रुसले यसरी गर्दैछ, शीतयुद्धपछिकै ठुलो सैन्य अभ्यास, चीनपनि सहभागि हुँदै

Wednesday, August 29th, 2018 |

एजेन्सी । रुसले शीतयुद्धपछिकै सबैभन्दा ठुलो सैन्य अभ्यास गर्ने भएको छ । सैन्य अभ्यास आगामी महिना गर्ने तयारी छ । शीतयुद्धको बेला सन् १९८१ मा गरेको सैन्य अभ्यासपछिकै सबैभन्दा ठूलो सैन्य अभ्यासमा ३ लाख सैनिक सहभागी हुनेछन् ।

क्रेम्लिनका प्रवक्ता दिमित्री पेस्कोभले आफ्नो राष्ट्रबिरुद्ध ‘आक्रामक र अमित्रवत’ व्यवहार बढेको कारण भोस्टोक–२०१८ सैन्य अभ्यास गर्नुपरेको बताए ।

रुसको मध्य र पूर्वी भागमा हुने यस सैन्य अभ्यासमा चीन र मङ्गोलियाका सेना पनि सहभागी हुनेछन् । नेटोसँग दुरी बढिरहेको बेला रुसले गर्न लागेको यस सैन्य अभ्यासलाई चाँसोसहित हेरिएको छ ।

रुसले क्रिमियामाथि कब्जा जमाएपछि नेटो र रुसबीचको सम्बन्ध चिसिएको छ । नेटोले यसको प्रतिक्रियास्वरुप ४ हजार सैनिक पूर्वी युरोपमा तैनाथ गरेको छ ।

रुसका पूर्व जासुस र उनकी छोरीमाथि बेलायतमा विष खुवाइएको घटनापछि सम्बन्ध झन् बिग्रिएको छ । त्यसपछि नेटोले रुसका कुटनीतिज्ञहरुलाई देश निकाला नै गरेको थियो ।

अमेरिका र बेलायतले यसमा रुसको हात रहेको आरोप लगाएका छन् । रुसी राष्ट्रपति पुटिनले पछिल्लो समय नेटोको खुलेर आलोचना गर्दै आएका छन् ।

के हुन्छ अभ्यासमा ?

११ देखि १५ सेप्टेम्बरमा आयोजना हुने भोस्तोक–२०१८ सैन्य प्रशिक्षणमा ३६ हजार ट्याङ्क, बख्तरबन्द गाडीदेखि १ हजार युद्धक विमान सहभागी हुनेछन् । भोस्तोकको अर्थ रुसमा पूर्व भन्ने बुझिन्छ ।

साइबेरियादेखि सुदुरपूर्वी रसियामा यस ड्रिलमा रुसको वायु सेनाका सबै युनिट तथा जल सेनाको दुई फ्लीट पनि सहभागी हुने रक्षामन्त्री सर्गेई सोइगुलाई उदृत गर्दै अन्तराष्टिय संचारमाध्यमहरुले जनाएका छन् ।

सोइगुले यो प्रशिक्षणलाई सन् १९८१ मा तत्कालिन सोभियत संघले गरेको प्रशिक्षणसँग तुलना गरे । त्यतिबेला नेटोबिरुद्ध आक्रमणको अभ्यास गरिएको थियो ।

‘यसमा जापाड–८१ को केही अंशहरु हुनेछन् तर यसको स्तर त्योभन्दा कयौँ गुणा ठूलो हुनेछ,’ उनले भने । यता, पेस्कोभले चिनियाँ सैनिकहरुको सहभागीताले रुस र बेइजिङले सबै क्षेत्रमा सहकार्य गरिरहेको सन्देश दिएको बताए । गत वर्ष रुस र बेलारुसबीच पश्चिमी क्षेत्रमा सानो आकारको सैन्य प्रशिक्षण गरिएको थियो ।

राष्ट्रपति भ्लादिमिर पुटिनले सैन्य आधुनिकिकरणलाई प्रमुख प्राथमिकतामा राखेका छन् जसमा नयाँ परमाणु क्षेप्यास्त्र पनि रहेको छ । रुससँग हाल १० लाख सैन्य शक्ति रहेको बताइन्छ ।

चीनको सहभागिता किन ?
चिनियाँ रक्षा मन्त्रालयले विभिन्न सुरक्षा चुनौतीहरुलाई संयुक्त रुपमा जवाफ दिन संयुक्त सैन्य अभ्यासको आवश्यकता औल्याए । दुई देशबीच सैन्य सहकार्य र क्षमता अभिबृद्धिका लागि पनि यो सैन्य अभ्यासमा सहभागी हुन लागेको उनले बताए ।

यो कुनै तेस्रो पक्षलाई लक्षित नभएको पनि चीनले स्पष्ट पारेको छ ।

मन्त्रालयले प्रशिक्षणमा ३२०० सैनिक, ९ सय सैन्य उपकरण र ३० युद्धक विमान र हेलिकप्टर सहभागी हुने जानकारी दिएको छ ।

VIEWS: 457