षेत्रमा लगानी गर्ने बताएका छन् । उनका अनुसार आफ्नो तलब भत्ताको रकमले गाउँपालिकाको शैक्षिक सुधारका लागि हाललाई प्रत्येक महिना एउटा विद्यालयमा नियमित र वडाका सबै विद्यालयलाई समेट्ने गरी दुई वटा केन्द्रिकृत कार्यक्रम हुनेछ ।

यसैगरी बैत्यश्वर गाउँपालिका–८, का अध्यक्ष अधिकारीले पनि हालै सरकारी कोषबाट आफुले प्राप्त गर्ने तलब भत्ता क्षेत्रावती माविका २० जना विद्यार्थीलाई छात्रवृत्ति स्वरुप प्रदान गर्ने घोषणा गरेका छन् । २० विद्यार्थीलाई जनही २ हजार ५ सयका दरले छात्रवृत्ति प्रदान गर्ने उनले बताए ।

यसअघि तामाकोसि गाउँपालिका–१ का अध्यक्ष महेश काफ्लेले पनि तलब भत्ता बापतको रकम जनहितमा लगानी गर्न सुरु गरिसकेका छन् । उनले माथिल्लो तामाकोसि जलविद्युत आयोजनामा वडाका १२ जना अतिविपन्न नागरिकको सेयर जनही ५ हजार रुपैयाँका दरले लगानी गरेर तलब भत्ताको रकम सामाजिक विकासमा खर्च गर्न सुरु गरेका हुन् । सेयरमा उनले १२ जना अतिविपन्नलाई जम्मा ६० हजार रुपैयाँ प्रदान गरेका छन् ।

जनप्रतिनीधिहरुको तलव सुबिधाका कारण राज्यलाई आर्थिक व्यायभार बढेका बेला युवा जनप्रतिनीधिहरुले तलबभत्ता त्याग्दै सामाजिक कार्यमा खर्च गर्न थालेका हुन् ।

VIEWS: 2913